
एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा अन्तिम प्रशिक्षण गरेको छ । नेपालले तीन मैत्रीपूर्ण अभ्यास खेलमा दुई बराबरी तथा एक हार सामना गर्यो ।
नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा एसियन कप छनोट प्रतियोगिताको अन्तिम चरणको तयारी पूरा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटमा युवा खेलाडीलाई समेट्दै टोली घोषणा गरेका थिए । उनले सिनियर नियमित ११ खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई प्राथमिकतामा राखेका हुन् । नेपाली आर्मीका नवयुग श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले कतारमा अन्तिम चरणको प्रशिक्षण सकेको छ ।
नेपाली टोली छनोट खेल्नका लागि कुवेत जाँदै छ । कतारको गर्मी तथा वातावरणसँग घुलमेल हुन नेपाली टोलीले कतारमा दश दिनको प्रशिक्षण गरेको छ । दशरथ रंगशालामा करिब दुई साताको बन्द प्रशिक्षणपछि नेपाली टोली ११ जेठमा एसियन कपको अन्तिम तयारीका लागि कतार गएको थियो ।
नेपालले तीनवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्यो । नेपालले तीनमध्ये दुई खेल बराबरी तथा एकमा हारको सामना गर्यो । पहिलो अभ्यास खेलमा नेपालको सिनियर टोली टिमोर लेस्टको यू–२३ सँग २–२ को बराबरीमा रोकिएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग १–१ को बराबरीको नतिजा निकाल्यो । शुक्रबार अन्तिम अभ्यास खेलमा ओमानसँग नेपाल २–० ले पराजित भयो ।
नेपाली टोलीका कुनै पनि खेलाडी अभ्यास खेलका क्रममा घाइते भएका छैनन् । सबै खेलाडी फिट रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ । कुवेतमा नेपाली टोलीको वास्तविक परीक्षा हुनेछ । यसपटक अन्तर्राष्ट्रिय खेलमा कमै अनुभव बटुलेका खेलाडी टोलीमा छन् । नियमित कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूसहित अन्य सिनियर खेलाडी टोलीमा नअटाउँदा नेपालले छनोट खेलमा कडा परिश्रम गर्नुपर्छ ।
यद्यपि प्रशिक्षक अलमुताइरीले सिनियर खेलाडी प्रशिक्षणमा रहँदाको अवस्थामै नेपाल एसियन कपमा छनोट हुन नसक्ने जनाएका थिए । नेपालको फुटबल योजना कमजोर हुँदा एसियन कप छनोट प्रतियोगितामा छनोट हुन नसक्ने प्रशिक्षक अलमुताइरीले बताएका थिए । यद्यपि कुवेतमा नेपाली टोलीले जितका लागि प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।
यसपटकको नेपाली टोलीमा छनोट भएका तीनजना गोलरक्षकले अन्तर्राष्ट्रिय खेल नै खेलेका छैनन् । दीप कार्की, विशाल सुनार र टिकेन्दर थापा पहिलोपटक राष्ट्रिय टोलीमा बोलाइएका हुन् । शिव गुरुङ, विकास तामाङ, निरकुमार राई र रोशन राना मगर पनि पहिलोपटक नै राष्ट्रिय टोलीमा परेका हुन् ।
एसियन कप छनोटको समूह एमा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता एसियन कपमा छनोट हुनेछ । एसियन कप छनोटको ड्र निकालिँदा नेपाल कठिन समूहमा पर्यो । एसियाकै पावर हाउस मानिने जोर्डनसँग नेपालले २५ जेठमा खेल्नेछ । नेपालले आफ्नो फुटबल इतिहासमा जोर्डनलाई हराउन सकेको छैन । समूहकै अर्को बलियो टोली तथा आयोजक राष्ट्र कुवेतसँग नेपालले २८ जेठमा खेल्नेछ । नेपाले अन्तिम खेल इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।