मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
तस्बिर : ठेकेदारको लापरबाहीले अस्व्यस्त मुडे–बाघखोर–कालापानी सडक । 
Invalid date format २o:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठेकेदारको लापर्बाहीले दोलखाका सडक अस्तव्यस्त, करोडौँको आलु निर्यातमा समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

दोलखाको पर्यटकीय गन्तव्य शैलुङ प्रवेश गर्ने मुख्य मार्ग मुडे–बाघखोर–कालापानी सडक ठेकेदारको लापर्बाहीका कारण अस्तव्यस्त र हिलाम्मे बनेको छ । सिन्धुपाल्चोकको मुडेदेखि दोलखाको शैलुङसम्मको १६.५ किलोमिटर सडक ठेकेदारको लापर्बाहीका कारण कारण अस्तव्यस्त बनेको हो । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दुई वर्षभित्र ‘अक्स्पाल्ट कंक्रिट’सहितको कालोपत्रे सम्पन्न गर्ने गरी ३१ करोड ७५ लाख लागतमा २०७६ असारमा सम्झौता गरेको थियो ।

उक्त सडक भएर यात्रा गर्ने स्थानीयहरूले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ । सडक अस्तव्यस्त र हिलाम्मे हुँदा आलुको मुख्य पकेट क्षेत्र भनेर चिनिने शैलुङ र आसपासको आलु निर्यातमा कठिनाइ भएको शैलुङ गाउँपालिका– ८, झोर मनगाउँका स्थानीय कृषक लालबहादुर श्रेष्ठले बताए। उनले मौसम सफा हुँदासमेत ठेकेदारले सडक निर्माणमा ध्यान नदिएकाले यस्तो समस्या आएको बताए । 

उक्त सडकमा शैलुङ क्षेत्रमा चल्ने साना सवारीसाधनहरूसमेत चलाउन नसकिएको शैलुङ– ८ का स्थानीय शेरबहादुर श्रेष्ठले बताए। उनले सडकका कारण सयौँको संख्यामा मोटरसाइकल, बोलेरो जिप, फोरह्विल ट्रकलगायतका साधनका पाटपुर्जाहरू बिग्रिने र सानो लगानीमा व्यवसाय सुरु गरेका युवाहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । साेही सडककाे माध्यमबाट शैलुङ क्षेत्रबाट वार्षिक करोडौँको आलु राजधानी निर्यात हुने गर्थ्यो । तर, आलु निर्यातको मुख्य समयमा सडक अस्तव्यस्त हुँदा किसानले आलु बिक्री गर्न सकेका छैनन्। त्यसको प्रत्यक्ष असर किसानलाई परेको श्रेष्ठको भनाइ छ । 

सडक निर्माणको जिम्मा पाएको शुभकामना निर्माण सेवाले प्रभावकारी ढंगले काम नगर्दा उक्त बाटो भएर यात्रा गर्ने शैलुङ र मेलुङ गाउँपालिकासहित जिल्लाका दक्षिणी भेगका स्थानीयले नियमित आवतजावतमा हदैसम्मको सास्ती व्यहोर्नुपरेको सडक आसपासका स्थानीयले बताए । 

दुई वर्षमा सक्नुपर्ने काम ४१ महिना बित्दा पनि जम्मा ६० प्रतिशत प्रगति 
गत असार मसान्तभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म ६० प्रतिशत मात्रै सडक निर्माणको प्रगति गरेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रविन खातीले बताए। इन्जिनियर खातीका अनुसार स्ट्रक्चर निर्माणको काम अन्तिम चरणमा पुगे पनि नाला र ग्राभेल बिच्छाउने काम सन्तोषजनक नहुँदा सडक हिलाम्मे बनेको हो । कार्यालयको तर्फबाट पटक-पटक ताकेता गरे पनि निर्माण कम्पनीले अनेक बहाना बनाएर काममा ढिलाइ गरेको उनको भनाइ छ । 

शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले ठेकेदार कम्पनीको ढिलाइकै कारण सडक निर्माणमा उल्लेख्य प्रगति हुन नसकेको बताए । अध्यक्ष श्रेष्ठले ठेकेदार कम्पनीलाई काम गर्न स्थानीयको तर्फबाट कुनै समस्या हुन नदिएको र सडक निर्माणका लागि आवश्यक समन्वय र सहयोग निरन्तर रूपमा गरिरहेको भए पनि काममा प्रगति नहुँदा गाउँवासीले दैनिक सास्ती व्यहोर्नुपरेको बताए । 

सम्झौताअनुसार ठेकेदार कम्पनीले ०७८ असार मसान्तभित्रै सिन्धुपाल्चोकको मुडेदेखि शैलुङको कालापानीसम्म १६.५ किलोमिटर सडक अक्सपाल्ट कंक्रिटसहितको कालोपत्रे गरिसक्नुपर्ने थियो । 

नियमअनुसार कारबाही सुरु गर्छौँ : कार्यालय प्रमुख श्रेष्ठ 
ठेकेदार कम्पनी शुभकामना निर्माण सेवाका सञ्चालक ईश्वर बाँस्कोटाले विगत वर्षहरूको कोभिड, पछिल्लो समयको मूल्यवृद्धिलगायतका कारण काममा प्रगति हुन नसकेको बताए । उनले केही दिनभित्रै सवारीसाधन चल्न सक्ने बनाउन आफू लागि पर्ने बताए । 

तर, ठेकेदार कम्पनीलाई विश्वास गर्ने अवस्था नरहेकाे पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए। कार्यालयको तर्फबाट निरन्तर खबरदारी गर्दा पनि काममा प्रगति नदेखिएकाले ठेक्का तोड्नेबारे परामर्श भइरहेको बताए। ‘हामीले लामो प्रतीक्षा गर्यौं तर प्रगति भएन, अब नियमअनुसार अगाडि बढ्छौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।  दुई वर्षमा सक्नुपर्ने काम म्याद थप गरेर झन्डै ४ वर्ष हुँदा पनि ठेकेदार कम्पनी गैरजिम्मेवार भएकाले कारबाही गर्नुको विकल्प नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।