निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
डा. कुन्दन अर्याल
२०७९ असार ९ बिहीबार ०७:०२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राणाशाहीविरुद्ध पर्चा छरिएको त्यो दिन

राजनीतिक परिवर्तनको उद्देश्यका साथ सार्वजनिक स्थलमा निर्भयतापूर्वक पर्चा छरिएको त्यो घटना नेपालमा जनस्तरबाट गरिएको पहिलो आमसञ्चार थियो

Read Time : > 5 मिनेट
डा. कुन्दन अर्याल
२०७९ असार ९ बिहीबार ०७:०२:००

आठ दशकअघि, संवत् १९९७ मा यही असार महिनाको नवौँ दिन जाउलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाउने जात्राकै बीचमा केही जुझारु युवाले आमनेपालीलाई क्रान्तिमा सहभागी हुन आह्वान गर्दै पर्चा वितरण गरे । त्यो घटना राणाशाहीका लागि ठूलो हाँक मात्र थिएन, नेपालको राजनीतिक इतिहासमा सचेत नागरिक अगुवाहरूले मौनता र सहनशीलता तोडेको अपूर्व अवसर पनि थियो । त्यो देशभित्रैबाट जागेको विद्रोहको शंखनाद थियो । नेपालमा छापिएका सामग्रीको इतिहासमा त्यस वर्ष तीन महिनाको अवधिमा छरिएका चारवटै पर्चाहरूको विशिष्ट महत्व छ । राजनीतिक परिवर्तनको उद्देश्यका साथ सार्वजनिक स्थलमा निर्भयतापूर्वक पर्चा छरिएको त्यो घटना नेपालमा जनस्तरबाट गरिएको पहिलो आमसञ्चार थियो । ती पर्चा सत्ताशक्तिको वृत्तभन्दा बाहिरबाट सन्देश प्रवाह गर्ने आमसञ्चारमाध्यम थिए । 

स्वेच्छाचारी शासन व्यवस्थाका विरुद्ध जनतालाई जगाउने कठिन संघर्षको यो परम्परा पछिसम्म निरन्तर कायम रह्यो । ०१७ देखि ०४६ सालसम्म पनि त्यो वेलाका प्रतिबन्धित नेकपा र नेपाली कांग्रेसलगायत कैयन् दल वा व्यक्तिका लागि पर्चा राजनीतिक संवादको प्रभावकारी माध्यम बन्न पुग्यो । कुनै समय रामराजाप्रसाद सिंह र रूपचन्द्र विष्टका राजनीतिक असहमति अभिव्यक्त पर्चा पनि उत्तिकै चर्चित थिए । आमसञ्चारमाध्यमहरूको विकासको एउटा चरणमा संसारका सबैजसो समाजमा पर्चाको उल्लेखनीय भूमिका रहिआएको छ । 
विश्वमा हस्तलिखित पत्रिका र पर्चापछि सोह्रौँ शताब्दीको उत्तराद्र्धसम्म छापिएका पर्चाको प्रचलन सुरु भइसकेको थियो ।

एक अभिलेखअनुसार सन् १५७१ मा बेलायती महारानी एलिजावेथले राजकीय आज्ञा नमानेको अभियोगमा थोमस हर्वाड, ड्युक अफ नरफोकलाई गिरफ्तार गराउँदा पनि समर्थनमा एउटा छापिएको पर्चा वितरण गरिएको थियो । ती भारदार महारानीका नातेदार पर्थे । तर, अध्येताहरूको दाबीअनुसार त्यो पर्चाका मस्यौदाकार महारानीकै मुख्यमन्त्री लर्ड बर्घले थिए । बेलायती इतिहासकार स्टेफनका अनुसार त्यहाँ सन् १४७६ मै छापायन्त्र पुगेको थियो । स्टेफन फ्रान्सका राजा चाल्र्स आठौँले फ्रेन्च भाषाको पहिलो अखबार सुरु हुनुभन्दा एक सय २६ वर्ष पहिले वा युद्ध संवाददाताको प्रचलन सुरु हुन्नुभन्दा तीन सय ६० वर्ष पहिले नै आफ्ना युद्धका कथाहरू पर्चामा छापेर बाँड्ने गरेका थिए भन्ने उल्लेख गर्छन् ।

