१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

द्वन्द्वकालमा क्षति पुगेका अदालतका भवन दुई दशकपछि पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४२:oo

जुम्ला जिल्ला अदालत र उच्च अदालत सुर्खेतको जुम्ला इजलास भवन पुनर्निर्माण गरिएको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक औपचारिक समारोहबीच दुई अदालतका नवनिर्मित भवनको संयुक्त उद्घाटन गरेका हुन्।

०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले जुम्लाको सदरमुकाम खलंगामा आक्रमण गरेपछि जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतको भवनमा क्षति पुगेको थियो। द्वन्द्वकालमा क्षति भएका भवनको झन्डै दुई दशकपछि पुनर्निर्माण गरेपछि नवनिर्मित आधुनिक सुविधायुक्त भवन उद्घाटन गरिएको हो।

न्याय सम्पादनलाई आधुनिकीकरण गर्ने चालू आर्थिक वर्षको चौथो रणनीतिअनुसार दुवै अदालतको भवन पुनर्निर्माण गरिएको हो। उच्च अदालत सुर्खेत जुम्ला इजलासको २४ कोठे भवन तीन करोड २२ लाख १३ हजार सात रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको इजलासका न्यायाधीश श्रीमणकुमार गौतमले जानकारी दिए। उनका अनुसार डिएस पृथ्वी जेभी निर्माण कम्पनी ललितपुरले सो भवन निर्माण गरेको हो।

त्यस्तै, जिल्ला अदालत जुम्लाको २० कोठे भवन चार करोड २१ लाख ४३ हजार पाँच सय रुपैयाँ लागतमा निर्माण भएको जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले बताए। जिल्ला अदालतको भवन चन्द्र एन्ड वसन्त पुष्प जेभी निर्माण सेवा ललितपुरले ०७३ असारमा सम्झौता गरी ०७६ कात्तिकमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो। सुविधायुक्त भवनले न्यायसम्पादन छिटो–छरितो हुने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्कीले छिटो, छरिटो र सहज रूपमा न्याय सम्पादन गर्न र पीडितलाई न्यायको अनुभूति दिलाउन न्यायालयको सुदृढीकरण अभियान थालिएको बताए। ‘वर्तमान समयमा न्यायालयको सुदृढीकरण अभियान अपरिहार्य छ। न्यायालयभित्र बेथिति छ,’ उनले भने, ‘ती बेथिति अन्त्य नगरी प्रभावकारी न्याय सम्पादन हुने अवस्था छैन। त्यसैले छिटो–छरितो न्याय सम्पादन गर्न गोलाप्रथा र मेसिनबाट अटोमेटिक मुद्दा हेर्ने प्रक्रिया अघि बढाएका छौँ।’
 

ad
ad