निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०७:४३:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

रुस–युक्रेन युद्धले सिंगै विश्व प्रभावित

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०७:४३:००

रुस–युक्रेन युद्धको १०१ दिनसम्ममा हजारौँको ज्यान गएको छ । खर्बौँका भौतिक संरचना नष्ट भएको छ । युद्धको दुष्प्रभाव विश्वव्यापी र बहुआयामिक बन्दै छ । कतिसम्म भने कोभिड– १९ महामारीले भन्दा पनि ठूलो संकट निम्त्याउने त्रास बढेको छ । 

युक्रेनको राजधानी किभस्थित सैन्य अखडाहरूमा हवाई आक्रमण गरेर रुसले युक्रेनमाथि युद्ध सुरु गरेको सय दिन नाघेको छ । रुसले फेब्रुअरी २४ को बिहान सबेरैदेखि युक्रेनी सहरहरूमा सैन्य विमान एवं हेलिकोप्टरहरूबाट आक्रमण थालेको थियो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अहिलेसम्म रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको जनाएका छन् । रुस–युक्रेन युद्ध जति लम्बिँदै छ, युद्धका दुष्प्रभाव विश्वव्यापी र बहुआयामिक बन्दै गएको छ । रुस–युक्रेन युद्धको संकटले कोभिड–१९ महामारीले भन्दा पनि ठूलो संकट निम्त्याउने हो कि भन्ने त्रास छाउन थालेको छ । 

एक सय एक दिनमा के–के भयो ?
युद्ध थालेर हवाई तथा स्थल आक्रमणबाट केही दिनमै युक्रेनलाई कब्जामा लिन सकिने आकलनसहित ठूलो परिमाणमा सैन्य उपकरण लिएर रुसी सेना बेलारुसबाट युक्रेन छिरेको थियो । रुसी सेना ६० किलोमिटरभन्दा लामो लस्कर बनाएर राजधानी किभतर्फ अघि बढेको सेटेलाइट तस्बिरहरूमा देखिएको थियो । तर, युक्रेनी सेनाको कडा प्रतिकारका कारण रुसी सेना किभबाट २५ किलोमिटरअघि नै रोकिन बाध्य भयो । रुसले ठूलो संख्यामा सेना र सैन्य उपकरणहरूको क्षति व्यहोर्नुपर्‍यो । कमजोर बन्दोबस्तीका कारण पनि रुसले निकै क्षति व्यहोर्‍यो । युक्रेनी सेनाको प्रतिरोधमा रुसी सेनाका केही उच्चपदस्थ अधिकारीसमेत मारिन पुगे । अमेरिकालगायतका मुलुकले पठाएका ट्यांक तथा विमानभेदी हलुका र अचुक क्षेप्यास्त्रका कारण रुसी सेनाको गति रोकियो । किभकेन्द्रित आक्रमणबाट रुस पछि हट्न र सैन्य रणनीति परिवर्तन गर्न बाध्य भयो । 

युक्रेनी सेनाको मिसाइल प्रहारबाट ‘ब्ल्याक सी’स्थित आफ्नो सबैभन्दा प्रभावशाली लडाकु युद्धपोतसमेत गुमाउन पुगेपछि भने रुस केही हच्कियो । त्यसपछि उसले युक्रेन आक्रमणको नेतृत्व मात्रै परिवर्तन गरेन, आक्रमणको रणनीति पनि परिवर्तन गर्‍यो । कब्जा गरिएका चेर्निभ, खार्किभलगायतका युक्रेनी सहरबाट रुसी सेना पछि हटे र पूर्वी युक्रेनमा आक्रमण केन्द्रित हुन थाल्यो । रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनको मोर्चाबाट बिस्तारै अघि बढिरहेको छ । 

रुसतर्फ पनि ठूलो क्षति
मार्चपछि रुसले आफ्नो तर्फको क्षति सार्वजनिक गरेको छैन । यद्यपि, रुसी सेनातर्फ पनि निकै ठूलो क्षतिको आकलनहरू सार्वजनिक भइरहेका छन् । युक्रेनी सेनाका अनुसार उसले ९९ दिनमा रुसका ३० हजार आठ सय ५० सेना मारेको छ । दुई सय १० युद्धक विमान, एक सय ७५ हेलिकोप्टर, १,३६३ ट्यांक, १३ वटा पानीजहाज तथा डुंगालगायतलाई ध्वस्त पारेको छ । 

