१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १९ बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुनसुकै वेला इन्टरनेट बन्द हुन सक्ने व्यवसायीको चेतावनी

इन्टरनेट व्यवसायीले पोल भाडा नतिरेपछि प्राधिकरणले बिजुली काट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १९ बिहीबार ०६:५१:००

नेपालमा सञ्चालन भइरहेको इन्टरनेट सेवा जुनसुकै बेला पनि बन्द हुन सक्ने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकका डाटा सेन्टर प्रयोग भइरहेको विद्युत् लाइन काट्न थालेको कारण इन्टरनेट सेवा अवरुद्ध भएको आइस्पानले जनाएको छ ।

विवादित पोलभाडाको निहुँमा इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् लाइन काट्नेलगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकेको आइस्पानले जनाएको छ । यस्तो क्रम अति उच्चतम गतिमा अघि बढिरहेको कारण धेरै इन्टरनेट प्वाइन्ट बन्द हुन पुगेको आइस्पानको भनाइ छ । तर, पोल भाडा विवादलाई लिएर विद्युत् लाइन नकाटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने, ‘हामीले इन्टरनेटको लाइन काटेका छैनौँ । पैसा नतिर्ने सेवाग्राहीको लाइन काटेका छौँ ।’

प्राधिकरण र आइस्पानबीच पोलको भाडादर विषयमा यसअघि विवाद हुँदा भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । सोपश्चात् नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरण पछि उच्चस्तरीय समिति गठन भई विद्युतीय पोल प्रयोग तथा सोको भुक्तानी एवं उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन दिएको थियो ।

उक्त प्रतिवेदनलाई स्वीकार गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव, नेपाल विद्युत् प्राधिकरणका निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक, नेपाल दूरसञ्चार कम्पनीका प्रबन्धक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिवसमेतले हस्ताक्षर गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक निर्देशक दिइसकेको आइस्पानले बताएको छ । तर, नेपाल विद्युत् प्राधिकरणले प्रतिवेदन कार्यान्वयन नगरेको आइस्पानको भनाइ छ । 

इन्टरनेट सेवा प्रदायकले भने आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी नेपाल विद्युत् प्राधिरकणमा बुझाएका छन् । साथै, प्रतिवेदन कार्यान्वयन गर्न जिम्मेवार नेपाल विद्युत् प्राधिकरणको बोर्डले निर्णय नगरिसकेकाले अन्योल सिर्जना भएको आइस्पानको ठम्याइछ । नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको अवस्था छ । इन्टरनेट सेवा प्रदायकहरू कायम गरिनुपर्ने भाडा बुझाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरी स्वयं उपस्थित भई पत्रसमेत बुझाएको अवस्थासमेत रहेको आइस्पानले जनाएको छ ।

पोल भाडा नतिरेपछि लाइन काटेका हौँ 
सुरेशबहादुर भट्टराई, प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण

इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत तिर्नुपर्ने रकम तनिरेपछि केही स्थानमा विद्युत्को लाइन काटिएको हो । इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई निःशुल्क आफ्नो सेवा प्रयोग गर्न दिँदैनन् । उनीहरूले ग्राहकबाट रकम लिइरहेका छन् भने आफूले तिर्नुपर्ने रकम पनि तिर्नुपर्छ । प्राधिकरणको पोल प्रयोग गर्दा कतिपय स्थानमा पोल भाँचिने, लच्किने पनि हुन्छ । इन्टरनेट व्यवसायीले सम्झौता गरेको रकम नबुझाएका कारण प्राधिकरणले लाइन काट्न बाध्य भएको हो । आफ्नो ग्राहकसँग नियमित रूपमा उठाइरहेको रकम प्राधिकरणमा बुझाउन कुनै समस्या हुनुनपर्ने हो । जनतासँग प्रत्यक्ष सम्बन्ध भएकाले हामी केही लचक भएका हाँै । अब हामी झन् कडाइ गर्छौँ ।