निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार ८ बुधबार ०६:४२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैकल्पिक शक्ति : विगत असफल, भविष्य चुनौतीपूर्ण

Read Time : > 5 मिनेट
२०७९ असार ८ बुधबार ०६:४२:००

निकट विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेको धक्का, ठूला दलहरूसँगको लडाइँ, पार्टी सदस्यको व्यवस्थापन र प्रदेश एवं संघमा स्वतन्त्र उम्मेदवारी दिनेहरू नयाँ पार्टीका लागि चुनौती 

स्थानीय निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारको जित र आसन्न प्रदेश एवं संघीय निर्वाचनका लागि सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणाले पुनः वैकल्पिक राजनीतिक शक्तिको बहस सुरु भएको छ । आमनिर्वाचन घोषणाको तयारी भइरहेका वेला नयाँ शक्तिका रूपमा स्थापित हुने उद्देश्य राखेर लामिछाने नेतृत्वमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणापछि वैकल्पिक राजनीतिक शक्तिको बहस सतहमा आएको हो । 

नयाँ संविधान निर्माणपछि वैकल्पिक शक्ति बनाउने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सञ्चार क्षेत्रमा स्थापित वरिष्ठ पत्रकार रवीन्द्र मिश्र, सामाजिक अभियन्ता उज्ज्वल थापाको असफल नियतिबीच लामिछाने नयाँ जोस र प्रतिबद्धतासहित राजनीतिक मैदानमा उत्रेका छन् । विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेको धक्का, शक्तिशाली राजनीतिक दलहरूसँग लडाइँ, पार्टीका नयाँ सदस्यको व्यवस्थापन र प्रदेश एवं संघमा स्वतन्त्र उम्मेदवारी दिनेहरू नयाँ पार्टीका लागि चुनौती बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ ।

लामिछानेको अभियानलाई मूल धारको राजनीतिबाट असन्तुष्ट युवा समूहले दल घोषणाको प्रारम्भिक चरणमा साथ दिए पनि राजनीतिक दलका नेतादेखि विश्लेषकसम्मले दलको नाम, दार्शनिक, सैद्धान्तिक–वैचारिक, सांगठनिक आधार र कार्यक्रममाथि प्रश्न उठाएका छन् । कतिपयले त कुनै दलमा आबद्ध नहुने व्यक्ति वा समूहकै मानमर्दन गर्ने गरी लामिछानेको घोषणाले स्वतन्त्रको परिभाषा र अस्तित्व समाप्त पार्न खोजेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा उनले मूल धारका राजनीतिक दलको नीति र विचारभन्दा भिन्नै केही बुँदागत प्रतिबद्धता प्रस्तुत गरे पनि त्यसको सैद्धान्तिक र वैचारिक आधार तथा भिन्न नीति र कार्यक्रम भने प्रस्तुत गरेका छैनन् । लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीसहितका सात प्रतिबद्धता र चुनाव चिह्नबाहेक पार्टीको केन्द्रीय समितिसहितका तहगत सांगठनिक संरचना र तिनको वैचारिक आधार प्रस्ट खुलाएनन् ।

मुलुकमा देखिएको चरम बेथिति र लोकतान्त्रिक शासन प्रणालीमा धब्बा देखिने गरी विरूप बनाउने मूल धारका राजनीतिक पार्टीहरूको प्रयासमाथि भने उनले धेरै कटाक्ष गरे । लामिछानेले ‘व्यवस्था होइन, जनताको अवस्था बदल्न’ राजनीतिमा होमिएको बताएर अहिलेको लोकतान्त्रिक प्रणालीभित्रैबाट अगाडि बढ्न चाहेको प्रस्ट्याएका छन् । नाम नै स्वतन्त्र पार्टी राखेर अगाडि बढ्ने उनको प्रयासले राजनीतिक क्षेत्रभित्र अनेक कोणबाट टीका–टिप्पणी सुरु भएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समयअनुसार विकल्प दिन्छु भन्दै नयाँ दल आउने कुरा स्वाभाविक भए पनि कुनै पनि दलका लागि कुनै पनि नयाँ दल विकल्प बन्न नसक्ने बताए । ‘लोकतन्त्रमा नयाँ दल खुल्नु, विकल्प दिन्छौँ भनेर आउनु स्वाभाविक हो । लोकतन्त्रमा दलहरू आउनु, निर्वाचनमा भाग लिनु र मतदाताको रोजाइका आधारमा साना र ठूला दलका रूपमा रहनु सामान्य हो । समयअनुसार हामी विकल्प बन्छौँ भनेर आउनुलाई सहजतापूर्वक लिनुपर्छ । तर, कसैको विकल्प कोही हुन सक्दैन । प्रतिस्पर्धा आफैँमा पनि हुन्छ । जनमतले दलको हैसियत निर्धारण गर्दछ,’ शर्माले भने । 

