मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
२०७९ असार १३ सोमबार १०:२४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ल्याटिन अमेरिकामा फैलिँदो ‘गुलाबी आँधी’ 

Read Time : > 2 मिनेट
२०७९ असार १३ सोमबार १०:२४:००

कोलम्बियाका उप–राष्ट्रपतिमा निर्वाचित फ्रान्सिया मार्कवेजले महिला, आदिवासी, एफ्रो–कोलम्बियाली, लैंगिक एवं यौनिक सीमान्तीकरणमा परेका मानिस, श्रमिक र मुलुकको गरिबी, राज्य प्रायोजित हिंसा, बहिष्करण र वातावरणीय विनाशमा परेका व्यक्तिको अवस्था ‘अनाम’ रहेको भन्ने गर्थिन् । यिनै ‘अनाम’का लागि कोलम्बियामा नौलो बिहानी आएको छ । गत आइतबार कोलम्बियाको राष्ट्रपति चुनावमा ५० प्रतिशतभन्दा बढी मतसाथ बोगोटाका पूर्वमेयर गुस्ताभो पेट्रो र उनले अघि सारेका वातावरण अभियन्ता मार्कवेजको विजयसँगै मुलुकमै पहिलोपटक प्रगतिशील सरकार निर्माणको इतिहास रचेका छन् ।

जित सहज थिएन । गुस्ताभो र फ्रान्सियाले २० वर्षभन्दा बढी समयदेखि सत्तामा रहेको दक्षिणपन्थी ‘सेन्ट्रो डेमोक्रेटिक’ पार्टी, मिडिया, सम्भ्रान्त वर्ग र निवर्तमान पुरातनपन्थी राष्ट्रपति इभान डुक समर्थित दक्षिणपन्थी व्यापारी रोडोल्फो हर्नान्डेजविरुद्ध दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गरेका थिए । हर्नान्डेज जो आफैँ भ्रष्टाचार आरोपको सामना गरिरहेका थिए, तिनले एक बलियो र पर्याप्त लगानी गरिएको भ्रष्टाचारविरोधी अभियान चलाएका भए पनि राष्ट्रपतिमा जित्न पर्याप्त मत जुटाउन असमर्थ भए । कोलम्बियाली इतिहासमै सबैभन्दा बढी मतदाता सहभागी यस चुनावले महत्वपूर्ण सामाजिक र आर्थिक रूपान्तरणको वाचा गरेका वामपन्थी जोडीलाई निर्वाचित गर्‍यो ।

पेट्रो र मार्कवेजको सफलता एक सामान्य परिघटना थिएन । वर्षौंदेखिको भुइँतहमा संगठन निर्माण र वामपन्थी गठबन्धनका कारण विजय सम्भव भएको हो । वास्तवमा विजयको संकेत चुनाव अगाडि नै देखिन थालिसकेको थियो । राष्ट्रपति डुकको दक्षिणपन्थी सरकारले २५ वर्षभन्दा कम उमेरका श्रमिकको न्यूनतम पारिश्रमिक घटाउने प्रस्ताव गरेपछि दशकौँदेखिको मितव्ययिता एवं र सीमान्तीकरणबाट दिक्क भएका युवाले कोलम्बियाभरि सन् २०१९ को अन्त्यमा सडकमा उत्रिएर ‘पारो नसिओनल’ अर्थात् राष्ट्रव्यापी हडताल गरेर मुलुकलाई ठप्प पारेका थिए । कोभिड–१९ महामारीको चरम अवस्थामा पनि हडताल र विरोध जारी रह्यो । स्वास्थ्य सेवा सुधार, कर वृद्धि र भ्रष्टाचारसम्बन्धी सरकारी प्रस्तावविरुद्ध अप्रिल २०२१ मा कोलम्बियाका लगभग सबै सहरमा विरोधको नयाँ लहर उठेको थियो । विरोध प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेको थियो । राष्ट्रसंघअनुसार कम्तीमा ४४ प्रदर्शनकारीको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

कोलम्बियामा गुस्ताभो पेट्रो र फ्रान्सिया मार्कवेजको विजयले ल्याटिन अमेरिकामा जलवायु न्यायसहितको समाजवादी ‘गुलाबी आँधी’को आगमन दर्साउँछ
 

