मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १८ शनिबार १०:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनकन्टार भिर र जंगल छिचोल्दै  धौलागिरि आधार शिविर पुगे भेडाका बथान

Read Time : > 1 मिनेट
२०७९ असार १८ शनिबार १०:२४:००

बर्खाको समय । अनकन्टार भिर र जंगलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।

करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिंगापुर बसेर स्वदेश फर्किएका छन्त्यालले  विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेका छन् । आफ्नै पितापुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्। 

छन्त्यालले जंगल, भिर, पहरो छिचोलेर  धौलागिरि गाउँपालिका–५ र रघुगंगा गाउँपालिका–८ को सीमाक्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रापछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिएका छन् । ‘विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु’, छन्त्यालले भने । छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ । सिंगापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गरेका छन् । भेडा बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पितापुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउँछन् । 

भेडाको  बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लिएका हुन् ।  ‘यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरूले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ’, छन्त्यालले भने । उनले  जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताए । 

एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जंगलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइ  छ ।  बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखापखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउँछन् । 

छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताए ।  भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । रासस