१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असार १५ बुधबार १०:१३:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले दुःख गरेर बनाएको घर बगायो, विस्थापित सुकुमबासी बजारको टहरामा

प्रत्येक वर्ष बाढी आउँछ, तर छैन पूर्वतयारी

Read Time : > 3 मिनेट
२०७९ असार १५ बुधबार १०:१३:००

झापा गौरादह– ६ दामुनस्थित सुकुमबासी बस्तीकी मन्सो ऋषिदेवको घरमा बाढी पस्यो । सोमबार रातभरको भारी वर्षासँगै रतुवा नदी धार परिवर्तन गर्दै उनको घरमै पस्यो । दुःख गरेर बनाएको टाटीको घरको बेरा र घरमा भएका केही सामान पनि बगायो । उनको परिवार ज्यान बचाउन दामुना बजार आइपुगेको छ । बजारमा सागसब्जी बेच्न राखिएको टहरामा उनीसँगै ३० घर सुकुमबासीको बाढी छल्दै आइपुगेका छन् । ‘दुःख गरेर घर बनाएका थियौँ । टाटी (बेरा) र भुइँ सबै बगायो,’ उनले भनिन्, ‘घरमा खोला कुदेको छ । यो सुकुमबासी बस्तीमा यति जग्गाबाहेक अन्त कतै केही छैन ।’ 

गौरादह– ६ दामुनाको सुकुमबासी बस्तीका ३० घरमा रतुवा नदीको एउटा भंगालो बगिरहेको छ । गरिबीले आकासेपानीसमेत छेक्न नसक्ने घरमै बस्दै आएका सुकुमबासीलाई बाढीले विस्तापित बनाएको छ । सुकुमबासीको गरिबीमाथि प्राकृतिक विपत्ति आइपरेको छ । ‘घरमा कम्मरकम्मर पानी छ । भएको लत्ताकपडा पनि सबै पानीमै डुब्यो । घरमा फर्कन सक्ने अवस्था नै छैन,’ बाढीले विस्थापित जगदीश ऋषिदेव भन्छन्, ‘कहाँ बस्ने के ? के खाने चिन्ता छ ।’

मंगलबार बिहान घरमा पानी देखेर प्रहरी आएर त्यहाँ नबस्न भन्यो । प्रहरीले सुरक्षित ठाउँमा जान भने । तर, प्रहरीले दामुनाबजारस्थित सागसब्जी बेच्न बनाइएको टहरामा लगेर राख्यो । वर्षा नरोकिँदा टहरामा पनि उनीहरूको बिजोक छ । ‘टहरामा बेरा छैन । माथि टिन मात्र छ । अब यस्तोमा कसरी बस्ने । ओड्ने–ओछ्याउने पनि छैन,’ ऋषिदेवले नयाँ पत्रिकासँग भने । सबैभन्दा धेरै बिजोक बालबालिकाको भएको उनी बताउँछन् । गौरादह नगरपालिकाको कमजोरीका कारण उद्धार गरिएका सुकुमबासी दिनभर अलपत्र परे । बाढी प्रभावित सुकुमबासीले मंगलबार भोकै बिताए । ‘कहीँ कसैले दिएन । हामी त दिनभर काम गरेर बिहान–बेलुका खान्छौँ । भएको सबै बगायो । केहीले चाउचाउ किनेर खाए कति त भोकै बस्नुपर्‍याे,’ बाढी प्रभावित सुकुमबासी चम्पा ऋषिदेव भन्छिन्, ‘सरकारले पनि केही दिएन । अब हामी कहिलेसम्म यसरी भोगै बस्ने ?’ 

बाढी प्रभावित क्षेत्रसम्म नगरपालिका पुग्न सकेको छैन । वडाका जनप्रतिनिधि पुगे । तर, उनीहरूको हातमा न राहत नै न त बाढी प्रभावितलाई सुरक्षित ठाउँमा लैजान नै सकेका छन् । गौरादह– ६ नम्बर वडा कार्यालयले मंगलबार प्रभावितलाई खानाका लागि चाउचाउ र चिउरा वितरण गर्ने निर्णय गर्‍यो । तर, साँझसम्म प्रभावित भएको ठाउँमा खानेकुरा पुर्‍याउन सकेन । दुई दिनका लागि दिने निर्णय गरेको र चाँडै बाढी प्रभावितलाई दिने निर्णय भएको वडाध्यक्ष तोयानाथ प्रसाईंले बताए । 