पेट्रो र मार्कवेजले सन् २०२२ मा राजनीतिक अभियान सुरु गर्दा धेरै कोलम्बियालीले अझै पनि ‘पारो नसिओनल’ र अन्य आन्दोलनका अपूरा लक्ष्य बिर्सेका थिएनन् । संस्थापनको दमनका बाबजुद जनता व्यवस्था परिवर्तनका लागि तयार थिए र सक्रिय रूपमा माग गरिरहेका थिए । व्यवस्था परिवर्तनको मागका बाबजुद पेट्रो र मार्कवेजका कार्यक्रम सामान्य नै छन्, जसमा मुलुकको स्वास्थ सेवा र शिक्षा प्रणालीमा सुधारका लागि राज्यले अतिरिक्त लगानी गर्न कर सुधार र जीवाश्म इन्धनको निर्भरता अन्त्य गर्न ऊर्जा संक्रमणका कार्यक्रम छन् । यद्यपि दक्षिणपन्थी संस्थापनले पेट्रोका सामान्य कार्यक्रमलाई ‘अत्यधिक महत्वाकांक्षी’, ‘अवास्तविक’ र ‘प्रत्युत्पादक’को संज्ञासमेत दिएको थियो । पेट्रोलाई आफ्नो योजनाका लागि ठूलो धनराशीको आवश्यकता छ तर पेट्रो पूर्व–राष्ट्रपति डुकले झैँ खाद्यान्नमा कर बढाउने पक्षमा छैनन् । बरु उनले मुलुकका धनी चार हजार परिवारको कर बढाउने, केही कर्पोरेट छुट हटाउने, आयात कर बढाउने र कर छल्नेबाट असुलउपर गर्नेलगायत वाचा पूरा गर्नु छ । 

पेट्रोले आफ्नो विजयी भाषणमा अपरम्परागत तेल क्षेत्र, इन्धन–ग्यास बाहिर निकाल्न प्रयोग गरिने परियोजना र तटीय तेल कुवाको विकासमा प्रतिबन्ध लगाउने, जीवाश्म इन्धन अन्वेषणका लागि नयाँ इजाजतपत्र रोक लगाउने जस्ता प्रस्ताव दोहोर्‍याएका थिए । जीवाश्म इन्धन निकासी र उपभोग जसले कोलम्बियामा धेरै विनाश, बहिष्करण एवं हिंसा निम्त्याएको थियो र यसको विकल्पमा पेट्रो र मार्कवेजले नयाँ हरित अर्थतन्त्र सिर्जना गर्नका लागि प्रतिबद्ध छन् । नयाँ सरकारको नेतृत्वमा वाचा गरिएको न्यायपूर्ण ऊर्जा संक्रमणले ल्याटिन अमेरिका र बाँकी विश्वका वातावरणीय आन्दोलनका लागि एक उदाहरण बन्ने छ । विश्वभरका प्रगतिशील सामाजिक आन्दोलनलाई पेट्रो र मार्कवेजले विशेषतः दक्षिणपन्थी सम्भ्रान्त संस्थापनको चर्को दमनका बाबजुद पनि गठबन्धन र भुइँ तहमा हुने संगठन निर्माण प्रभावकारी हुन सक्छ भन्ने देखाएको छ । 

चुनावी अभियानमा कोलम्बियालीलाई पेट्रोको विरुद्धमा उभ्याउन दक्षिणपन्थी संस्थापनले सन् १९९० मा निष्क्रिय भएको एमनाइन्टिन विद्रोही समूहमा उनको आबद्धतालाई चर्काएको थियो । यो हत्कण्डा प्रभावकारी नहुँदा उनीहरूले पेट्रोको घोषणापत्र तोडमरोड गरेर अयोग्य देखाउने प्रयास पनि नगरेका होइनन्, तर सफल भएनन् किनभने पेट्रो र मार्कवेजले उल्लिखित ‘अनाम’सँग वर्षौंदेखि बलियो सम्बन्ध बनाएका छन् । यस विजयले ल्याटिन अमेरिकामा जलवायु न्यायसहितको समाजवादी ‘गुलाबी आँधी’को आगमन दर्साउँछ । यद्यपि कोलम्बियाको नयाँ सरकारका लागि आगामी चार वर्ष सजिलो हुनेछैन, किनभने सरकारले दक्षिणपन्थी संस्थापनको सामना गर्नुपर्नेछ, जो चुनावी रूपमा घाइते भए पनि बलियो छ र पुनः सत्तामा आउन उत्सुक छ ।  
अल जजिराबाट