मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार ०६:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालबाट अमेरिका र क्यानडामा ठगी,  दुई भारतीयसहित १३ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार ०६:५६:००

सूचना प्रविधिमार्फत नेपालबाट अमेरिका र क्यानडामा ठगी गर्दै आएको समूह पक्राउ परेको छ । दुई भारतीयसहित १३ जनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीहरूले अमेरिका तथा क्यानडामा रहेका नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई उनीहरूको बैंक खाताबाट पैसा ट्रान्सफर गरी ठगी गरेका हुन् । धुम्बाराहीस्थित अर्बिट नेक्सस प्रालि नामक कम्पनीमार्फत यस्तो ठगी हुँदै आएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए । 

गिरोहका नाइकेमा अर्बिट नेक्ससका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरू निसान खैरे र मनीष तिवारी छन् । सो कम्पनीमा काम गर्ने आमिन खड्का, करण गुरुङ, अनोज लामा, आरुषी राई, युबिना तामाङ, सपना मग्राती, टीका राउत, सुनिता राउत र सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । आइटीसम्बन्धी काम गर्ने भनेर सो कम्पनी स्थापना भएकोमा उनीहरूले ठगीको काम गर्दै आएका थिए । 

ब्युरो स्रोतका अनुसार उनीहरूले धेरैजसो बढी उमेरका व्यक्तिहरूलाई त्यसरी ठगी गरेका थिए । बढी उमेरका व्यक्तिमा सूचना प्रविधिको ज्ञान कम हुने भएकाले उनीहरूको कम्प्युटरमा अनधिकृत रूपमा पहुँच पुर्‍याई माइक्रोसफ्टको नाममा विभिन्न सन्देश दिई फोन गर्न लगाउँथे । त्यसरी गरेको फोन भिओआइपी प्रविधिमार्फत नेपालमा आउँथे । 

अर्बिट नेक्सस प्रालिमा कामदारले उनीहरूले विभिन्न झुटो निर्देशन दिई उनीहरूको बैंक अकाउन्टसम्म पहुँच पुर्‍याएर पैसा ट्रान्सफर गरी ठगी गरेको प्रहरीले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न भएकाले विस्तृत अनुसन्धान हुने एसएसपी अर्यालले बताए । पक्राउ परेकाउपर ब्युरोले विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ ।