१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्वीरः बाढीले बगाएको डाइभर्सन मर्मत गरिँदै।
२०७९ असार १५ बुधबार २०:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेन

बाढीले बगाएर एक वेपत्ता, चट्याङ लागेर एकको मृत्यु  

Read Time : > 1 मिनेट
२०७९ असार १५ बुधबार २०:१३:००

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको सडक अझै खुलेको छैन । उक्त सडक बुधबार बिहान छ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक अझै नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । उनका अनुसार बुधबार रातिसम्ममा सडक खुलाउने गरी डाइभर्सन मर्मतको काम चलिरहेको छ । 

नवलपुरमा राजमार्गका तीन स्थानमा डाइभर्सन बगाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले बगाएको हो । 

पूर्व-पश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौताअनुसार असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकेको छ । सो कम्पनीले वर्षा नलाग्दै पुलपुलेसाको काम सकेर डाइभर्सनको काम सकिसक्ने बताए पनि अहिले पूर्व-पश्चिम राजमार्गमा दुई सय बढी स्थानमा डाइभर्सनहरूबाट सडक सञ्चालनमा रहेका छन् । जसले गर्दा सामान्य पानीमा पनि पटक-पटक डाइभर्सन बगाएर सडक अवरुद्ध भइसकेको छ । 

धानको बिउ पुर्‍याउन जाँदा खोलाले बगाएर एकजना बेपत्ता 
पूर्वी नवलपरासीमा धानको बिउ छोड्न बारीमा जाँदै गरेका एकजना पुरुषलाई खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका–२ का ६८ वर्षीय केसबहाादुर चमाललाई खोलाले बगाएको हो । बुधबार दिउँसो धानको खेतमा धानको बिउ छोड्न जाने क्रममा उनलाई मध्यबिन्दु ९, सिम्रेनी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ । 

धान रोप्ने क्रममा चट्याङ लागेर एकको मृत्यु 
पश्चिम नवलपरासीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजना महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका–१० लक्ष्मीपुरमा खेतमा धान रोपिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ६० वर्षीया महिला मराक्षी चौधरीको निधन भएको हो । चट्याङ लागेर अचानक बेहोस भएकी ती महिलाको उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।