१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
डुकादेवीको भत्कन लागेको घर, बुबाआमासँग डुकादेवी दर्जी (बीचमा) । तस्बिर : नयाँ पत्रिका
चिरञ्जीवी घिमिरे कानेपोखरी (मोरङ)
२o८१ जेठ ५ शनिबार o८:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अन्यायको भारीले थिचिएको दर्जी परिवार

Read Time : > 4 मिनेट
चिरञ्जीवी घिमिरे, कानेपोखरी (मोरङ)
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o४:oo

जातीय रूपमा होच्याउँदै कुटपिट गर्दा डुकादेवी गम्भीर बिरामी भइन्, उपचारमा ६ लाख ऋण लाग्यो, अदालतले पीडकलाई सफाइ दियो, ऋणको पीडाले श्रीमान्ले आत्महत्या गरे

नेपाललाई ‘छुवाछुतमुक्त’ राष्ट्र घोषणा गरेको १६ वर्ष पुग्यो । छुवाछुत अन्त्यका लागि कानुन बन्यो । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शनिबार दलित संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरे । तर, ‘कोठे’ कार्यक्रम पीडितको घरसम्म पुग्न सकेको छैन । जातीय विभेदका कारण अहिले पनि दलित समुदायका धेरै पीडित दर्दनाक जीवन बाँच्न विवश छन् । मोरङ कानेपोखरी–६, चिस्याङको सुकुमबासी बस्तीकी डुकादेवी दर्जी त्यस्तै एउटा उदाहरण हुन् । 

जातीय विभेदसहित कुटपिटका कारण २६ वर्षीया डुकादेवीले मानसिक सन्तुलन गुमाइन् । गर्भमा रहेको चार महिनाको शिशु मात्रै होइन, श्रीमान् पनि गुमाइन् । उनलाई यो अवस्थामा पुर्‍याउनेहरू समाजमा खुलेर हिँडेका छन् । त्यसैले डुकादेवीले न्यायको आशा पनि मारिसकेकी छिन् । ३१ वैशाख ०७८ मा उनीमाथि जातीय विभेदसहित कुटपिट भएको थियो । छिमेकी पुष्पा, नीरमाया, बिन्दमाया र बबिता मगरको कुटाइबाट करिब तीन महिना होस नै आएन । होस आउँदा उनको गर्भमा रहेको चार महिनाको शिशु गुमिसकेको थियो । उनी थप मानसिक दबाबमा परिन् । ‘तीन महिना अस्पताल राखेपछि होस त आयो, तर ठेगानको कुरा नै गरिनन्,’ बुबा हर्कबहादुर भन्छन्, ‘हिजोआज पनि दबाई खाइन्जेल ठीकै जस्तो हुन्छे, नखाँदा सम्हाल्नै गाह्रो छ ।’ 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो उपचारपछि उनी घर फर्किन् । तर, सामान्य बन्न सकिनन् । जातीय रूपमा होच्याउने गालीगलौजसहित कुटपिट गरेकाले अधिकारकर्मीसहितको पहलमा इलाका प्रहरी कार्यालय पथरीमा जातीय विभेद तथा छुवाछुतविरुद्ध मुद्दा पर्‍यो । तर, मुद्दा अदालत पुग्दा डुकादेवी झन् अन्यायमा परिन् । २३ चैतमा जिल्ला अदालत मोरङले सबै प्रतिवादीलाई सफाइ दियो । जिल्ला अदालतले सामान्य कुटपिट मात्र भएको भन्दै जातीय छुवाछुत र भेदभाव नभएको निष्कर्ष निकाल्यो ।

एकातिर न्याय नपाएको पीडा, अर्कोतिर उपचारमा लागेको लाखौँ ऋणको भारीले डुकादेवीको मानसिक स्वास्थ्य थप खस्कियो । उनको उपचारमा लागेको पाँच लाख ६५ हजार ९१३ रुपैयाँ ऋण अझै तिर्न बाँकी छ । चिस्याङ खोलामा गिी कुटेर गुजारा चलाउने सुकुमबासी परिवारसँग ऋण तिर्ने सामथ्र्य थिएन । ऋणको बोझ थेग्न नसक्दा र पटक–पटक अन्यायको सिकार हुनुपर्दा निराश डुकादेवीका श्रीमान् उमेश तामाङले ११ वैशाखमा आत्महत्या गरे । ‘ऋणले परिवार नै तनावमा थियो । अदालतबाट पनि न्याय नपाएपछि ज्वाइँ निकै तनावमा हुनुहुन्थ्यो,’ डुकादेवीकी आमा देवीमाया भन्छिन्, ‘केही दिनदेखि अत्यधिक रक्सी पिउन थाल्नुभएको थियो । छोरी पनि उपचार गर्दाको ऋण तिर्छु भनेर काम खोज्न इटहरीतिर गएकी थिई । ज्वाइँले त आत्महत्या गर्नुभएछ ।’ यसपछि त डुकादेवीसँग टुट्न बाँकी केही रहेन । 

