१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
जनक शिक्षाको धनगढीस्थित गोदाममा आइपुगेका पाठ्यपुस्तक गाडीबाट झार्दै कामदार । तस्बिर : नयाँ पत्रिका    
२०७९ जेठ २१ शनिबार ०५:५५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज

सुदूरपश्चिममा पाठ्यपुस्तकविनै पठनपाठन

Read Time : > 1 मिनेट
२०७९ जेठ २१ शनिबार ०५:५५:००

सात लाख पाठ्यपुस्तक अझै पुगेनन्

धनगढीको त्रिनगर माविमा आठ कक्षामा अध्ययनरत रिया विकले पाठ्यपुस्तक पाएकी छैनन् । विद्यालयमा पठनपाठन सुरु भइसके पनि रियासँग सबै विषयको पाठ्यपुस्तक छैन । केही विषयको पाठ्य पुस्तकविनै उनी पठनपाठनमा सहभागी हुन्छिन् । ‘किताब नहुँदा पढाएको बुझ्न पनि गाह्रो हुन्छ,’ उनले भनिन्, ‘नयाँ पुस्तक कहिले पाइन्छन् थाहा छैन ।’ उनीसँग केही विषयका च्यातिएका पुराना किताब छन् । 

धनगढीकै आलोक जैरुले पनि किताब पाएका छैनन् । कक्षा नौमा अध्ययनरत उनले किताब नहुँदा पढाएको विषयवस्तु बुझ्न गाह्रो हुने गरेको बताए । कक्षा नौको पाठ्यपुस्तक यस वर्ष परिवर्तन गरिएको छ तर उनीसँग केही विषयको पुराना पाठ्यपुस्कमात्र छन् । ‘सरले कोर्ष बदलिएको छ भन्नुहुन्छ तर किताब पाइएको छैन,’ त्रिनगर माविमै अध्ययनरत उनले भने, ‘किताबै नभएपछि कसरी पढ्ने ?’

सुदूरपश्चिममा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय ठाउँमा पाठ्यपुस्तकको अभावमा पठनपाठन प्रभावित भएको छ । सुदूरपश्चिममा करिब सात लाख थान पाठ्यपुस्तक आइपुगेको छैन । यहाँ कक्षा ४ देखि १२ सम्म २२ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने भए पनि हालसम्म करिब १५ लाख थान पाठ्यपुस्तकमात्र आइपुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रदेश कार्यालयले जनाएको छ ।

धनगढीमै धेरैजसो विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । विद्यार्थीको हातमा किताब नभएपछि पठनपाठनमा समस्या भइरहेको शिक्षकहरूले बताएका छन् । शिक्षकले पाठ्यक्रम हेरेर पढाउने गरे पनि विद्यार्थीको हातमा किताब नपुगेको धनगढीको नवदुर्गा माविका प्रधानाध्यापक रामकुमार चौधरीले बताए । 

‘किताब नहुँदा पठनपाठनमा कठीनाइ भइरहेको छ, किताबविना विद्यार्थीलाई विषयबस्तु बुझाउन गाह्रो हुन्छ । गृहकार्य पनि दिन सकिएको छैन,’ ’ उनले भने । चौधरीका अनुसार विद्यालयले चारदेखि १० कक्षासम्मका विद्यार्थीलाई एउटा पनि पाठ्यपुस्तक वितरण गर्न सकेको छैन । केही विद्यार्थीले पुराना पाठ्यपुस्तक पाएका छन् । 

पुस्तक नहुँदा उपस्थिति न्युन
यहाँका विद्यालयले एक–डेढ हप्तादेखि पठनपाठन सुरु गरेका छन् । पाठ्यपुस्तक नपाएपछि विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको शिक्षकहरू बताउँछन् । धनगढी नमुना माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले पाठ्यपुस्तक नपाएपछि विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थी संख्या पनि कम हुने गरेको बताए । पठनपाठन सुरु भएको डेढ हप्ता बिते पनि अहिलेसम्म कुनै पनि कक्षाको किताब वितरण गर्न नसकेको उनले जानकारी दिए ।

‘किताबै नभइ के विद्यालय जानु भन्ने सोँचाइ विद्यार्थी र अभिभावकमा हुन्छ । हामीलाई पनि पाठ्यक्रमकै आधारमा पढाउन गाह्रो हुन्छ,’ उनले भने, ‘महत्वपूर्ण शैक्षिक सामग्रीनै नभएपछि पठनपाठन प्रभावकारी हुन सक्दैन ।’ पाठ्यपुस्तक कहिले आइपुग्छ भन्ने अझै अनिश्चित रहेको भट्टले बताए । 

कक्षा ६ को अंग्रेजी र गणित तथा कक्षा आठको स्वास्थ्य शारीरिक, अग्रेजी र नेपाली किताबको बढी अभाव देखिएको छ । कुनै पनि कक्षाको किताब आवश्यकताअनुसार नआएकाले १५ लाख थान पाठ्यपुस्तक वितरण गरिए पनि विद्यार्थीले सबै विषयका किताब पाएका छैनन् । जनक शिक्षाको प्रदेश कार्यालयले करिब सात लाख थान पाठ्यपुस्तक आउने क्रममा रहेको जनाएको छ । सबै पाठ्यपुस्तक आइपुग्न असार पहिलो सातासम्म लाग्ने जनक शिक्षाको प्रदेश कार्यालय धनगढीका प्रमुख ध्रुवराज पन्तले बताए । सबैभन्दा बढी कक्षा सात र नौको करिब ८० प्रतिशत किताब आइसकेको उनले जानकारी दिए ।