१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तामाकोसीमा नेपाली सेनाद्वारा विपत् र उद्धारसम्बन्धी अभ्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo

मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाहरूमा देखिने विपत् रोकथामका लागि नेपाली सेनाले दोलखाको तामाकोसी नदीमा उद्धारको अभ्यास गरेको छ। चरिकोटस्थित नेपाली सेनाको तारादल गणले आइतबार तामाकोसीमा एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास सञ्चालन गरेको हो।

लगातारको वर्षातका कारण उत्पन्न हुने विपतमा नागरिकको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको गणका गणपति प्रमुख सेनानी अनिल केसीले जानकारी दिए। गणपति केसीले विपतजन्य घटना जुनसुकै समयमा पनि घट्न सक्ने भएकाले नदी किनारका स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। 

सेनाले प्रतिकार्य अभ्यासमा बाढी पहिरोमा खोला तर्नुपर्दा डोरी र स्ट्रेचरको सहायताले उद्धार गर्ने विधि, नदी वा तालमा डुबेको पीडितको उद्धार गर्दा प्रयोग हुने हाइलाइन रेस्क्यु, रबरबोटको प्रयोग गरी पीडितको उद्धार गर्ने तरिका, इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु, फ्लिप डिलजस्ता विधिको प्रदर्शन गरेको थियो।

ग्रामीण तहमा घरेलु विधि सहज हुने भएकाले ड्रम, खाली बोतल, जर्किनजस्ता स्थानीय सामग्रीको प्रयोग गरी डुंगा बनाएर गरिने इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु उद्धारका निमित्त उपयुक्त हुने गणका सहसेनानी एवं फिल्ड कमान्डर ईश्वरराज काफ्लेले जानकारी दिए। यस विधिबाट नदी किनारका बासिन्दाले बगिरहेको मानिसको सहजै उद्धार गर्न सकिने उनले बताए। 

कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले प्रतिकूल मौसममा सजग रहन सबै नागरिकलाई आह्वान गरेका छन्। उनले विपतमा परेर उद्धार हुनुभन्दा जोगिन नै उपयुक्त हुने भन्दै त्यस्ता घटना परिहालेमा विपत् व्यवस्थापन समितिमा तत्काल जानकारी गराउन आग्रह गरेका छन्।

एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसकर्मी, स्काउटकर्मी र भीमेश्वर नगरका विपत् उद्धारकर्मीहरूको टोली सहभागी थिए । कार्यक्रमका सहभागीले विपतकाे समयमा सम्बद्ध सबै निकाय सक्रिय रहनुपर्नेमा जोड दिएका छन्। तारादल गणले दोलखामा विपतजन्य घटना रोकथामका लागि सचेतना कार्यक्रमदेखि अन्य थुप्रै अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको गणपति एवं प्रमुख सेनानी अनिल केसीले जानकारी दिए।

ad
ad