मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
पूर्णप्रसाद मिश्र काठमाडाैं
२०७९ असार १ बुधबार १०:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दरबार हाइस्कुल : भव्य भवन, विद्यार्थीको सिकाइस्तर कमजोर

Read Time : > 1 मिनेट
पूर्णप्रसाद मिश्र काठमाडाैं
२०७९ असार १ बुधबार १०:२२:००

भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिक सत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गरेकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी छन् । 

‘गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा सातबाट आठमा गयो, नाैमा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन,’ उनले भने। दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहेकी  सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उनका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् । 

विद्यालयकी निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिक सत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्छिन् । ‘परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन,’ उनले भनिन् । 

संघीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर, स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् ।

अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । संघीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका वेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र  अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

काठमाडौं महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय इकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष भएका हुन् ।  विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरीयताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउँछन् ।  निमित्त दिएको लामो सयमसम्म पनि उनलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निर्णय नहुँदा केही समस्या आएको उनले स्वीकार गरे । 

बटाला शिक्षक नियुक्त भएर आउँदा ०७० मा करिब ७० मात्र विद्यार्थी थिए । त्यसवेला औँलामा गन्न सकिने विद्यार्थी मात्र उत्तीर्ण हुने गरेको उनको स्मरणमा अझै ताजा छ । त्यसवेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उनको तर्क छ । करिब पाँच सय विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर, कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थी मात्र अटाउँछन् । अर्को सेक्सन बनाउनसमेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपरेको अध्यक्ष महर्जनले बताए । 

काठमाडौं महानगरपालिका– २७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भएलगत्तै विद्यालयको कमजोर गुणस्तरबारे धेरै गुनासा आएको बताउँछन् । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उनले सुनाए । रासस