जर्मनी, अमेरिका, बेलायतलगायत पश्चिमा मुुलुकले युक्रेनी सेनालाई छरिता र प्रभावकारी हतियारहरू उपलब्ध गराइरहेका छन् । युक्रेनले उनीहरूबाट प्रभावकारी रणनीति र सञ्चार उपकरणहरूसमेत प्राप्त गरिरहेको छ । यसले युक्रेनको युद्ध लड्ने क्षमता घट्न दिइरहेको छैन । अहिलेसम्म युक्रेनलाई अमेरिकाले ११ खेप हतियार उपलब्ध गराइसकेको छ । अमेरिकाले पठाएको ७० करोड डलरबराबरको सैन्य सहायता केही दिनमै युक्रेन पुग्दै छ । यसअन्तर्गत युक्रेनले अमेरिकाबाट सैन्य हेलिकोप्टर, ज्याभलिन एन्टिट्यांक प्रणाली, राडार, ट्याक्टिकल भेहिकलका साथै सैन्य उपकरणका पार्टपुर्जाहरू प्राप्त गर्नेछ । अमेरिकाले युक्रेनलाई पहिलोपटक लामो दूरीको हतियार प्रणाली पनि पठाउँदै छ । अमेरिकाले यो हतियार युक्रेनले रुसी भूमिमा प्रहार नगर्ने सर्तमा उपलब्ध गराउन थालिएको भनेको छ । युक्रेनलाई सहयोग गर्न अमेरिकी सरकारले ३२ अर्ब डलर छुट्याएको छ । साथै, किभलाई पूर्वी युक्रेनको लडाइँमा दशौँ हजार विदेशी मिसिनरी सेनाले पनि सघाइरहेको दाबी छ । यी सबै सहयोगका कारण रुसतर्फ पनि ठूलो क्षति भइरहेको छ । 

ध्वस्त बन्दै युक्रेन
अहिलेसम्म युक्रेनमा युद्धबाट भएको मानवीय क्षतिको यकिन तथ्यांकको कसैले सार्वजनिक पुष्टि गरेको छैन । तर, अहिलेसम्म १५ हजार युक्रेनी सेना मारिएको अनुमान गरिन्छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार अहिले किभले हरेक दिन एक सयभन्दा धेरै सेना गुमाइरहेको छ भने दैनिक घाइते हुनेको संख्या पाँच सय हाराहारी छ । युक्रेनको मानव अधिकारसम्बन्धी संसदीय आयोगले रुसी सेनाले युक्रेनमा ३८ हजार आवासीय भवन ध्वस्त गरेको र दुई लाख २० हजारलाई बेघर बनाएको भनेको छ । यहाँका कम्तीमा १९ सय शैक्षिक संस्था आक्रमणमा परेको र एक सय ८० शैक्षिक भवन पूरै ध्वस्त भएका छन् । त्यसैगरी, पाँच सय अस्पताल, ५० रेलका पुल र पाँच सयभन्दा धेरै फ्याक्ट्री पनि ध्वस्त भएका छन् । 

युद्धले युक्रनेको ४५ प्रतिशत जिडिपी मेटेको अर्थशास्त्रीहरूले आकलन गरेका छन् । अहिलेसम्म युक्रेनका ५० प्रतिशत बिजनेस बन्द भएको र ४८ लाख रोजगारी गुमेको भनिएको छ । पूर्वाधारहरूको क्षति मात्रै पनि एक खर्ब डलरमाथि पुगेको छ भने समग्र क्षतिको आर्थिक मूल्य ६ खर्ब डलरभन्दा माथि रहेको युक्रेनी अर्थशास्त्रीहरूको आकलन छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसिआरका अनुसार मुलुकबाहिर शरणार्थी भएर पुगेकाहरूको संख्या ६५ लाख र आन्तरिक विस्थापितको संख्या ७० लाख नाघेको छ । 

