नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई बुधबारसम्म २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
निगमले गत साता पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।