एक अनुमानअनुसार सन् १४९४ र ९५ को करिब ११ महिनाको अवधिमा उनले ४१ थरीका पर्चा बाँड्न लगाएका थिए । शासकहरू त जनमतलाई प्रभावित पार्न पर्चाको यसरी प्रयोग गर्थे भने जनस्तरबाट शासकलाई चुनौती दिन अग्रसर क्रान्तिकारीहरूका लागि पर्चाको कति महत्व थियो होला, सहजै अनुमान गर्न सकिन्छ । सन् १७७५ मा वितरित थोमस पाइनको कमन सेन्स शीर्षकको पर्चाले अमेरिकी स्वतन्त्रता संग्रामको तरंग अझ फैलाएको थियो । त्यो पर्चा छापिएको एक वर्षपछि त्यो संग्राम सफल भयो, बेलायतको आधिपत्यबाट मुक्त संयुक्त राज्य अमेरिकाको उदय भयो । विश्वका अनेक आन्दोलनहरूमा जागरुक र निर्भीक राजनीतिक अगुवाका निम्ति पर्चा जनमतलाई प्रभावित गर्ने प्रभावकारी औजार थियो । सचेत जनताले विभिन्न समाजमा त्यस्ता पर्चालाई प्रारम्भिक राजनीतिक सञ्चारको माध्यमका रूपमा आत्मसात् गरेका थिए । 

९ असारलाई नेपाली लोकतान्त्रिक आन्दोलनको गौरवमय इतिहासमा राष्ट्रिय पर्चा दिवसका रूपमा अंकित गरिनुपर्दछ । यो दिन हरेक नेपालीलाई लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय प्राप्तिको अनवरत संघर्षमय परम्पराको पुनः स्मरण गराउने दिन हो ।

मिसेल स्टेफन, अ हिस्ट्री अफ न्युजमा लेख्छन्, प्रारम्भमा छापायन्त्रको शक्तिको प्रयोग गर्नेहरूमा युरोपका शासकहरू नै थिए । उनीहरूभन्दा धेरै पछि राणाहरूले पनि त्यही सिको गरे । जंगबहादुरले सन् १८५१ मा युरोप यात्राबाट फर्किंदा ल्याएको सानो छापायन्त्र आफ्नै दरबारमा राख्दा अवश्य त्यही सोचेका थिए । छापायन्त्र र छापामाथिको नियन्त्रण उनीहरूको प्राथमिकतामा पथ्र्यो । जंगबहादुरका उत्तराधिकारीहरूले मात्र होइन, ०१७ सालपछि शाह राजाको पञ्चायती व्यवस्थाले पनि छापायन्त्र, छापाखाना वा छापालाई नियन्त्रण गर्ने कानुनी प्रबन्ध नै गरेको थियो । ०४६ सालको जनआन्दोलनपछि जारी भएको संविधानले मात्रै पहिलोपटक धारा १३ (२) मा प्रस्ट भनेको थियो, कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरेबापत छापाखाना बन्द वा जफत गरिनेछैन । 

छापाइ प्रविधिको विकास हुनुअघि पनि संसारमा कुनै न कुनै रूपमा समाचारहरूको आदानप्रदान त हुन्थ्यो नै । तर, गुटेनवर्ग छापायन्त्र र त्यसपछिको लिथोग्राफ प्रविधिले खास–खास सूचना लुकाउने वा खास–खास मात्र प्रचारमा ल्याउने वा आममानिसबीच आफ्नो आलोचना भएको सुन्नैनसक्ने शक्तिशाली वर्ग वा व्यक्तिको प्रयत्न सम्भव हुन छाड्यो । छापायन्त्रहरू क्रमशः राजनीतिक विरोधीहरूले पनि प्रयोग गर्न थाले । वि.सं. १९९७ साल असार ९ गते र त्यसपछि नेपालमा पनि त्यही भयो । त्यस दिन दुनियाँले थाहा पाउने गरी खबरदार राणाहरू लेखिएका छापा–पानाहरू काठमाडौं उपत्यकाका सडकमा छर्न २८ वर्षका युवा टंकप्रसाद आचार्यले कलकत्तासम्म पुगेर लिथो मेसिन किनेका थिए । कलकत्ताको डल्हौजी स्क्वायरमा धनाढ्य महेन्द्रविक्रम शाहले किनिदिएको साइक्लोस्टायल मेसिनलाई टंकप्रसाद र दशरथ चन्दले पहिले जलेश्वरसम्म ल्याइपुर्‍याए । त्यसपछि मेसिनलाई खोलेर टुक्राटुक्रा पारी टंकप्रसादले गोविन्दप्रसाद उपाध्यायको सहयोगमा गुन्टा र बाकसमा लुकाई सबै टुक्रा भीमफेदीसम्म ल्याइपुर्‍याए । भीमफेदीबाट गढीको उकालो हुँदै मेसिनका खोलिएका पुर्जा जासुसहरूलाई छल्दै काठमाडौंमा टंकप्रसादकै घरमा भित्र्याइयो । 