यसरी भएको थियो हिंसा
डुकादेवी र झापा अर्जुनधाराका उमेश तामाङले अन्तरजातीय विवाह गरेका थिए । तर, उमेशको परिवारबाटै विभेद सुरु भयो । ‘सानो जातसँग बिहे गरेको भएर होला ज्वाइँको परिवारले खासै स्वीकार गरेनन्,’ बुबा हर्कबहादुर भन्छन्, ‘खोलाछेउमा सुकुमबासी बस्तीमा जग्गा थियो । छोरीज्वाइँलाई यहीँ छाप्रो हालेर राखेँ । ज्वाइँ पनि मजदुरी गर्नुहुन्थ्यो ।’ डुकादेवीकी आमा देवीमायाका अनुसार ३१ वैशाख ०७८ मा बिग्रिएको मोबाइल बनाउन डुकादेवी छिमेकी बहिनीको घर गएकी थिइन् । तर, मोबाइल बनेन । मोबाइल बिग्रिएकाले चिन्तित डुकादेवी घर फर्किंदै गर्दा आफैँसँग रिसाउँदै भुटभुटिँदै हिँडेकी थिइन् । त्यो देखेर छिमेकी पुष्पाका छोरा डराएर भागे । त्यसपछि पुष्पासहित नीरमाया, बिन्दमाया र बबिता मगरले जातीय रूपमा होच्याउने गालीगलौज गर्दै निर्घात कुटपिट गरे । ‘अबचाहिँ मरिसकिछे भनेर आँगनमा बेहोस पारेर छाडेछन्,’ आमा देवीमाया भन्छिन्, ‘धन्न छोरीचाहिँ बाँची ।’ 

फितलो अनुसन्धान, कमजोर मुद्दा
कुटपिटपछि कहाँ जाने उनीहरूलाई थाहा थिएन । दलित अभियन्ताको सहयोगमा ३ असार ०७८ मा इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिए । ‘मूलतः डुकादेवीमाथि जातीय विभेद नै भएको हो । दलित, गरिबले केही गर्न सक्दैनन् भनेर कुटपिट भयो,’ यो मुद्दामा सुरुदेखि नै लागिपरेकी अधिकारकर्मी तथा कानेपोखरी–६ की वडासदस्य दुर्गा नेपाली भन्छिन्, ‘मसहित इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी लिएर गयौँ । जातीय विभेद अंगभंगमा जाहेरी हाल्ने सोच थियो । तर, मानसिक सन्तुलन बिग्रिएकालाई अंगभंग भन्दैन रहेछ । जातीय विभेदमा मात्र हाल्यौँ ।’ जातीय विभेदमा जाहेरी दिन निकै मुस्किल परेको उनी बताउँछिन् । ‘जातीय विभेदमा जाहेरी त तयार पर्‍यौँ, तर प्रहरी दर्ता गर्छु पनि भन्छ तर दर्ता गर्दैन । बल्लतल्ल दर्ताचाहिँ भयो,’ नेपाली भन्छिन्, ‘कुनै न कुनै पक्षबाट अनुसन्धान कमजोर भयो । त्यही कारण प्रतिवादीले सफाइ पाए ।’

दलित अधिकारकर्मी अधिवक्ता जयराम सुन्दास डुकादेवीमाथिको कुटपिट जातीय विभेदकै कारण भएको दाबी गर्छन् । ‘दमाई भन्दै गालीगलौज भएको छ । मुख्य कुरा दलित भएकै कारण कुटिएको हो । यो घटना जातकै कारण भएको हो,’ उनी भन्छन् । प्रहरीले अनुसन्धान फितलो गर्दा र प्रमाण संकलनमा ध्यान नदिँदा मुद्दा कमजोर हुन पुगेको अधिवक्ता सुन्दास बताउँछन् । ‘प्रहरीले सुरुदेखि नै नकारात्मक भूमिका खेल्यो । ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा दर्ता गर्न खोज्दा जातीय भेदभाव तथा छुवाछुतमा मात्र गर्‍यो । प्रभावमा प्रहरीले मुद्दालाई कमजोर बनाएर प्रमाण नष्ट गर्न लाग्यो,’ सुन्दास भन्छन्, ‘जातीय रूपमा होच्याएर गाली गरेको प्रमाण के हुन्छ र ? गाली गर्दा रेकर्ड गर्ने कुरा पनि हुँदैन । दलितमाथि प्रहार गर्ने काम भयो ।’