एमाले सचिव योगेश भट्टराईले लोकतन्त्रमा संविधानअनुसार हरेकलाई दल खोल्ने र प्रतिस्पर्धा गर्ने स्वतन्त्रता रहेकाले एमालेले कुनै चुनौतीका रूपमा नलिएको बताए । लामिछानेको दलले पनि सिद्धान्त र विचारका आधारमा प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ । यद्यपि, स्वतन्त्र अभियान अगाडि बढिरहेका वेला स्थापित पार्टीहरूले पनि आफूलाई समयानुकूल रूपान्तरित गर्दै लैजानुपर्ने भट्टराईले बताए । 

‘हाम्रो संविधानमा हरेकलाई राजनीतिक दल खोल्ने स्वतन्त्रता छ । रवि लामिछानेजीले पनि त्यही स्वतन्त्रताको उपयोग गर्नुभएका कारण धेरै टिप्पणी गरिरहनुपरेन । जो–कोहीले पनि आफ्नो विचार, सिद्धान्तका आधारमा प्रतिस्पर्धा गर्न सक्छन्, त्यसरी हेर्दा नयाँ खुलेको पार्टीले पनि स्थापित पार्टीहरूसँग प्रतिस्पर्धा गर्न सक्छ । आजको अवस्थामा हरेक दलले आफूलाई रूपान्तरित गर्दै लैजानुपर्छ, समयअनुसार रूपान्तरित नहुँदा त सिद्धिन्छन् । लोकतन्त्रमा कुनै दल एक–अर्काको चुनौती हुँदैनन्, उनीहरूबीच प्रतिस्पर्धा हुन्छ,’ उनले भने । 

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले भने गैरपार्टी स्वतन्त्र उम्मेदवार उठ्ने स्वतन्त्रतालाई ब्रेकडाउन गर्ने गरी पार्टीको नाम नै स्वतन्त्र पार्टी राखिएकाले धेरै कुरा बुझ्न नसकेको भन्दै व्यक्तिको संवैधानिक र कानुनी स्वतन्त्रता खुम्च्याउन खोजिएको संकेत गरे । ‘एउटा राजनीतिक पार्टी खुलेको छ । वास्तवमा पार्टी त निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित भएर बन्ने होला । गैरपार्टी मान्छे स्वतन्त्र हुने, उम्मेदवार उठ्ने एउटा कुरा हो, तर पार्टी नै स्वतन्त्र खुलेपछि त्यसको व्याख्या उहाँ (रवि लामिछाने)ले गरेपछि नै बुझ्न सकिएला,’ उनले भने, ‘मैले चुनौतीभन्दा पनि प्रतिस्पर्धामा एउटा पार्टी थपिएको मात्र ठानेको छु । उहाँले पार्टी खोलेर आएपछि कस्तो नीति र कार्यक्रम ल्याउनुहुन्छ त्यस आधारमा पनि भर पर्ला । त्यसैले अहिले नै चुनौतीका रूपमा लिने कि नलिने भन्दा आग्रहपूर्ण टिप्पणी होला भन्ने लागेको छ ।’