टंकप्रसादकी छोरी डा. मीनालाई बुबाले पछि साथीहरूसँग कुराकानी गरेको स्मृतिका आधारमा लाग्छ– प्रजा परिषद्का सीमित सदस्यहरूले खासखास विषयबाहेक एकअर्काको गतिविधिसमेत एकअर्कालाई थाहा नदिई आ–आफ्नो जिम्मेवारी पूरा गरेका थिए । घटनाविवरणअनुसार आचार्यले रामहरि शर्मा र गोविन्दप्रसाद उपाध्यायको सहयोगमा आफ्नै घरमा साइक्लोस्टायल मेसिनबाट छापेर चार किसिमका पर्चा तयार गरे । छपाइका लागि मूल प्रति वा स्टेनसिल उनैले तयार गरेका थिए । त्यसैले पर्चाहरूमा छापिएका अक्षर उनकै थियो । छपाइसकिएपछि मेसिनलाई बलबहादुर पाँडेको घरको छिँडीमा र पर्चाहरूलाई प्लास्टिकमा पोका पारी टंकप्रसादकै बारीमा गाडेर लुकाइयो ।

भोटो जात्राको अघिल्लो रात, बिहानैसम्म पनि सैन्य पहरा नहुने भएकाले त्यही अवसरलाई पहिलो पर्चा बाँड्न उपयुक्त ठहर्‍याइएको थियो । नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गरिसकेको थियो, राजा त्रिभुवनले दरबार पनि छाडिसकेका थिए । त्यही ताका ००७ साल कात्तिक २५ गते कांग्रेसले काठमाडौं उपत्यकामा हवाईजहाजबाट समेत पर्चा छरेको थियो । पुरुषोत्तम बस्नेतले नेपाली कांग्रेसको इतिहासको प्रारूपमा उल्लेख गरेअनुसार त्रिभुवन दिल्ली प्रस्थान गर्नुभन्दा अघिल्लो दिन वितरित उक्त पर्चामा लेखिएको थियो– आजदेखि हाम्रो लडाइँ सुरु हुन्छ, सबै देशभक्त तयार हुनुहोस् ।

केवल तीन दशकअघिको समयमा विचरण गर्ने हो भने, राजनीतिक आन्दोलनको स्मरण गर्ने हो भने लुकीछिपी, सघन गोप्यता कायम गरेर छापिएका व्यवस्थाविरोधी पर्चा बाँडेको अनुभव आजका धेरै सक्रिय राजनीतिकर्मीहरूसँग छ । पञ्चायतका अन्तिम समयतिर त काठमाडौंका व्यस्त गल्लीमा रहेका छापाखानामा मध्यरातमा झ्यालढोका बन्द गरेर कम्पोज गरी पर्चा छापिन्थे । मेसिनवरपर पर्चाका टुक्राटाक्री वा बिग्रिएका प्रति पनि बाँकी नरहुन् भनेर सफा गरिन्थ्यो । ग्यालीमा बाँधिएका सिसाका अक्षरहरूलाई तारन्तार डिकम्पोज गरिन्थ्यो, सबै प्रमाण रातारात मेटाइन्थ्यो । एकताका नरदेवीको गल्लीमा टेको लगाएको घरमा तत्कालीन नेकपा (माले)ले आफ्नो भूमिगत संलग्नतामा छापाखाना नै चलाउँथ्यो । जहाँ पुरानो ट्रेडल मेसिनमा व्यवस्थाविरोधी पर्चा छाप्ने प्रबन्ध मिलाउने जिम्मा आजका मानवअधिकारकर्मी सुशील प्याकुरेल र सिराहामा अवकाशको जीवन बिताइरहेका उत्तम महतलाई दिइएको थियो । 

स्वतन्त्र वाम व्यक्तित्व पद्मरत्न तुलाधर आफैँ कम्पोज गर्थे, मेसिन पनि चलाउँथे, घरकै भुइँतलामा छापाखाना थियो । कति त्यस्ता पर्चा उनैले छापे होलान्, सहजै अनुमान गर्न सकिन्छ । बिहान सबेरैदेखि बाँडिएका पर्चा, घरघरमा व्यवस्थाको विकल्प, क्रान्तिकारी सोच र परिवर्तनको उत्कट आकांक्षामा विमर्श गराउने आधार थिए । ती पर्चा छापिए कहाँ ? प्रहरी प्रशासन हरदम खोजिरहन्थ्यो । नेपालमा राजनीतिक जागरणको उद्भव र विकासका लागि प्रजा परिषद्का पर्चाहरूको योगदानको गहन अध्ययन गर्ने इतिहासकार राजेश गौतमको विचारमा १९९७ भदौ २४ गते चौथो पर्चा पनि वितरण भइसक्दासम्म नेपाल प्रजा परिषद्को प्रभाव निकै बढिसकेको थियो । त्यसअघि असार ३० गते दोस्रो पर्चा छरिएको थियो । गौतमको विचारमा प्रजा परिषद्को बढ्दो प्रभाव पर्चाको परिणाम नै थियो । किनकि, उनी लेख्दछन्– पर्चा कहाँ, कसले, कुन वेला छर्छ, त्यसको अत्तोपत्तो नभए तापनि छरिएको पर्चा तुरुन्तै हातहात सहरभरि फैलन्थ्यो । 