सोही वडाको तेलियाडाँगी टप्पुमा परिणत भएको छ । रतुवा नदी बाँध फुटाउँदै पूर्व आउँदा  उक्त बस्ती टप्पुमा परिणत भएको हो । पौडी खेल्न सक्ने केही नदी तरेर पूर्व आएका छन् । तर, अधिकांश बस्तीमै बिजोक अवस्थामा रहेको पौडिएर टप्पु पार गरेर आएका सुन्रलाल शर्माले बताए । ‘म त पौडिएर आएँ । मलाई पनि झन्डै बगायो । दुवैतिर नदी छ । बीचमा गाउँ छ । निकै समस्या छ नि ! दिनभर काम गरेर ल्याएर खाने छन् । खानेकुरा सबै सकिएको छ । भोकै बसेका छन् । सरकारले हेरोस्,’ उनी भन्छन्, ‘कतिपय घरमा पानी बसेर चुल्हो बाल्न सक्ने अवस्था पनि छैन । डाँडामा रहेका घरमा बसेका छन् । त्यहाँ चाँडो सरकार पुगोस् ।’

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारी वर्षाका कन्काई माई, बिरिङ, मेची, रतुवा, कमल, बनियानीलगायतका ठूला नदी र केही साना नदीको बहाब बढ्दा दुई सय घर प्रभावित भएका छन् । कतिपय घर डुबानमा परेका छन् भने कतिपय परिवार विस्थापित भएका छन् । घर डुबानमा परेर विस्थापित भएकालाई विद्यालयलगायत सुरक्षित ठाउँमा राखिएको प्रहरीले जनाएको छ । जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएको छैन । शिवसताक्षी– १ मा हरिदेव ताजपुरीयाको कुखुरा फारमका एक हजार दुई सय कुखुरा बाढीका कारण मरेको प्रहरीले जनाएको छ । 

बाढी प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । सुरक्षाकर्मीले प्रभावितलाई सुरक्षित स्थानसम्म लगेका थिए । गौरीगन्ज–१ मा प्रहरीले बोट (डुंगा) प्रयोग गरेर १५ घर परिवारको उद्धार गरेको थियो । बाढी प्रभावितको उद्धारका लागि सुरक्षा निकाय तैनाथ रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।  

प्रत्येक वर्ष बाढी आउँछ, तर छैन पूर्वतयारी
झापामा राजमार्ग दक्षिणका क्षेत्र बाढी र डुबानको उच्च जोखिममा छन् । प्रत्येक वर्ष बाढीका कारण अधिकांश स्थानीय तहका नागरिक विस्थापित हुँदै आएका छन् । स्थानीय तहले विपत्त व्यवस्थापनको पूर्वतयारी गर्न सकेका छैनन् । ‘स्थानीय तहका जनप्रतिनिधिलाई हामीले विपत्तको पूर्वतयारी गर्न बैठक बसेरै आग्रह पनि गरेका थियौँ । तर, उहाँहरू अलमलमा रहनुभयो । जुनसुकै स्रोतबाट भए पनि विपत्तिलाई प्राथमिकता दिनुपर्छ । मान्छेको जीवन जोगाउन पहिलो काम हो । अन्य पूर्वाधार निर्माण त गर्दै आएको हो पछि गरे पनि हुन्छ,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘तर, जुन खालको संवेदनशीलता देखिनुपर्ने हो स्थानीय तहमा त्यस्तो संवेदनशीलता छैन ।’

स्थानीय तहले जति पूर्वतयारी गर्नुपर्ने हो त्यति नदेखिएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । विपत्तिपछि राहत उद्धारका लागि कुनै तयारी नदेखिएको उनले बताए । ‘उद्धार सामग्रीहरू स्थानीय तहले राखेको देखिँदैन । केही बोट किन्न पर्थ्याे । राहतका लागि पनि तम्तयार देखिएन,’ उनले भने, ‘स्थानीय तहले जति तयारी गर्नुपर्ने हो । त्यति गर्नु भएन । उहाँहरू नयाँ–नयाँ भएकाले पनि होला अलमलमा पनि हुनुहुन्छ । हामीले १५ वटा पालिकालाई राखेर जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा पनि भनेका छौँ ।’