मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १९ आइतबार २१:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकता अभियानमा फुटेका वामदेव

Read Time : > 1 मिनेट
२०७९ असार १९ आइतबार २१:०४:००

असार १४ गते मंगलबार वामदेव गौतमले पत्रकार सम्मेलनमार्फत ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक पार्टी घोषणा गरे। नयाँ पार्टीको संयोजक थिए, उनै गौतम। तर, ४ दिन पूरा नहुँदै शनिबार उनीमाथि पार्टी अनुशासनविपरीत गतिविधि गरेको आरोपमा पार्टीबाट निष्कासित गरियो। 

११ असारमा ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा(राष्ट्रवादी) र आम नेपाली पार्टी अध्यक्षहरूले छुट्टै बैठक बसेर बहुमतको निर्णयबाट गौतमलाई संयोजकबाट निष्कासित गरेर विज्ञप्तिमार्फत यसको जानकारी दिए। 

यससँगै चार पार्टीको बैठकले अभियानको संयोजकमा सचिवालय सदस्य युवराज सफललाई संयोजक चयन गर्दै असार ११ मा बनेको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समितिसमेत घोषणा गरे। यस क्रममा गौतममाथि पाँच आरोप लगाइएको थियो। उनलाई लगाइएको आरोपहरूमा सांगठनिक अराजकता, एकलौटी निर्णय, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरेको र बृहत् कम्युनिस्ट एकता गर्ने उद्देश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको संगीन आरोप लगाइएको छ।

यसलगत्तै गौतमले पनि आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्कासन गरे। गौतम समूहले गरेको कारबाहीलाई सफल समूहले अनुचित भएको प्रतिक्रिया दिइसकेको छ। अहिले दुवैले ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामलाई आ–आफ्नो दाबी गरिरहेका छन्। एकअर्का आरोपप्रत्यारोप र  कारबाहीको श्रृंखला चलाइरहेका छन्। पार्टी घोषणाको छोटो अवधिमा कसरी यो अवस्थामा आयो त ? 

नयाँ पत्रिकाको सम्पर्कमा आएका वामदेव समूहका सचिवालय सदस्य निमाकान्त पाण्डे भन्छन् :

युवराज सफल पार्टीको सचिवालय सदस्यका रूपमा रहेका थिए। उहाँहरूबाट १३ जनालाई केन्द्रीय सदस्य बनायो। त्यसपछि १२ असारमा चन्द्रागिरिमा केन्द्रीय कमिटी बैठक बस्यो। त्यो बैठकले ९ सदस्यीय सचिवालय गठन गर्‍यो। सचिवालयमा एकजना युवराज पनि थिए। १३ गते सचिवालय बैठक बस्यो। १४ गते पार्टी घोषणा गरियो । १५ गते त्यस्त कुनै गतिविधि भएनन्। १६ गते सफलले संयोजक गौतमलाई सम्बोधन गरेर । राजीनामा घोषणा गरेका थिए । राजीनामापत्रमा भनिएको थियो– मेरो तर्फबाट प्रतिनिधित्व गरेका अन्य ४ समूहबाट एकजनाका दरले राखिन्छ भने म बस्छु नत्र राजीनामा दिन्छु।

त्यसलाई संयोजक गौतमलगायतले सोझै अस्वीकार गरेको थियो। ९ सदस्यभन्दा बढी राखिँदैन भनेर राजीनामा पनि स्वीकृत गरियो। १७ गते केन्द्रीय सचिवालयको बैठकले राजीनामा स्वीकृत गरेको थियो। तर, उनको केन्द्रीय सदस्यता भने कायम नै थियो। तर, १८ गते सफलको समूहले गौतमलाई कारबाही गरी नयाँ संंयोजकमा सफल  र ११ सदस्यीय नयाँ सचिवालय गठन गर्‍यो । लगत्तै वामदेव समूहले पनि भैँसेपाटीमा बैठक डाकेर विज्ञप्तिमा हस्ताक्षर गर्ने पाँचजनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो।

सफलको हकमा केन्द्रीय सदस्यसहित र सँगसँगै ५ मध्ये सफलबाहेक सचिवालयमा आत्मालोचनासहित निवेदन दिएमा कारबाही फिर्ता हुन सक्ने निर्णय गर्‍यो। तर, सफलको हकमा भने कुनै कारबाहीको विषय पुनरावलोकन हुन नसक्ने वामदेव समूहले निर्णय गर्‍यो। बैठकमा ८ जना सचिवालय सदस्य उपस्थित रहेको सो समूहको दाबी छ। १७ गतेको बैठकले  ७५ जना केन्द्रीय सदस्यलाई आ–आफ्नो राजनीतिक बायोडाटा सचिवालयमा बुझाउने निर्णय गरेको  हो । त्यसको भोलिपल्ट वामदेवलाई कारबाहीको जानकारी आयो।