
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक र झुट्टा भएको बताएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको वेला अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा भ्रामक र झुट्टा कुराको पछि नलाग्न आग्रह गरेका हुन् ।
उनले समय माग गरेर बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थसचिव र राजस्वसचिवको नेतृत्वमा टिम परिचालन हुने र अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोहीअनुसार काम गरिएको दाबी गरे ।
अर्थमन्त्री शर्माले कार्यसम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पटक-पटक दोहोर्याए । सरोकारवालाको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माले स्मरण गराए ।
उनले भने, ‘बजेट तर्जुमासम्बन्धी विषयलाई लिएर केही मिडियाहरूमा आएको समाचारको बारेमा माननीयज्यूहरूले उठाउनुभएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु । नेपाल सरकार कार्यसम्पादन नियमावली २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रहेर कार्यसम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु । बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रूपमा परिभाषित गरिएका प्रक्रियाहरू छन्। ती प्रक्रियाहरूअन्तर्गत रहेर बजेट निर्माण भएको हो । अहिले बजेट निर्माण गर्दा राजस्वको दरहरू परिवर्तन गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोलकल्पित एउटा झुट्टा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु ।’
सबै काम आधिकारिक रूपमा प्रक्रियागत ढंगले टुंग्याइएको उनले बताए । शर्माले राजस्व परिचालनबारे राजस्वसचिव र अर्थ परिचालनसम्बन्धी अर्थसचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताए ।