निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
सरिता मरासिनी
२०७९ जेठ २७ शुक्रबार १८:३२:००
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

हामी सचेत र सभ्य नागरिक कहिले बन्ने होला ?

Read Time : > 1 मिनेट
सरिता मरासिनी
२०७९ जेठ २७ शुक्रबार १८:३२:००

कामको सिलसिलामा गत सोमबार म कीर्तिपुरदेखि बानेश्वर जाँदै थिएँ। सधैँ हिँडिरहने सडकमा त्यसदिन मेरा आँखाले एउटा दृश्यलाई मात्रै नियालिरहेका थिए। स्कुटरमा यात्रा गर्दा सडक किनार र फुटपाथभरि थुपारिएका फोहोरका डंगुरलाई मेरा आँखाले पछ्याइरहेका थिए। हुन त काठमाडौंका सडकलाई फोहोरमुक्त देख्न कहिले नै पाइएको छ र ? संघीय राजधानीको मुख्य सहरभित्रका सडक किनारमा थुपारिएका फोहोरका थुप्रा अहिले गनिसाध्य छैन। जता गयो उतै फोहोरका थुप्रैथुप्रा, त्यो पनि मूल सडकको किनार र सडकपेटीमा। बटुवाका लागि बनाइएका फुटपाथमा फोहोरका डंगुर देख्दा मन चसक्क भयो।

जताततै फ्याँकिएका फोहोर देखेर मेरो मनमा दैनिकजसो अनेक प्रश्नहरू उब्जन्छन्। देखेर, पढेर र सुनेर सबै कुरा थाहा हुँदाहुँदै पनि हामी किन केही थाहा नपाएझैँ गर्छौं ? हामीले व्यक्तिगत रूपमा आफ्नोतर्फबाट केही गर्नुपर्दैन र ? हामी अरूलाई दोष त लगाउँछौँ, आफ्नो कर्तव्य किन बिर्सन्छौँ ? कि हामी नेपाली यस्तै हौँ भनेर देखाउन खोजेका हौँ ? हामी किन यति असभ्य भएछौँ ? हामी सचेत र सभ्य नागरिक कहिले बन्ने होला ? चिटिक्क परेर हिँड्दैमा मात्र सभ्य भइन्छ ? सभ्य नागरिक बन्नलाई त बानी व्यवहार पनि सभ्य हुनुपर्ने होइन र ?

हामी अरूलाई अर्ति दिन्छौँ, गाली गर्न पनि जानेका छौँ। तर हामीले आफ्नो घरभित्रबाट निस्कने फोहोर तह लगाउन जानेनौँ वा खोजेनौँ। घरबाट निस्किएको फोहोर सडकमा यत्रतत्र फ्याँकिदिन्छौँ। थोरै समय छुट्याएर फोहोरलाई वर्गीकरण गर्न सक्दैनौँ। घरबाट सीधै सडकमा मिल्काउन हामीलाई सजिलो लाग्छ। देशको राजधानीमा बसोबास गर्ने र हेर्दा सुकिला मुकिला देखिने हाम्रो चेतना र बुद्धि यही स्तरको हो र ? होइन भने हामी आफू हिँड्ने सडक र पेटीमा किन फोहोर फ्याँक्दै छौँ ?

कसैले नजानेर फोहोर सडकमा फ्याँकेको पक्कै होइन। फोहोरलाई कसरी व्यवस्थापन गर्ने ? धेरैलाई ज्ञान हुँदाहुँदै पनि बेवास्ता गरिरहेका छन्। रातमा कसैले थाहा नपाउने गरी सडकमा फोहोर फ्याँकिदिन्छौँ हामी। आफ्नो घरभित्रको फोहोर सडकमा फ्याँकेर हामी फोहोरबाट उम्किएको ठान्छौँ होला। तर, घरबाट बाहिर निस्किएपछि त्यो फोहोर आफैँलाई चाहिँ गन्हाउँदैन र ? अझ ठूलो कुरा त यसले समग्र सहरवासीसहित आफ्नै स्वास्थ्यमा पनि असर गर्छ भन्ने सामान्य ज्ञान पनि छैन त हामीमा ?

२४ वर्ष भयो म काठमाडौं बसेको। मैले अहिलेसम्म सार्वजनिक स्थलमा फोहोर फ्याँकेकी छैन। नगरपालिकाको गाडी आएन भनेर मैले सडक वा खोलामा कहिल्यै फोहोर फ्याँकिनँ। कहिले काहीँ लाग्छ नगरपालिकाको गाडी किन आएन ? तर, कहिल्यै लागेन फोहोर सडक–खोलामा फ्याँकिदिऊँ।

अहिले काठमाडौं महानगरको फोहोर व्यवस्थापन महाभारतजस्तो भइसकेको छ। सहरवासीलाई घरभित्रको फोहोर कहाँ फाल्ने तनाव पनि भइरहेको होला। धेरैले सडकमै फोहोर थुपारेका पनि छन्। तर मैलेचाहिँ अहिलेसम्म फोहोर व्यवस्थापनमा समस्या झेलेकी छैन। किनकि मैले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्छु। कुहिने फोहोर कौसीमा रहेका बोटविरुवामा प्रयोग गर्छु भने नकुहिने फोहोर प्लास्टिक वा बोरामा बाँधेर राख्छु। त्यसरी राखेको फोहोर गन्हाउने सम्भावना कम हुन्छ। बाँधेर राखेको फोहोर घरको कम्पाउन्डमा होल्ड गर्न पनि सकिन्छ वा कोठाबाहिरको स्पेसमा पनि राख्न सकिन्छ। भाडामा बस्ने सबैलाई यो सम्भव नहुन पनि सक्छ।