विगतमा डा. बाबुराम भट्टराईसँगै वैकल्पिक शक्ति निर्माणमा लागेका हाल जसपा नेता डम्बर खतिवडाले लामिछानेको पार्टीमा एजेन्डा नआएको टिप्पणी गरे । ‘वैकल्पिक शक्ति भनेर आएका सबै उस्तै हुन सक्दैनन् । पहिला प्रगतिशील कुरा गरेर पछि पुरातन एजेन्डामा नै आएका छन् । यसका उदाहरण रवीन्द्र मिश्र हुन् । रवि लामिछानेले घोषणा गरेको पार्टीको पनि स्पष्ट एजेन्डा आइसकेको छैन । केही प्राविधिक कुरा मात्रै आएका छन् । यसैलाई हेरेर मात्र भन्न सकिन्न,’ उनले भने, ‘नेपालमा वैकल्पिक राजनीतिको ठूलो स्पेस छ । अहिले काठमाडौंमा बनेकालाई मात्रै वैकल्पिक शक्तिका रूपमा हेर्ने गरिन्छ । खासमा रेशम चौधरी र डा. सिके राउतलगायतले बनाएका पार्टी पनि वैकल्पिक शक्ति हुन् । कांग्रेस, कम्युनिस्ट र राजावादीबाहेकका सबै दललाई एक ठाउँ ल्याएर ठूलो परिवर्तन गर्न सकिन्छ । तर, विडम्बना त्यो सहज छैन ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ जनतामा परिवर्तनको आकांक्षा देखिएकाले नयाँ पार्टीका लागि अवसर हुन सक्ने बताउँछन् । ‘जनतामा परिवर्तनको आकांक्षा देखिन्छ । लामो इतिहास बोकेका कांग्रेस, एमाले र माओवादीजस्ता दलको गलत नीति, नेतृत्व र कुशासनका कारण जनताले भरपर्दो विकल्प पाउन सकेनन् । ठूला दललाई मत दिएर पछुताउनुपर्ने अवस्था छ,’ उनले भने, ‘विकल्प शून्य हुन सक्दैन । नेपालमा वैकल्पिक भनेर उदाएका पार्टी सहरकेन्द्रित देखिन्छन् । यिनीहरूबाट पनि कुनै विकल्प आउन सकेन । देख्दा आकर्षक देखिए, तर पानीको फोकाजसरी बिलाउँदै गएका छन् ।’ 

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे वैकल्पिक शक्ति भन्दैमा देश बनाउँछु भन्ने अहंकार बोक्नु गलत हुने बताउँछन् । ‘नेपालमा वैकल्पिक शक्तिको दशवर्षे इतिहास हेर्दा दलमा समस्या हो या राजनीतिमा भन्ने नै छ । हामीले विवेकशील नेपाली दल बनाउँदा राजनीतिमा समस्या देख्यौँ । राजनीति भन्नाले शैली, संस्थालगायतमा समस्या भन्यौँ । यस अवधिमा नयाँ आएका शक्ति पनि नयाँ दल मात्र बन्न खोजे,’ उनले भने, ‘विवेकशीलले नयाँ राजनीति गर्न खोजेको हो, हामी त्यो बाटोमा नै छौँ । यद्यपि, पछिल्लो समय पनि केही नयाँ गरौँ भनेर नयाँ दलले कोसिस गरेका छन् । वैकल्पिक शक्ति भन्दैमा त्यसले नै देश बनाउँछ भन्ने अहंकार बोक्नुहुँदैन, पछि आउने शक्ति पनि अहंकारमा फस्नुहुँदैन ।’

