मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सत्तागठबन्धनका शीर्ष नेताको सोमबार बालुवाटारमा बसेको बैठक । फाइल तस्बिर
२०७९ जेठ १९ बिहीबार ०६:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धनबीच संसदीय चुनावबारे छलफल : आयोग भन्छ- मंसिर १५ भित्रै निर्वाचन सक्नुपर्छ

Read Time : > 2 मिनेट
२०७९ जेठ १९ बिहीबार ०६:३२:००

सत्तारूढ गठबन्धनमा मंसिरअगावै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न छलफल सुरु भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै गठबन्धनमा शीर्ष नेताबीच यसबारे छलफल सुरु भएको हो । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार यसबारे शीर्ष तहमा छलफल सुरु भएको छ । उनका अनुसार मंसिरअगावै निर्वाचन सम्पन्न गर्नेबारे नेताहरूबीच छलफल भएको हो । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकमा यसबारे प्रस्ताव आएको थियो । ‘कात्तिक अन्तिम साता निर्वाचन गर्नुपर्छ भनेर मैले प्रस्ताव गरेको थिएँ । यसमा साथीहरूको मिश्रित प्रतिक्रिया आएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनबारे छलफल सुरु भएको छ । औपचारिक सहमति भने भइसकेको छैन । छलफलपछि टुंगो लाग्छ ।’ 

उनले अधिकांश नेताहरूले नेपालको अभ्यासअनुसार पनि मंसिरअगावै निर्वाचन गर्नुपर्नेमा मत राखेको बताए । मौसम र भूगोलका आधारमा पनि मंसिरअगावै निर्वाचन गर्नुपर्नेमा नेताहरूले जोड दिएको उनले जानकारी दिए । ‘भौगोलिक र मौसमका कारण पनि मंसिरदेखि फागुनसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन सकिँदैन । अवधि सकिनुअगावै निर्वाचन गर्न मंसिरअघिको समय उपयुक्त हुन्छ भन्ने छलफल भएको छ,’ उनले भने, ‘नेताहरूको मिश्रित प्रतिक्रिया आए पनि हामीले कात्तिकमै निर्वाचन गर्नुपर्छ भनेर जोड दिएका छौँ । औपचारिक रूपमा कुनै निर्णय भइसकेको होइन ।’ 

बैठकमा नेताहरूबीच मंसिर या फागुनमा निर्वाचन गर्ने भन्नेबारे सामान्य छलफल भएको थियो । निर्वाचनको विषयलाई लिएर यसबाहेक छलफल नभएको नेताहरूले बताएका छन् । कांग्रेस वरिष्ठ नेता तथा रामचन्द्र पौडेलले भने औपचारिक रूपमा निर्वाचनको मिति तोक्नेबारे छलफल नभएको बताए । माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरू कात्तिकको अन्त्य या मंसिरको सुरुमा नै निर्वाचनको पक्षमा रहेको बताए । ‘यसअघि मंसिरमा निर्वाचन भएको थियो । तर, संसद्को कार्य प्रारम्भ फागुनबाट भयो । यसमा मंसिर मान्ने या फागुनलाई भन्ने द्विविधा देखिन्छ,’ उनले भने, ‘पार्टीका तर्फबाट हामीले कात्तिकको अन्त्य या मंसिरको सुरुमा नै निर्वाचन हुनुपर्छ भनिरहेका छौँ । यसअघि ०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो । 

आन्तरिक परामर्शमा प्रधानमन्त्री 
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय गर्नेबारे आन्तरिक परामर्श गरिरहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार समयमै निर्वाचन सम्पन्न गर्न परामर्श गरिरहेका छन् । प्रवक्ता महतले मंसिरभित्रै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्रीको तयारी रहेको संकेत गरे । ‘पदावधि सकिँदै छ । पदावधिअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । सम्भवतः निर्वाचन मंसिरमा नै हुन्छ । प्रधानमन्त्री आन्तरिक परामर्श गरिरहनुभएको छ,’ उनले भने । 

२२ मंसिरमा पदावधि सकिन्छ : आयोग 
निर्वाचन आयोगले २२ मंसिरलाई पदावधि सकिने अवधि मान्ने भएको छ । यससँगै आयोगले संसदीय निर्वाचन १५ मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पदावधिको विषयमा विवादकै अवस्था रहेको बताए । तर, आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा निर्वाचित भएको अवधिलाई मान्ने व्यवस्था गरेकाले पहिलो निर्वाचित भएको अवधिलाई मान्ने बताए । उनले यसबारे विवादको अवस्थाबारे स्थानीय तह निर्वाचनको विषयमा जानकारी गराउँदा नै प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए । 

‘पदावधिको विषयमा विवाद छ । हामीले प्रधानमन्त्रीज्यूलाई पनि अध्यादेश ल्याएर या कसरी हुन्छ, यसबारे स्पष्ट पार्न ध्यानाकर्षण गराएका थियौँ,’ उनले भने, ‘यस्तो अवस्थामा आयोगले ऐनमा निर्वाचित भएको अवधिबाट पाँच वर्ष भनिएकाले पहिलोपटक निर्वाचित भएको अवधिलाई मान्ने गरी व्याख्या गरेका छौँ । यस आधारमा २२ गते पदावधि सकिन्छ । १५ मंसिरमा निर्वाचन गराँउदा २१ सम्ममा मतगणना सकिन्छ भन्ने आयोगकोे बुझाइ हो ।’ उनले आयोगले सरकारलाई परामर्श दिने अवस्थामा पनि मंसिर १५ भित्रको समय नै सुझाउने बताए । ‘हामी मंसिर १५ भित्र निर्वाचन सक्नुपर्छ भन्नेमा स्पष्ट छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सरकारलाई परामर्श दिने क्रममा हामी आयोगको बैठक बस्छौँ, सर्वदलीय बैठक राख्छौँ र यही अवधिको मितिमा निर्वाचन गर्न परामर्श दिन्छौँ ।’

उनले सुरक्षाका दृष्टिकोणबाट पनि निर्वाचन भने दुई चरणमा नै सहज हुने बताए । यद्यपि, एकै चरणमा गर्नुपर्ने अवस्थामा सुरक्षाको विषयमा गहन छलफल आवश्यक पर्ने बताए । ‘अनुभवले पनि दुई चरणमा निर्वाचन सहज हुन्छ भन्ने देखाएको छ । तर, एकै चरणमा गर्र्न सुरक्षा निकायसँग गहन रूपमा छलफल गर्नुपर्ने हुन्छ ।’