१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा खानेपानी आयोजना र ढुङ्गे धाराको पानीमा इकोली भेटियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३२:oo

लमजुङका सात स्थानिय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा इकोली ब्याक्टेरिया भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १ सय २० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो । 

जिल्लाका आठ स्थानिय तहमध्ये ७ स्थानिय तहमा गरीएको परिक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । 'पानीमा इकोली भेटिनु भनेको दिशा मिसिएको संकेत हो, उनले भने, 'परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।'

प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटा अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ । सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ वटा अर्थात् ६९ प्रतिशत, राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटा अर्थात् ७५ प्रतिशत, बेसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटा अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ ।

यस्तै दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटा अर्थात् ८० प्रतिशत, मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा शतप्रतिशत इकोली भेटिएको छ । यस्तै क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ । 

स्वास्थ्य कार्यालय लमजुङले बर्खा लाग्नुभन्दा अगाडि, बर्खाको सुरुवातमै विभिन्न खानेपानी आयोजनाको सम्वन्धित उपभोक्ता समितको समन्वयमा खानेपानी नमुना सङ्कलन गर्ने, नमुना परीक्षण गर्ने र प्राप्त परिणामका आधारमा पानीको गुणस्तरका लागि पृष्ठपोषण दिने गरेको कार्यालय प्रमुख दवाडीको भनाई छ । 

बर्खाको समयमा किटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनसका साथै पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालय लमजुङले आग्रह गरेको छ ।

लमजुङमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत क्लोरिन वितरण भइरहेका छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक वमजनले खानेपानी परीक्षण नतिजा सार्वजनिक गर्दै जिल्लाका आठ पालिकामध्ये दूधपोखरी बाहेक अन्य स्थानिय तहको प्रमुख स्थलमा रहेका खानेपानी आयोजनाको खानेपानीको परीक्षण गरिएको बताए ।

खानेपानी मुहानदेखि मुखसम्म शुद्ध हुनुपर्ने जानकारी दिदै उनले जिल्लाका अधिकांश खानेपानीमा इकोलीका जीवाणु फेला परेको बताए । उनका अनुसार खानेपानी परीक्षण प्रदिवेदन अनुसार पिउनुअघि खानेपानी शुद्धिकरण गरेर मात्र पिउनुपर्ने देखिएको छ । 

पानीमा इकोली प्रायः गरेर बढी मात्रामा बर्खाका बेला हुनेगर्छ । जसले गर्दा बर्खाका बेला मनसुनपूर्व, मनसुन भएका बेला र त्यसपछिको अवधिमा पानी परीक्षण गरेर खानु स्वास्थ्यका लागि उत्तम हुनेछ । सुरक्षित पानी स्वस्थ जीवन भन्ने चेतना नहुँदा धेरैजसो व्यक्ति पानी परीक्षण नगरीकन खाने गरेका छन् । यसका लागि स्थानिय तहले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उपभोक्ताहरु बताउँछन्  । 

ad
ad