१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भोजराज भण्डारी नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ प्रजातिका नयाँ धानलाई मान्यता

Read Time : > 1 मिनेट
भोजराज भण्डारी, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo

सरकारले यस वर्ष नौ प्रजातिका नयाँ धानलाई मान्यता दिएको छ । तराईमा लगाइने ६ र पहाडमा लगाइने तीन नयाँ प्रजातिका धानलाई यस वर्ष मान्यता दिइएको कृषि अनुसन्धान केन्द्र ( नार्क)ले जनाएको छ । नार्कका अनुसन्धानकर्ता डा. उज्ज्वल कुशवाहका अनुसार तराई क्षेत्रका लागि गंगासागर १, गंगासागर २, हर्दिनाथ ५, राधा १४, घइयाँ ३ प्रजातिका धानलाई मान्यता दिएको छ । त्यस्तै, पहाडका लागि खुमल १२, खुमल १४ र खुमल १६ प्रजातिका नयाँ धानलाई सरकारले मान्यता दिएको हो ।

नयाँ प्रजातिको धान राष्ट्रिय बिउबिजन समितिबाट पास भइसकेको छ । बिउ गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यका अनुसार अघिल्लो वर्ष सीमित किसानहरूले परीक्षणका लागि यी धान उत्पादन गरिसकेका छन् । ‘केही सीमित किसानहरूले लगाउँदा सिफारिस भएको धान उत्कृष्ट देखिएको पाएका छौँ,’ आचार्यले भने, ‘त्यसैले यस वर्ष पनि देशका केही स्थानमा रोपिएका छन्, हावापानी र भूगोलअनुसारको उत्पादन राम्रो पाइयो र मान्यता दिएका हौँ ।’

अब मन्त्रिपरिषद्बाट पास भएर राजपत्रमा प्रकाशित भएपछि यी धानले औपचारिक मान्यता पाउने उनले जानकारी दिए ।नार्कअन्तर्गतको बिउ गुण नियन्त्रण केन्द्रले विभिन्न ठाउँ, भूगोल, हावापानीलगायतको अनुसन्धानपछि मात्र बिउलाई छान्ने र छुट्याउने काम गर्छ । त्यसबाट छानिएको धानलाई एउटा विशेष अनुसन्धान टिम बसेर समिति बनाइन्छ र सरकारलाई सिफारिस गरिन्छ । पहाडका लागि सिफारिस गरेको खुमल १२ र खुमल १४ प्रजातिका धानलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी राजपत्रमा समेत प्रकाशित भइसकेको आचार्यले बताए । ‘देशका विभिन्न अनुसन्धान केन्द्रबाट अनुसन्धान गरेपछि रिलिज गरेका छौँ, अब समितिबाट पनि पास भइसकेको छ, मन्त्रिपरिषद्बाट पास हुन्छ, राजपत्रमा प्रकाशित भएपछि यसले औपचारिक मान्यता पाउँछ,’ आचार्यले भने ।

उनका अनुसार गंगासागर १ र गंगासागर २ प्रजातिका धान भने तराईको मुख्य डुबान क्षेत्रलाई केन्द्रित गरिएको छ । तराई क्षेत्रमा धेरै नै पानी परेको वेला डुबान हुने, ढल्ने र छिटो उम्रिने हुँदा त्यस क्षेत्रलाई केन्द्रित गरेर यो प्रजातिको धान विकास गरिएको उनले बताए । यो धान प्रतिहेक्टर ३ दशमलव ३५ मेट्रिकटनसम्म उत्पादन हुने बताइएको छ । यसपटक तराईका विभिन्न जिल्लाहरूमा सीमित किसानहरूले गंगासागर १ र गंगासागर २ धान प्रयोगमा ल्याएका छन् ।

त्यस्तै, पहाडको हावापानीमा सुहाउने खुमल १२ र खुमल १४ धानलाई सरकारले राजपत्रमै उल्लेख गरिसकेको छ । खुमल १२ र खुमल १४ को उत्पादन ४ दशमलव दुई मेट्रिकटनसम्म हुने नार्कको भनाइ छ ।

यस प्रजातिको धान हल्का बास्नादारसँगै उत्पादनसमेत राम्रो हुने आचार्य बताउँछन् । त्यसैगरी, खुमल बासमती १६ लाई पनि सरकारले यस वर्ष रिलिज गरेको छ । मसिनो धान खान रुचाउनेहरूका लागि भने खुमल बासमती सिफारिस गरिएको आचार्यले बताए ।

हर्दिनाथ ५, हर्दिनाथ ६, राधा १४ लाई तराईका क्षेत्रहरूमा कम पानी भए पनि नढल्ने भएकाले तराईमा लगाउन सकिनेछ । नार्कका अनुसार यो धान प्रतिहेक्टर पाँच मेट्रिकटनसम्म उत्पादन हुन्छ । घइयाँ ३ लाई भने विशेष गरी तराईका सुक्खा भेगमा लगाउन सिफारिस गरिएको छ । ‘अहिले रैथाने घइयाँ धानहरू पाइँदैनन्, यताकता पाइए पनि उत्पादनमा ह्रास आउने हुँदा अनुसन्धानबाट घइयाँ ३ धान किसानका लागि सिफारिस गरिएको छ,’ आचार्यले भने ।

ad
ad