१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : पुलिस सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

नेपाल पुलिस क्लबले चौथो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी  क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ । खेलको ३५औँ मिनेटमा मनाङको डिबक्समा दिनेश राजवंशीले बल क्लियर गर्न नसक्दा पुलिसका भरत साहले गोल गरे । भरतको एक मात्र गोल नै पुलिसका लागि निर्णायक बन्यो । खेलको पहिलो हाफमा मनाङलाई पुलिसले निकै दबाबमा राख्यो । पुलिसले डिफेन्स बलियो बनाएको थियो । मनाङले बराबरी गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ४०औँ मिनेटमा पुलिसका खेलाडी डिबक्सभित्र गल्ती गर्दा मनाङले पेनाल्टी पायो । तर, मनाङले पेनाल्टीमा गोल गर्न सकेन ।मनाङका कप्तान अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाए । दोस्रो हाफमा रणनीति परिवर्तनका साथ मैदानमा उत्रिएको मनाङले आधा दर्जन गोलको अवसर गुमायो । 

खेलको ५६औँ मिनेटमा मनाङका सुजल श्रेष्ठले दोस्रो बारनजिकबाट प्रहार गरेको हेडिङ पुलिसका गोलरक्षक शत्रुधनले सहज बचाउ गरे । ६५औँ मिनेटमा मनाङले डिबक्सनजिकबाट पाएको फ्रिकिकमा विशाल राईले गोल गर्न सकेनन् । 

पुलिसलाई तीनवटा रेड कार्ड
नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक र दुई खेलाडीले रेड कार्ड पाए । खेलमा निर्णायक र सहायक निर्णायकको निर्णयमाथि असहमति जनाउँदै मैदान प्रवेश गर्न खोजेपछि पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापाले रातो कार्ड पाएका पाएका हुन् । रातो कार्ड पाउनुअघि फोर्थ अफिसियलले थापालाई बारम्बार सचेत गराएका थिए ।

खेलको अन्तिम समयमा मैदान प्रवेशका लागि वार्मअपमा रहेका हेमन्त श्रेष्ठले पनि सहायक निर्णायकप्रति आक्रोश व्यक्त गरेका थिए । त्यसपछि उनले रातो कार्ड पाए । अतिरिक्त समयमा पुलिसका हेम तामाङले पनि रातो कार्ड पाए । हेमले मनाङका अञ्जन विष्टमाथि हातपात गरेका थिए । 

 प्रशिक्षकलाई रेड कार्ड दिने निर्णय गलत
अनन्त थापा, प्रशिक्षक, पुलिस

पुलिसका प्रशिक्षक अनन्त थापाले खेलमा सही निर्णय नभएको बताए । खेलपछि आयोजित पोस्ट म्याच कन्फरेन्समा उनले सहायक रेफ्रीको निर्णय पटकपटक गलत भएको बताए । ‘हामीले खेल जित्यौँ, त्यो हाम्रो खेलाडीको मिहिनेत थियो,’ उनले भने, ‘तर सहायक रेफ्रीको निर्णय पटक–पटक गलत थियो, त्यसबारे बोल्दा मैले रातो कार्ड पाएँ ।’ उनले मनाङलाई हराउनका लागि पुलिसले बनाएका रणनीति सफल भएको र सेमिफाइनलमा अझ बढी सुधारिएको खेल हुने दाबी गरे ।

 खेलाडी तनावमा  हुँदा पराजित भयौँ
राजेन्द्र तामाङ, प्रशिक्षक, मनाङ

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडी तनावमा हुँदा पराजित भएको प्रतिक्रिया दिए । पोस्ट म्याच कन्फरेन्समा उनले राष्ट्रिय टोलीबाट निकालिएका खेलाडी तनावमा हुँदा खेल राम्रो हुन नसकेको बताए । ‘खेलमा मिहिनेत थियो, तर मुख्य आस गरिएका खेलाडीहरू तनावमै थिए । त्यसैले पराजित हुन पुग्यौँ,’ उनले भने, ‘केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्नु पनि हाम्रो कमजोरी हो ।’