अहिलेसम्म युक्रेनलाई ३० मुलुकले वित्तीय एवं सैन्य सहयोग गरेका छन् । रुससँग प्रत्यक्ष द्वन्द्वको डरले युक्रेनलाई लडाकु विमान तथा लामो दूरीका क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउन हिच्किचाइरहेका नाटो सदस्य राष्ट्रहरूले बिस्तारै यस्ता हतियार पनि उपलब्ध गराउन थालेका छन् । अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रणाली पठाउँदै छ । जर्मनीले पनि अत्याधुनिक लडाकु ट्यांक उपलब्ध गराएको छ । गोलाबारुद तथा ट्यांक तथा विमानभेदी प्रणालीजस्ता रक्षात्मक उपकरणमा सीमित सैन्य सहयोग नीतिमा परिवर्तनको संकेतले यो युद्ध तन्किँदै जान सक्ने अनुमान गर्न थालिएको छ । सिरिया युद्धमा संलग्न रुसको प्रविधिगत रूपले मजबुत छवि युक्रेनको मैदानमा कमजोर प्रमाणित भएपछि नाटो सदस्यहरू युक्रेनलाई उन्नत हतियार उपलब्ध गराउन उत्साहित भएको देखिन्छ । यसले युद्धको आयामलाई फेर्न अनुमान गरिएको छ । 

रुसमाथि प्रतिबन्धको चाङ
युद्धपछि रुसमाथि ४६ मुलुकले सात हजार सात सय ८२ वटा प्रतिबन्ध लगाएका छन् । रुस अहिले विश्वकै सबभन्दा बढी प्रतिबन्ध लागेको मुलुक बनेको छ । पश्चिमको प्रतिबन्धले रुसलाई विश्वव्यापी वित्तीय प्रणालीबाट पूरै बेदखल गरेको छ । पश्चिमा मुलुकले रुसले बचत राखेको तीन खर्ब डलरबराबरको सुन तथा विदेशी विनिमय फ्रिज गरेका छन् । रुसी सरकारको आधाभन्दा धेरै विदेशी विनिमय अहिले फ्रिज छ । रुसलाई संवेदनशील र उच्च प्रविधिहरूको निर्यात प्रतिबन्धित छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया र बेलायतले रुसी कोइला र तेलमा पूर्ण प्रतिबन्ध लगाएका छन् भने इयूले रुसी तेल आयातमा आंशिक प्रतिबन्ध लगाएको छ । साथै, रुसी ग्यास आयात प्रतिस्थापनको पाँचवर्षे योजना अघि बढाएको छ ।

अफ्रिकामा खाद्यसंकट
आफ्नो मुख्य खाद्यान्न गहुँको ४४ प्रतिशत आयात युक्रेनबाट गर्ने अफ्रिकी देशहरू सबैभन्दा बढी प्रभावित देखिएका छन् । यी देशमा भोकमरी छाउन थालेको छ । अफ्रिकी विकास बैंकले यी मुलुकमा अनाजको मूल्य ४५ प्रतिशतसम्मले अकासिएको जनाएको छ । अफ्रिकी नेताहरूले युक्रेनबाट अनाजको आपूर्ति खुलाउन पहल गर्न विश्वका नेताहरूलाई अपिल गरेका छन् । अफ्रिकी मुलुकमा खाद्यसंकट गहिरिँदै गएपछि अफ्रिकी संघका नेता एवं सेनेगलका राष्ट्रपति म्याकी सल शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भेट्न सोची पुगेका छन् । उनले पुटिनलाई युक्रेनबाट मल तथा अनाज आपूर्तिका लागि मार्ग खुला गरिदिन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओे)का विश्लेषक लुका रुसोले युक्रेन युद्ध लामो समय जारी रहे युक्रेनी अनाजको आयातमा निर्भर अफ्रिकी र मध्यपूर्वका मुलुकका लागि सन् २०२३ विनाशकारी हुने चेतावनी दिन्छन् । युद्धका कारण विश्वका ४४ करोड मानिस भोकमरीको जोखिममा पुगेको संयुक्त राष्ट्रसंघको भनाइ छ । तर, युक्रेनी पोर्टहरूमा भण्डार रहेको दुई करोड मेट्रिक टन गहुँ तथा मकै यतिखेर युद्धको हतियार बनेको छ ।