ऋणको भारी छ, तिर्ने ल्याकत छैन
चार महिना लामो उपचारका क्रममा लाखौँ खर्च भयो । औषधिलगायत अन्य खर्च गरेर अझै पाँच लाख ६५ हजार ९१३ ऋण बाँकी छ । बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाहिर रहेको बिर्तामोड मेडिकल हलमा मात्र औषधिको चार लाख २७ हजार ४६७ रुपैयाँ बाँकी छ । त्यो वेलामा मुद्दा चल्दै गरेका कारण दलित अधिकारकर्मीले पहल गरेर पछि दिने सर्तमा अस्पतालले डिस्चार्ज दिएको थियो । परिवारको आस पनि अदालतसँग थियो । तर, अदालतले प्रतिवादीलाई सफाइ दिएपछि आशाको त्यान्द्रो पनि चुँटिएको छ ।

डुकादेवी आफैँ बिरामी छिन् । उनकी एक आठ वर्षीया छोरीलाई पालनपोषण गर्न पनि मुस्किल छ । बाँसको भाटाले बारेर बनाएको घरले बर्खाको पानी छेक्दैन । कमाएर खुवाउने श्रीमान्ले आत्महत्या गरे । अब ऋण तिर्ने अवस्था नै छैन । श्रीमान्को मृत्युपछि डुकादेवीप्रतिको दायित्व माइतीमा सरेको छ । माइती पनि गरिब छन् । बुबाआमा नै गिटी कुटेर परिवार चलाउँछन् । ‘अदालतप्रति एउटा आशा थियो, तर निराश भयौँ । त्यसपछि त सोधीखोजी पनि गरेको छैन । आस नै मरेपछि के सोधीखोजी गर्नु,’ आमा देवीमाया भन्छिन्, ‘अब त के गर्ने–गर्ने, हाम्रो त केही आस रहेन । ऋणचाहिँ तिर्न पाए ढुक्कको सास फेरिन्थ्यो कि !’ पीडकले त्यही समयमा देवीमायालाई उजुर–बाजुर नगर्नु उपचार खर्च दिन्छौँ भनेका थिए रे ! ‘मैले प्रहरीकहाँ पुगेर निवेदन दिएपछि निवेदन झिक उपचार गर्दिन्छौँ भन्थे । तर, मैले निवेदन दिइसकेको कुरा झिक्न मनले मानेन । बरू त्यसै गरेको भए पनि हुने,’ उनी भन्छिन्, ‘मलाई ठूलो केही जित्नु छैन । यही उपचार खर्च तिर्ने गरी जिताइदिएको भए पनि त हुन्थ्यो नि !’

श्रीमान्को मृत्युपछि फेरि डुकादेवी मानसिक रूपले कमजोर छिन् । औषधि खाँदा ठीकै कुरा गर्छिन् । औषधि नभएको वेला असन्तुलित हुने गरेको बुबा हर्कबहादुर बताउँछन् । औषधि नखाँदा निद्रै नलाग्ने डुकादेवी बताउँछिन् । ‘औषधि खाइनँ भने त रातभर निद्रा लाग्दैन । औषधि खाएपछि मात्र निदाउँछु,’ डुकादेवीले नयाँ पत्रिकासँग भनिन्, ‘खुट्टा साह्रै झमझम गर्छ । सधैँ औषधि किन्ने पैसा हुँदैन । औषधि नखाएको वेला त गाह्रो हुन्छ ।’

आमा देवीमायाका अनुसार डुकादेवी अनावश्यक झगडा गर्छिन् । एकैछिन एक ठाउँमा बस्दिनन् । ‘झगडा गर्छे । कहिलेकाहीँ त चिथोर्न नै आइपुग्छे । घरमा एकैछिन बस्दिन । रातभर सुत्दिन । घरिघरि यत्रो ऋण छ, श्रीमान्को जस्तै गरूँ कि क्या हो, ढुक्क त हुन्छ भन्छे । आमाको मन कस्तो हुन्छ त्यो वेला,’ उनी भन्छिन्, ‘अब त हामीले नसक्ने भइसक्यौँ । कतै संस्थातिर राख्नुपर्छ जस्तो भइसक्यो । अब कतैबाट पनि आशा रहेन ।’ राम्रो उपचार पाए डुकादेवी ठीक हुन्छिन् कि भन्ने परिवारको आशा छ । तर, उपचारका लागि परिवारसँग आर्थिक अभाव छ । 

ad
ad