चितवनका ८३ वर्षीय पीताम्बर देवकोटाले निकै प्रयासपछि आज आठ केजी मल पाए। राज्यले यो उमेरमा दिएको सास्तीप्रतिको आक्रोश उनको अनुहारमा प्रस्ट देखिन्थ्यो। ‘समयमा मल पाइँदैन, न चाहिएजति पाइन्छ । बुढो मान्छे हातगोडा कमाउँदै कति लाइनमा बस्ने ? अब सहकारीमा पनि बस्दिनँ,’ उनी भन्दै थिए।
बिहान साढे पाँच बजेदेखि लाइनमा बसेकी सुस्मिता थापामगरले पनि ८ बजे मात्रै मल पाइन्। कम्तीमा २० केजी मल आवश्यक रहेको उनले आठ केजी मात्रै पाइन्। अरूको १५ कट्ठा जमिनमा खेती गर्दै आएको उनको परिवारको आम्दानीको मुख्य स्रोत खेतीपाती नै हो।
मलको सोही लाइनमा उभिएका थिए– पुष्पराज भट्ट । अहिले देशैभर धान रोप्ने चटारो छ। चितवनका किसानले धान रोपेकै दिन डिएपी मल हाल्छन्। ढेड बिघा जमिनमा समेत खेतीका लागि समयमा मल नपाउँदा उनी पनि आक्रोशित देखिन्थे।
भरतपुर– १३ चम्पानगरको पाखुरी चोकमा भेटिएका करिब दुई सय किसानको गुनासो एकै थियो। उनीहरू बिहानैदेखि मल पाउने आसमा सबै काम छाडेर पाखुरी चोक कृषि सहकारी संस्थामा लाइन बस्न गएका थिए। सहकारीमा २० बोरा मात्र मल आएपछि सेयर सदस्यलाई नागरिकता वा लालपुर्जा हेरेर आठ केजीको दरले मल वितरण गरिएको संस्थाका अध्यक्ष प्रकाशचन्द्र न्यौपानेले जानकारी दिए। तीन सय ७७ जना सेयर सदस्य भएका संस्थामा सोमबार एक सय २५ किसानले मात्र मल पाए। बाँकी किसान रित्तो हात फर्किन बाध्य भए।
शुक्रबार करिब आठ महिनापछि भरतपुर– ६ को सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाले पनि २० बोरा डिएपी मल पायो। तीन सय १५ सेयर सदस्य भएका यो संस्थाले थोरै मात्र मल पाएपछि वितरण गर्न असहज हुने सम्भावनाले मल वितरण गरेको छैन। सहकारीका व्यवस्थापक राजु पौडेल सय बोरा मल नभए वितरण गर्न असहज हुने बताउँछन्। ‘मल वितरण हुने थाहा पाएपछि अरिँगालको गोलोझैँ किसान सहकारीमा आउँछन्। भिड व्यवस्थापन गर्नै सकिँदैन,’ उनले भने, ‘त्यही पनि २० बोरा मल तीन सयभन्दा बढी सदस्यलाई कसरी वितरण गर्ने ?’
कृषिप्रधान देश नेपालमा मल नपाएपछि बाध्य भएर मल किन्न भारत जाने नेपाली किसानले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीको लाठी खाँदै आएका छन्। गत फागुनमा चैतेधानका लागि मल लिन सीमानाका ठोरी पुगेका भरतपुर–६ का विकास ओझालाई प्रहरीले लाठी हानेको थियो। ‘एक बोरा डिएपी र एक बोरा युरिया मल लिन गएको थिएँ, प्रहरीले मल नै जफत गरेर लाठी लगायो,’ उनले दुःखेसो पोख्दै भने, ‘बाटोमा बसेका सुरक्षाकर्मीलाई पैसा दिएर सेटिङ मिलाउनुपर्ने रहेछ, जानिएन।’