मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Monday, 14 July, 2025
केशव गौतम
२o७९ असार २३ बिहीबार o७:५६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मल अभाव र कृषिमा आत्मनिर्भरताको गफ

Read Time : > 2 मिनेट
केशव गौतम
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार o७:५६:oo

यो रोपाइँको महिना अथवा हरियाली सिजनका साथसाथै मानो रोपेर मुरी उब्जाउने वेला भएकाले असार किसानका लागि महत्वपूर्ण महिना हो । भर्खरै १५ असारमा दहीचिउरा खाँदै राष्ट्रिय धान दिवस मनाइयो । अन्य पेसा या व्यवसायमा लागेका मानिसले पनि यही दिन दहीचिउरा खाएर रमाइलो गर्ने चलन पनि छ । हाम्रो संस्कार र संस्कृतिमा दहीको महत्वपूर्ण स्थान छ । कुनै पनि शुभकार्यमा दहीमा मुछिएको अक्षता बनाई टीका लगाउने र घर छोडेर देश, विदेश जाँदा सगुनका रूपमा दही खाई निस्केमा शुभ हुने हाम्रो समाजको परम्परा वा जनविश्वास छ । आयुर्वेदमा ‘भोजनान्ते पिवेत् तक्रं वैद्यस्य किं प्रयोजनम् ।’ भनेर भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि–उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति बढाउँछ । पखाला लागेको वेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले, दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।

अधिकांश जनता सानो वा ठूलो जुनसुकै आकारमा भए पनि कृषिमा आबद्ध रहेकै हुन्छन् । असार महिना त झन् कृषकलाई भ्याई–नभ्याई हुन्छ । वर्षभरिका लागि आवश्यक पर्ने अन्न जोहो गर्ने वेला भएको हुँदा असारको छुट्टै महत्व छ । एउटा असारसम्बन्धी गीतमा ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ भनिएको छ । खेत रोप्दै हिलो छ्यापाछ्याप गर्दै दुःखसुखका कुराकानी लोकदोहोरी वा असारे भाकाका गीतमार्फत पोख्दै रमाइलो गर्ने अवसर पनि हो असार । असारमा एकपटक हिलोमा पस्नैपर्ने जनविश्वाससमेत छ । विश्वका अधिकांश (९० प्रतिशतभन्दा) बढी मानिस चामलमा निर्भर छन् । त्यसको अधिकांश उत्पादन एसियाली मुलुकबाटै हुने गरेको छ ।

असार १५ गतेका दिन विभिन्न मन्त्रालयका मन्त्री, विभिन्न क्षेत्रमा आबद्ध प्रतिष्ठित व्यक्ति, राजनीतिक दलका नेता, संघसंस्थालगायतले त्यहाँ उपस्थित भएर भाषण वा मन्तव्य राख्ने क्रममा कृषि प्रणालीमा आधुनिक युगको सुरुवात भएको डंका पिट्छन् । खेतको बीचमा बसेर फोटो खिचाउँछन् । तर, तिनै खेतमा काम गर्ने किसानले महिनौँसम्म धाउँदा पनि कृषिमल पाउन नसकेकोतर्फ भने उनीहरूको अलिकति पनि ध्यान जाँदैन । किसानलाई रासायनिक मलको चर्को लाममा उभ्याएर गलाभरि धानको बिउको माला लगाएर धान दिवसका नाममा दुई–चारवटा फोटा सामाजिक सञ्जालमा पोस्टिँदैमा देशमा कृषिक्रान्ति सम्भव होला र ? खेतको आलीमा उभिएर भाषण दिनेहरूको बाहिर आएपछि किसानलाई हेर्ने दृष्टिकोण उही पुरानै छ ।

किसानलाई रासायनिक मलको लाममा उभ्याएर गलाभरि धानको बिउको माला लगाई धान दिवसका नाममा दुई–चारवटा फोटा सामाजिक सञ्जालमा पोस्टिँदैमा देशमा कृषिक्रान्ति सम्भव होला र ?
 

भाषणमा हामीले आगामी दिनमा कृषिमा देश आत्मनिर्भर बनाई निर्यात बढाउनेछौँ भन्छन्, तर दुःखसाथ भन्नुपर्छ, पछिल्ला केही वर्षयताका तथ्यांक हेर्दा हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर होइन, परनिर्भर बन्दै गएको छ । कृषि उपजको निर्यात होइन, आयात बढिरहेको छ । यो देशको अर्थतन्त्रका लागि गम्भीर खतराको घन्टी हो । विश्वका अधिकांश देशले कृषिलाई आत्मसात् गरेर आफ्नो उत्पादन बढाएर निर्यात गरेका छन् । उदाहरणका लागि चीन, जापान, फिलिपिन्स, इटली, भारत आदि देशले कृषिमा आत्मनिर्भर भई प्रशस्त कृषि उपज निर्यात गरिरहेका छन् । बढ्दो खाद्यान्न आयातकै कारण नेपालको व्यापार घाटा चुलिँदै गएको छ । 

नेपालका अधिकांश रैथाने बिउबिजन लोप भइसकेका छन् । नेपालमा रहेका रैथाने धानको बिउबिजन चार प्रतिशतजति फिलिपिन्सलगायत मुलुकका जिन बैंकमा रहेको बताइन्छ । खेतीयोग्य जमिनको वैज्ञानिक व्यवस्थापन गर्न नसक्नु, कृषिमा रासायनिक मलको प्रयोग अत्यधिक बढ्नु र कृषियोग्य जमिनको घडेरीका नाममा बढ्दो खण्डीकरणका कारण हामी दिन–प्रतिदिन कृषिमा परनिर्भर बन्दै छौँ । किसानले खेती गर्ने समयमा मल नपाउनु, युवालाई कृषिमा आकर्षित गर्न नसक्नु, कृषिमा सम्भावना देखाउन नसक्नु, कृषिउपजलाई बजार अभाव हुनु, आयातित सस्ता सामग्रीसित यहाँका उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नुजस्ता कारण कृषिक्षेत्रप्रतिको आकर्षण घट्दै गएको छ । नेपाल कृषिमा आत्मनिर्भर हुनका लागि परम्परागत कृषि प्रणालीलाई थाती राख्दै नयाँ प्रविधिसहितको आधुनिकतामा आधारित कृषि प्रणालीको विकासमा जोड दिनुपर्छ । १५ असारमा धान दिवस मनाएर फोटो खिचेर रमाइलो गर्दैमा देशको कृषिक्षेत्रमा कुनै सुधार आउनेछैन ।