राणा शासकहरूबीच खैलाबैला मच्चिएपछि पर्चा छर्नेहरूको खोजी हुन थाल्यो । उनीहरूलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिने निर्णय मात्र गरिएन, साउन ११ गते त प्रजा परिषद्सँग आबद्ध व्यक्तिलाई गिरफ्तार गर्न सहयोग गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने सूचना नै गोरखापत्रमा प्रकाशित गराइयो । तर, एक साता पनि नबित्दै साउन १७ गते तेस्रो पर्चा पनि छरिएको देखिएपछि राणाहरू झनै हतास र क्रूद्घ भए । त्यसको केही महिनापछि, असोजको अन्तिम सातादेखि व्यापक धरपकड सुरु गरियो । प्रजा परिषद्को अभिलेखअनुसार त्यसवेला लगभग दुई सय व्यक्ति पक्राउ परेका थिए । त्यहीक्रममा टंकप्रसादसहित प्रजा परिषद्का केही सदस्यको सर्वस्व हरण गरियो, उनीहरूलाई आजन्म कारावासको सजाय दिइयो । धर्मभक्त, दशरथ चन्द र गंगालाललाई मृत्युदण्ड दिइयो । पर्चा–प्रकरणअघि नै प्रजातान्त्रिक मूल्य र मान्यताको खुला पक्षपोषण गरेबापत पक्राउ परेका शुक्रराज शास्त्रीलाई पनि प्रजा परिषद्का सदस्यहरूसँगै मृत्युदण्ड दिइयो । 

यसरी साइक्लोस्टायल मेसिनमा छापिएका केही सय प्रति पर्चा आमनागरिकका बीचमा लोकतान्त्रिक हक–अधिकारसम्बन्धी जागरण बढाउने माध्यम बन्न पुगे । ती पर्चाले जनतालाई निर्भीक बनाएका थिए, समाजमा हलचल उत्पन्न गराएका थिए । ती पर्चाका स्मृतिमा नेपाली लोकतान्त्रिक आन्दोलनको प्रारम्भिक तर अमिट शिक्षा र सन्देश समेटिएका छन् । ०३६ सालको देशव्यापी उभारपछिको जनमतसंग्रहकालीन समयमा टंकप्रसादको अगुवाइमा नेपाल प्रजा परिषद्ले बहुदल प्रचार समिति गठन गर्‍यो । झन्डै ७० वर्षको उमेरमा पुनः बहुदलीय प्रजातन्त्रको पक्षमा अभियान चलाउने क्रममा उनले १९९७ सालको प्रारम्भिक आन्दोलनको पनि स्मरण गरे । उनको आकलन थियो, त्यो वेलाको आन्दोलन केही कालसम्म लम्बिन पाएको भए नेपालले धेरै पहिले नै ऐतिहासिक राजनीतिक परिवर्तन देख्न पाउने थियो ।

उनको संकेत १९९७ सालको दमन र आन्दोलनको गतिरोधतर्फ थियो । तर, आजसम्मको इतिहासले प्रमाणित गरिसकेको छ, १९९७ सालमा राणाशाहीले क्षणिक सफलता मात्र प्राप्त गरेको थियो । ती पर्चाले खोलेका लोकतान्त्रिक आन्दोलनको बाटो पहिल्याउँदै जाँदा नै नेपाली समाज आज ढिलोचाँडो यहाँसम्म आइपुगेको हो । त्यसैले असार ९ गतेलाई नेपाली लोकतान्त्रिक आन्दोलनको गौरवमय इतिहासमा राष्ट्रिय पर्चा दिवसका रूपमा अंकित गरिनुपर्दछ । यो दिन हरेक नेपालीलाई लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय प्राप्तिको अनवरत संघर्षमय परम्पराको पुनःस्मरण गराउने दिन हो । नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनको एउटा प्रमुख आधार र माध्यम पर्चा थियो । प्रजा परिषद्ले त्यति कठिन अवस्थामा पनि आफ्नै देशमा छापेर क्रान्तिकारी पर्चा वितरण गरेपछिका वर्षहरूमा नेपालका सबै राजनीतिक दलहरूले पर्चालाई आन्दोलन वा अभियानको अभिन्न पक्षका रूपमा अंगीकार गर्दै गए । त्यसैले इतिहासको स्मरण र गौरवबोध गर्न असार ९ गतेको ऐतिहासिक दिनलाई राष्ट्रिय पर्चा दिवसका रूपमा आत्मसात् गरौँ, मनाउन थालौँ । 
(अर्याल त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका सहप्राध्यापक हुन्)