लोसपाका नेता केशव झाले कुनै वैचारिक र दार्शनिक आधारविनै गठन भएको लामिछाने नेतृत्वको पार्टीसँग धेरै आशा गर्ने ठाउँ नै नरहेको बताए । ‘एक सय ३०/एक सय ३५ दल पहिल्यैदेखि थिए, एउटा दल थपियो । मैले सामान्य रूपमै लिएको छु । वैचारिक र दार्शनिक प्रस्टतासहित आएको भए केही आशा गर्ने ठाउँ देखिन सक्थ्यो । यो पार्टी पनि एकल राष्ट्रिय चिन्तनकै निरन्तरताका रूपमा आएकाले धेरै केही गर्ला भन्ने छाँटकाँट देखिँदैन । खालि लहैलहैमा इमोसनल रूपमा आएको देखिन्छ । अहिले देशको सिस्टमबाट जनता आजित छन्, आमूल परिवर्तनका लागि दार्शनिक आधार र वैचारिक प्रस्टतासहित आएको छैन, त्यसैले स्थापित पार्टीलाई रिप्लेस गर्ने सम्भावना न्यून छ,’ उनले भने, ‘एकाध ठाउँमा चुनाव जित्नु या हार्नुले कुनै अर्थ राख्दैन । तैपनि उहाँ (रवि लामिछाने) राजनीतिको मूल धारमा आउनुभएकाले स्वागत छ, शुभकामना पनि छ । तर, प्रारम्भिक छाँटकाँट राम्रो छैन ।’

साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूहरूको असफलताबाट पाठ सिकेर अगाडि बढ्न सुझाव दिएका छन् । ‘तिमी सानै हुँदादेखि चिनेकाले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी । मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी । पार्टी निर्माणका क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर,’ मिश्रले सामाजिक सञ्जालबाट सुझाव दिएका छन् । 

बाबुरामको नयाँ शक्ति एक वर्षमै फोरमसँग एकीकृत 
०७० को अन्त्यतिर नयाँ वैकल्पिक शक्तिको बहस प्रारम्भ गरेका डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा ३० जेठ ०७३ मा तामझामसहित नयाँ शक्ति पार्टी घोषणा गरे । ०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमसँगको गठबन्धन गरे । त्यसलगत्तै नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरमसँग एकीकृत भयो । डा. भट्टराईबाहेक अरू कसैले मंसिर ०७४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ जित्न सकेनन् । ०७६ मा फोरम र तत्कालीन राजपाबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी बन्यो, जसपा पनि फुट्यो । भट्टराई अहिले जसपाभित्रै पार्टी फुटाएर जाने कि मौजुदा पार्टीलाई नै रूपान्तरित गर्ने उत्कर्षको अन्तर्संघर्षमा छन् । 

फुट–विभाजनसँगै मिश्रको साझा पार्टी तितरबितर 
०७३ फागुनमा पत्रकारिता छोडेर रवीन्द्र मिश्र राजनीतिमा होमिए । ०७४ वैशाखमा सम्पन्न स्थानीय चुनावमा उनको साझा पार्टीले काठमाडौं र ललितपुरमा उम्मेदवार उठायो । दुई दल मिल्दा अबको चुनाव जित्न सकिने विश्लेषणसहित मिश्रले विवेकशीलसँग एकताको हात अघि बढाए । ११ साउन ०७४ मा पार्टी एकता भई विवेकशील साझा पार्टी बन्यो जहाँ मिश्र र थापा दुवै संयोजक रहे । मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकताको १७ महिनापछि उज्ज्वल थापासहित १६ केन्द्रीय सदस्यले २७ पुस ०७५ मा विवेकशील नेपाली दल ब्युँताए । मिश्र नेतृत्वको दल छिन्नभिन्न भयो । योे स्थानीय निर्वाचनसम्म पुग्दा मिश्र नेतृत्वको पार्टी अस्तित्व रक्षाको स्थितिमा छ । 

विवेकशील पनि अस्तित्व रक्षामा 
विवेकशील समूहले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंका चार क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाएको थियो । त्यसपछि भने ०७१ मा उज्ज्वल  थापाको नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो । ०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शनालाई काठमाडौंको मेयरको प्रतिस्पर्धी बनाएपछि यो दल धेरै चर्चामा आयो । ११ साउन ०७४ मा मिश्र नेतृत्वको साझा पार्टीसँग थापाले नेतृत्व गरेको दल एकीकृत भयो । तर, १६ महिनापछि थापा पार्टीको आन्तरिक विवादपछि दल फुटेर उनी पुनः विवेकशीलका नेता बने । गएको स्थानीय तहको निर्वाचनमा विवेकशील दलले कतै पनि उल्लेख्य नतिजा ल्याउन सकेन ।