१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक वर्षसम्म बनेन भासिएको कमला नदी पुल : जोखिमपूर्ण यात्रा गर्न बाध्य सिराहा र धनुषाका स्थानीय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४२:oo

कमला नदीको पूर्वी तटमा सिराहा नगरपालिका– ६ बसपिट्टाका रामचन्द्र यादवका आफन्त धनुषाको कमला नगरपालिका– ५ लक्कडका रजनिशकुमार यादवको घरमा गत शुक्रबार विवाह थियो ।  कमला नदीमा पानीको बहाव बढेपछि घरबाट पारिपट्टि रहेको सोही ठाउँमा रामचन्द्र पुग्न सकेनन् । सिराहा नगरपालिका– ३ मखनाहाका डा. नरेश मण्डल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखामा दुई वर्षदेखि कार्यरत छन् । कमला भासिएपछि डा. मण्डललाई पूर्व–पश्चिम राजमार्ग भएर (करिब ९० किलोमिटर) यात्रा गरेर जनकपुरधाम पुग्नुपर्ने बाध्यता छ । 

कमला नदीमा बाढी आएपछि आफूले राखेको गाईभैँसीको चरिचरण र गाईवस्तुको निम्ति घाँस ल्याउन नदीपारि जान निकै कठिन हुने गरेको सिराहा नगरपालिका– ५ मानपुरका देवेन्द्र गोहिवारको समस्या छ । 

सप्तरीको सदरमुकाम राजविराजदेखि प्रदेशको राजधानी जनकपुरधाम पुग्न हुलाकी राजमार्ग भएर निकै सजिलो भए पनि कमला नदीको पुल भासिएपछि त्यसले लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको भनाइ छ । ‘हुलाकी सडकमार्ग भएर प्रदेशको राजधानी पुग्न सजिलो थियो,’ अध्यक्ष देवले भने, ‘पुल भासिएपछि छोटो दूरी भएर यात्रा गर्नेको सपना नै चकनाचुर भएको छ ।’ अध्यक्ष देव प्रदेशको राजधानी जनकपुरधाम केन्द्रित भएर पत्रकारिता गर्दै आएका छन् ।

यी प्रतिनिधिमूलक पात्र मात्र हुन् । मधेसको लाइफलाइन हुलाकी सडकखण्डमा पर्ने कमला नदीको पुल भासिएपछि धेरैको दैनिकी नै बदलिदिएको छ । सिराहा सदरमुकामदेखि ३२ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न बर्खाको समयमा लामो यात्रा (९० किलोमिटरको दूरी) तय गर्नुपर्ने बाध्यता छ । मनसुनले कमला नदीमा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण मात्र होइन, गाईवस्तुको निम्ति चरिचरणको समस्या भएको छ ।

२०६८ मा ठेक्का सम्झौता
सिराहा–धनुषाको सीमा जोड्ने कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनलाई ०६८ जेठ ३१ दिएको थियो । २४ करोड ९१ लाख रुपैयाँ  लागतमा कमला नदीको पुल निर्माणको ठेक्का दिए पनि पटकपटक म्याद थप गर्दा पुल निर्माण गर्न ढिलाइ गरियो । त्यसपछि पप्पु कन्स्ट्रक्सनलाई हटाएर ०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी सुम्पिएको छ । 

लुम्बिनी बिल्डर्सले काम गर्दैगर्दा गत वर्ष (०७८ असार १७) मा सिराहा नगरपालिका– ६ बसपिट्टाघाटनजिकै निर्माणाधीन पुलको एउटा पाया (पायर) भासियो । पाया (पायर) भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको तल  झर्‍यो । गत वर्षको साउन पहिलो साता उद्घाटनको तयारी गरिरहँदा सामान्य बाढीले पाया भासिएर स्ल्याब नै भुइँमा खसेपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप्प पारिदिएको छ । कमला पुलसँगै निर्माण गरिएको पाँच सय ४० मिटरको रिभर टेड्रिङ (बाँध) कमसल हुँदा कमलाको बाढीले बगायो । पहिलो पाया भासिएको चार महिनापछि ०७८ कात्तिक ३ मा धनुषा जिल्लापट्टिबाट तेस्रो पाया दुई मिटर भासिन पुग्यो । जसले गर्दा कमला पुल चाँडो निर्माण हुने सम्भावना नै रहेन ।

