१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषिमा लगानी गरेर उत्पादन बढाउन नीजि क्षेत्रसँग  प्रदेश १ सरकारको आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo

कृषिमा व्यावसायिक लगानी गरेर उत्पादन बढाउन प्रदेश १ सरकारले नीजि क्षेत्रसँग आग्रह गरेको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि उद्योगी व्यवसायीहरुसँग सुझाव लिने क्रममा प्रदेश १ सरकारले कृषिमा व्यावसायिक लगानी गरेर उत्पादन वृद्धि गर्न नीजि क्षेत्रसँग आग्रह गरेको हो।

शुक्रबार विराटनगरमा प्रदेश १ का उद्योगी व्यवसायीहरुका सुझाव लिएपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला मन्त्री ईन्द्रबहादुर आङ्बोले नीजि क्षेत्रले कृषिमा व्यवसायिक लगानी गरे सरकारले जग्गा प्राप्ती र विशेष अनुदान दिएर सहयोग गर्ने प्रतिबद्धता गरे। मुख्यमन्त्री राईले लगानी अभावमा अझै प्रदेशको कृषि क्षेत्र निर्वाहमुखीमै सीमित रहन पुगेकाले नीजि क्षेत्रले लगानी गरेमा व्यवसायिक बन्न सक्ने बताए। उनले भने, ‘तपाईंहरु व्यवसायी कृषिका लागि लगानी गर्नुहोस्। के–कसरी गर्नुपर्छ हामी तयार छौं।’

मुख्यमन्त्री राईले कृषिसँगै पर्यटन र ऊर्जा क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्ने वातावरण पनि सरकारले सहयोग गरिदिने बताए। उनले विकासको काम सरकारको मात्रै र सरकारका लागि मात्रै नभएर आम नागरिकका लागि भएकाले सबै क्षेत्रको लगानीमा नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार सधैं तत्पर रहने बताए।

आर्थिक मामिलामन्त्री आङ्बोले आगामी वर्ष प्रदेश १ सकारको बजेट कृषि क्षेत्रमा नीजि क्षेत्रलाई प्राथमिकता दिने गरी निर्माण गर्ने जानकारी गराए। मन्त्री आङ्बोले प्रदेशको कृषि क्षेत्रलाई औद्योगिकीकरण नगरेसम्म उपलब्धी प्राप्त हुन नसक्ने भन्दै कृषि वस्तुको उत्पादनमा समेत अनुदान दिनेगरी बजेट निर्माण गर्ने बताए। उनले व्यवसायिक बैंकहरुलाई कृषि क्षेत्रमा लगानी गर्न उत्प्रेरित गराएर उत्पादन बढाउन सरकार लागिपर्ने बताए। यसैगरी आगामी बजेटमा प्रदेश १ सरकारले प्रसिद्ध तीर्थस्थलहरुसम्म पुग्ने पूर्वाधारहरु निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्ने सोच बनाएको उनले बताए।
 
कृषिमा लगानी बढाउन उद्योगी व्यवसायीको सुझाव
उद्योगी व्यवसायीहरुले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन बढाउन प्रदेश सरकारलाई सुझाव दिएका छन्। आगामी आर्थिक वर्षका लागि बजेट निर्माणबारे प्रदेश सरकारलाई सुझाव दिँदै उद्योगी व्यवसायीहरुले सम्भावित खाद्यसंकट टार्न कृषिमा लगानी बढाएर उत्पादन बृद्धि गर्नुको विकल्प नभएको बताएका हुन्। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहोराले भने, ‘आगामी वर्ष विश्वमा कृषि उत्पादन झनझन् घट्दै जाने पक्का छ। यसैले सरकारले कृषि उत्पादन बढाएर विविधीकरण गरी आफ्नो ब्राण्डिङ गर्न जरुरी छ।’

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउत, उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराम ढकाललगायतले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन बढाउन सकेमात्र खाद्य सुरक्षा हुनसक्ने बताए। नेपाल सरकारका पूर्वसचिव किशोर थापाले पनि नीतिगत सुधार गरेर प्रदेशमा सोझै देशी बिदेशी लगानीकर्ताहरु भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले पनि संघीय सरकारले जस्तै उद्योगी व्यवसायीहरुको मनोवल बढाउनुपर्ने सुझाव दिए।

ad
ad