निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नवीन अर्याल काठमाडौं
२०७९ असार २ बिहीबार ०६:२६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुराना जहाज किन्ने अवधि घटाइने

सुगममा उड्ने १० वर्ष र दुर्गममा उड्ने जहाज १५ वर्ष पुरानोसम्म किन्न पाउने व्यवस्था गरिँदै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७९ असार २ बिहीबार ०६:२६:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुराना जहाज खरिद गरेर उडाउन पाउने अवधि पाँच वर्ष घटाउने तयारी गरेको छ । अहिले सुगम क्षेत्रमा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने नन्प्रेसराइज जहाज २० वर्षसम्म पुराना किन्न पाउने व्यवस्था छ । अब पाँच वर्ष समय घटाएर सुगममा उड्ने जहाज १० वर्ष र दुर्गम उडान गर्ने जहाज १५ वर्षसम्म पुरानो खरिद गर्न पाउने व्यवस्था गर्न लागिएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए । बुधबार प्रतिनिधिसभामा पुराना जहाजका कारण दुर्घटना बढेको भन्ने सांसदहरूको प्रश्नको जवाफ दिँदै आलेले यस्तो जानकारी दिएका हुन् । ‘ब्रान्ड न्यु’ जहाज खरिद गर्न धेरै महँगो हुने भएकाले वायुसेवा कम्पनीहरूले पुराना जहाज किनेर ल्याउने गरेका छन् ।

नयाँभन्दा पुराना जहाजको मूल्य आधाभन्दा कम पर्ने भएकाले नेपालका अधिकांश जहाज पुरानै ल्याइएको छ । जहाजको पार्टपुर्जा निश्चित अवधिभित्रै परिवर्तन गरिने र नियमित मर्मत–सम्भार हुने कारण जहाज निश्चित समयमा मात्र पुरानो हुने मन्त्री आलेले सांसदहरूलाई जानकारी गराए । उनले भने, ‘जहाजको दर्ता पुरानो हुन सक्छ, तर जहाज बुढो हुन सक्दैन । जहाज निर्माता कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर पार्टपुर्जाको निश्चित आयु तोकेको हुन्छ ।’ पार्टपुर्जा फेर्ने र मर्मत–सम्भार गरेपछि जहाज बुढो नहुने उड्डयनविज्ञ बताउँछन् । विश्वमा भइरहेका हवाई दुर्घटनाको अध्ययन रिपोर्टले पनि जहाज बुढो नहुने देखाएको छ । 

 जहाजको उमेर र दुर्घटनाबीच कुनै सम्बन्ध हुँदैन
नेपालका हरेकजसो हवाई दुर्घटनामा पुरानो र थोत्रो जहाज उडाएको भन्दै प्रश्न उठाइन्छ । मन्त्री, नेता, सांसददेखि सर्वसाधारणसम्मले जहाजको आयुलाई लिएर बहसमै उत्रिन्छन् । तर, जहाज पुरानो र थोत्रो भएकै कारण दुर्घटना भयो भन्नु गलत बुझाइ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । जहाजको दर्ता पुरानो हुन सक्छ, तर बुढो भएको भन्न मिल्दैन । ‘संसारको जुनसुकै ठाउँमा भएका हवाई दुर्घटनामा जहाजको उमेर र दुर्घटनाबीच कुनै सम्बन्ध रहेको देखिँदैन’ उनले भने, ‘बरु त्यो जहाज उडानयोग्य छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

संसारको जुनसुकै ठाउँमा भएका हवाई दुर्घटनामा जहाजको उमेर र दुर्घटनाबीच कुनै सम्बन्ध रहेको देखिँदैन । जहाज पुरानो र थोत्रो भएकै कारण दुर्घटना भयो भन्न मिल्दैन । बरु त्यो जहाज उडानयोग्य छ कि छैन भन्नेचाहिँ महत्वपूर्ण हो । सञ्जीव गौतम,पूर्वमहानिर्देशक, क्यान

 

संसारभर भएका हवाई दुर्घटनाको अध्ययन रिपोर्टहरूले पनि जहाज पुरानो भएकै कारण दुर्घटना भएको निष्कर्ष नआएको गौतमको भनाइ छ । बरु हवाई दुर्घटनाको रेकर्ड हेर्दा पुराना जहाजको तुलनामा भर्खरै बनेका नयाँ जहाज बढी दुर्घटनामा परेको देखिन्छ । जहाज दुर्घटनामा मानवीय त्रुटि, मौसममा गडबडी, पाइलटलाई तालिमको अभावलगायतका कारण भेटिएका छन् । वायुयान निर्माता कम्पनीले जहाजका प्रत्येक पार्टपुर्जाको निश्चित आयु तोकेको हुन्छ । सम्बन्धित वायुसेवा कम्पनीका इन्जिनियरले जहाजका पार्टपुर्जाको नियमित अनुगमन निरीक्षण गर्छन् । आयु सकिएको वा बिग्रिएको पार्टपुर्जा मर्मत वा परिवर्तन नै गरिन्छ । जहाजको नियमित परीक्षण र मर्मत–सम्भार भए नभएको क्यानका इन्जिनियरले छड्के अनुगमन गर्छन् । यदि जहाज निर्माता कम्पनीले दिएको प्रोटोकलअनुसार जहाजको नियमित मर्मत–सम्भार र पार्टपुर्जा फेरबदल नगरेको भेटिए क्यानले कारबाही गर्ने गर्छ ।

 निजगढ बनाउन प्रतिबद्ध 
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो हवाई यात्रु थेग्न विकल्पका रूपमा निजगढ विमानस्थल बनाउनैपर्ने आवश्यकता रहेको उनले औँल्याए । हालै सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै अन्योलमा परेको विमानस्थल बनाउने र नबनाउने पक्ष–विपक्षमा बहस भइरहेको छ । तर, सर्वोच्चको पूर्ण फैसला अझै आएको छैन । 

निजगढ विमानस्थलको पहिलो चरण निर्माणका लागि एक खर्ब २० अर्ब रुपैयाँ लाग्ने मन्त्री आलेले बताए । तर, आगामी वर्षको बजेटमा २६ करोड मात्र विनियोजन गरिएकोमा उनको अर्थ मन्त्रालयप्रति असन्तुष्टि जनाए । ‘राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि २६ करोड रुपैयाँ बजेट ज्यादै न्यून हो’ उनले भने, ‘अर्थ मन्त्रालयले निजगढलाई बजेट थप गरिदिने आशा छ ।’ यो विमानस्थल निर्माण गर्नका लागि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सरकारलाई निर्देशन दिइसकेको छ । अहिलेसम्म आयोजनामा तीन अर्ब रुपैयाँ खर्च भइसकेको मन्त्री आलेले बताए । मन्त्री आलेले पर्यटन मन्त्रालयलाई दिने बजेट साढे १० अर्ब कटौती गरेको गुनासो पोखे । समग्र बजेटको आकार ९.८ प्रतिशतले बढ्दा पर्यटन मन्त्रालयको बजेट ठूलो मात्रामा कटौती हुँदा पूर्वाधार निर्माणदेखि पर्यटक भित्र्याउने कार्यक्रम प्रभावित हुने उनको जिकिर थियो ।