एक वर्षमा के–के भयो ?
कमला नदीको निर्माणधाीन पुल भासिएपछि सिराहामा युवाहरूले दोषीलाई कारबाहीको माग र पुल यथाशीघ्र निर्माण गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए । स्थानीय शम्भु साहको अगुवाइमा ‘कमला नदीको निर्माणाधीन पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, हाम्रो भावनामाथि खेलवाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गर’लगायतका नारासहितको प्लेकार्ड बोकेर युवाहरूले सदरमुकामको पीपलचौकमा विरोध प्रदर्शन गरेका छन् ।

त्यससँगै हुलाकी सडक संघर्ष समितिले मधेस प्रदेशका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साह, कृषिमन्त्री विजयकुमार यादवलाई पुल निर्माणमा प्रदेश सरकारको भूमिका अगाडि बढाउन ज्ञापनपत्र बुझाएका थिए । सिराहा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गृह मन्त्रालयमा छानबिन गर्न पत्राचार गरेका थिए ।

पुल भासिएपछि मधेस प्रदेशका तत्कालीन आन्तरिक तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निरीक्षण गर्दै एक साता अनुगमन टोली पठाउने वाचा गरेका थिए । अहिलेसम्म प्रदेशबाट अनुगमन टोलीले अनुगमन गर्न सकेको छैन ।कमला पुल भासिएपछि संघीय भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सांसद सीतादेवी यादव, सांसद उमाशंकर अरगरिया, मधेस प्रदेशका कानुनमन्त्री प्रमोदकुमार यादवलगायतका मन्त्री, नेताहरू पुलको निरीक्षण गर्न पुगेका छन् । पुल भासिएको वर्ष दिन भएपछि निर्माण कम्पनीले एउटा पाया र दुईवटा स्ल्याव मात्र भत्काएको छ ।

साइट इन्जिनियर जयनाथ यादव भन्छन्, ‘डिजाइन एन्ड बिल्टमा ठेक्का लागेकाले निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नै पुल बनाउने ।’ हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले नयाँ पत्रिकासँग भने, ‘डिजाइन एन्ड बिल्टअनुसार ठेक्का लागेको हो । यसको निर्माण गर्ने काम निर्माण कम्पनीकै छ ।’

लुम्बिनी बिल्डर्सले वर्ष दिनमा भासिएको पुलको दुईवटा स्ल्याव र एउटा पायरलाई हटाएको छ । त्यससँगै स्वाइल टेस्ट गरिएको र पुनः नयाँ डिजाइन बनाइरहेको इन्जिनियर यादवले बताए । ‘निर्माण कम्पनीले पुल बनाउने ग्यारेन्टी गरेको छ,’ इन्जिनियर यादवले भने, ‘डिजाइन हाम्रो अफिसमा नआए पनि कम्पनीले तयारी गरिरहेको जानकारी पाएको छु ।’

मधेसको लाइफलाइन रहेको हुलाकी सडकमार्गको कमला नदीको पुल निर्माणमा अझ कति समय लाग्ने भनेर स्थानीय चिन्तित छन् । कृषि उपज, दूधजन्य सामग्री लिएर सिराहा सदरमुकाम आउनेलाई अहिले लिंक नै भत्किएको छ । यसले सहज रूपमा आवतजावत रोकिएपछि व्यापार, व्यवसाय, सिराहा पढ्न आउने विद्यार्थीको पठनपाठनसमेत प्रभावित बनेको छ ।

ad
ad