१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सात लाखको मेसिन नचलेरै खिया लाग्यो, तीन लाखको ऊन कुहिने अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२९:oo

दुई वर्षअघिको अन्तिम समीक्षामा घरेलु तथा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय, नारायण नगरपालिका दैलेखले महिलाहरूलाई उद्यमसँग जोड्ने अभियानअन्तर्गत कर्णाली प्रदेशमै पहिलो पटक सबैभन्दा ठूलो मेसिन दैलेखमा ल्याएको भनेर प्रगती प्रतिवेदन सार्वजनिक गर्‍यो। मेसिन ल्याउनकै लागि लाखौँ रकम खर्च देखाएको घरेलु कार्यालयले त्यसपछि मेसिन चलाउनेबारेमा चासो दिएन। तीन वर्षअघि मेसिन खरिदका लागि सात लाख खर्च भयो। केही दिनमा मेसिन चल्छ भनियो। आजभोलि भन्दाभन्दै तीन वर्ष पूरा भयो। मेसिनमा खिया लाग्यो, धागो कुहिने अवस्थामा पुग्यो, तर मेसिन चलेन।महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले तीन वर्षअघि ल्याएको अत्याधुनिक कपडा बुन्ने मेसिन नचलेरै खिया लाग्ने अवस्थामा पुगेपछि उद्यमीका नाममा खर्च भएको रकमका बारेमा अहिले चर्चा सुरु भएको छ। सदरमुकामभित्रै गरिएको लगानी यसरी खेर गएपछि गाउँमा गरिएका लगानी के भए होलान् भन्ने स्थानीय महिला उद्यमी खगिसराको गुनासो छ।

प्रतिघन्टा आठ मिटर कपडा बुन्न सक्ने मेसिन विद्युत्बाट सञ्चालन हुन्छ। सामूहिक रूपमा यो मेसिनको सुरुवात गर्ने, सबैलाई तालिम दिने र तालिम लिएका महिलाहरूलाई कपडा बुन्न सिकाउने र आम्दानीको बाटो खोल्ने उद्देश्य राखिएको भए पनि मेसिन नचलेरै कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगेको छ। संविधानसभा सदस्य भरतकुमारी रेग्मीको पहलमा स्थानीय गणेश चोकका महिलाहरूलाई खाली समयमा उद्यममा आकर्षित गराउने र आम्दानी गर्ने सजिलो बाटो पहिल्याउने उद्देश्यले विभिन्न निकायहरूसँग पहल गरेर उक्त मेसिन ल्याइएको थियो। मेसिन आए पनि धागो बिस्तार गर्ने ड्रमको व्यवस्थापन नभएपछि मेसिन थन्किएको छ।

तीन लाख पर्ने उक्त ड्रमको व्यवस्थापन न घरेलु कार्यालयले गरिदियो, न नारायण नगरपालिकाले, न त वडाले नै गर्‍यो। गणेश चोकमा बस्ने वडा नं. ६ र ७ का महिलाहरूलाई उद्यमी बनाउने भनेर मेसिन ल्याइएको थियो। दुईवटा वडाको साँध भएकाले दुईवटा वडाले पहले गरेको भए पनि मेसिन सञ्चालन हुने थियो। तर, वडाहरूसमेतले उद्यमीलाई भन्दा डोजरलाई नै बढी महत्त्व दिएको स्थानीय महिलाहरूको गुनासो छ।

‘अलिकति कमिसन आउनेजस्तो अवस्था भएको भए काम हुन्थ्यो होला ! मैले त गणेश चोकमा रहेका बेरोजगार महिलाहरूका लागि रोजगारी सिर्जना गर्ने र गणेश चोकलाई उद्यमी महिलाहरूको हब बनाउने उद्देश्य राखेर अभियान थालेको थिएँ। सामान्य सहयोग पनि नपाएपछि मेसिन थन्किएको छ,’ संविधानसभा सदस्य भरत रेग्मीले गुनासो गरिन्। राम्रो मनसाय राखेर काम गर्ने अवस्था नरहेको उनको अनुभव छ।
 
मेसिन सञ्चालन गर्ने वा कबाडीमा बेच्ने ? नारायण नगरपालिका, वडा नं. ६ र ७ तथा घरेलु तथा उद्योग उपभोक्ता कार्यालय दैलेखलाई यतिवेला चुनौती थपिएको छ।

ad
ad