१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार १२:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा पहिलोपटक रुखउन्यु फेला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १२:o४:oo

जैविक विविधता र सम्पदाले भरिपूर्ण कर्णालीमा दुर्लभ वनस्पति रुखउन्यु फेला परेको छ । कर्णाली प्रदेशको सल्यानमा साइथिया स्पाइनुलोसा नामक रुखउन्यु फेला परेको हो । सल्यानको दार्मा गाउँपालिका– ३ स्थित रानीवन सामुदायिक वन र कपुरकोट गाउँपालिका– ४ मा रहेको कालिका सामुदायिक वन रुखउन्यु भेटिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ ।

स्थानीय नेत्रलाल घर्तीले उक्त वनस्पतिको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि वातावरणविद् जीवन शर्मा, कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल र प्राकृतिक स्रोत व्यवस्थापन अध्ययनरत टोपेन्द्र गिरीको टोलीले वैशाख ७ गते दार्मामा स्थलगत अवलोकन गरेका थियो। 

टोलीद्वारा संकलित नमुना, फोटोग्राफ र प्रत्यक्ष अध्ययनको आधारमा उक्त वनस्पति साइथिया स्पाइनुलोसा भएको पुष्टि गरिएको थियो ।  नेपालमा यो प्रजाति प्रायः पूर्वी र मध्यक्षेत्रका चिस्यानयुक्त वन क्षेत्रमा पाइँदै आएको छ । तर, पश्चिम नेपाल तथा विशेष रूपमा कर्णाली प्रदेशमा यो पहिलोपटक अभिलेख गरिएको हो । यसले पश्चिम नेपालमा यस प्रजातिको सम्भावित वितरण क्षेत्रको संकेत गरेको विज्ञहरूको भनाइ छ ।

नेपालमा पाइने साइथियाका चार प्रजाति सूचीकृत छन्, जसमध्ये दुई संकटासन्न, एक दुर्लभ र एक लोपोन्मुख अवस्थामा छन् ।  यद्यपि, साइथिया स्पाइनुलोसालाई भने यसको उपस्थिति र फैलावटको आधारमा ‘कम चासो’को प्रजाति मानिने वनस्पति अनुसन्धान केन्द्र, सल्यानका प्रमुख डा. मित्र पाठकले बताए । 

विभिन्न देशहरूले यसलाई दुर्लभ, संकटापन्न वा ‘कम चासो’को सूचीमा राखेको उनको भनाइ छ । उनका अनुसार  नेपालमा यसअघि यो ७५० देखि दुई हजार मिटरको उचाइमा पूर्व र मध्यनेपालमा मात्र पाइने उल्लेख थियो । ताइवानमा भने यो तीन सयदेखि दुई हजार पाँच सय  मिटरको उचाइमा घना जंगलमा पाइन्छ । सल्यानको यो खोजले यसको वितरण पूर्व र मध्यनेपालबाट पश्चिम नेपालसम्म विस्तार भएको पुष्टि गरेको छ ।

‘काँडेदार फर्न रुख’ भनेर पनि चिनिने साइथिया स्पाइनुलोसाका विभिन्न परम्परागत प्रयोगहरू छन्  । यसलाई छाला, मिर्गौला, आँखाको संक्रमण, क्यान्सर, मधुमेह र क्षयरोगको उपचारमा परम्परागत औषधिको रूपमा प्रयोग गरिन्छ । डाक्टर पाठकले भने, ‘यसका पातहरू अचार र तरकारीका लागि प्रयोग हुन्छन् भने डाँठको गुदी खानयोग्य हुन्छ । यो सजावटी बोटका रूपमा पनि लोकप्रिय छ ।’