१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

घोडेपानीबाट सम्पर्कविहीन भएको थियो जहाज 

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

जोमसोमका लागि बिहान ९ः५५ मा पोखराबाट छुटेको तारा एयरको जहाजसँग बिहान १०ः७ मिनेटमा अन्तिम सम्पर्कमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। मुस्ताङको घोडेपानी पार गर्नासाथ जहाज सम्पर्कविहीन भएको प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए। जहाजसँग अन्तिम सम्पर्क भएको घोडेपानी जोमसोमको नजिक पर्छ। यो ठाउँमा जहाज पुग्दा १० बजेर ७ मिनेट गएको थियो। त्यसपछि जहाज सम्पर्कविहीन भएको थियो।

‘जहाजसँग अन्तिम सम्पर्क मुस्ताङको घोडेपानीबाट भएको थियो,’ उनले भने, ‘त्यसपछि सम्पर्कविहीन भयो, जहाज सम्पर्कविहीन भएलगत्तै प्राधिकरणबाट ‘रेस्क्यु एन्ड कोडिनेटर सेन्टर’ टिम परिचालन भयो।’ उनका अनुसार हालसम्म मुस्ताङको घाँसा, लेटे, कोवाङ र मानव बस्ती भएको क्षेत्रमा हेलिकोप्टरबाट खोजीकार्य भइसकेको छ। त्यस क्षेत्रमा खोज्दा जहाजको अवस्थाबारे कुनै जानकारी आउन सकेको छैन। 

हाल नेपाली सेनाले दुईवटा हेलिकोप्टर परिचालन गरेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्की, म्याग्दी र मुस्ताङको प्रहरी टोली पनि जहाजको खोजीकार्यमा खटिएको छ। हालसम्म कुनै तथ्य पत्ता लाग्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार हाल म्याग्दी र मुस्ताङ क्षेत्रको मौसम प्रतिकूल छ। 

यद्यपि, जहाज उड्ने समयमा भने त्यहाँको मौसम अवस्था ठीक थियो। त्यस क्षेत्रमा छिनछिनमा मौसम बदलिइरहन्छ । जहाज उडेपछि मौसम प्रतिकूल भएको अनुमान गरिएको छ। झन्डै दुई घन्टा ३० मिनेटदेखि जहाज सम्पर्कविहीन अवस्थामा छ।  जहाजमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना अन्य देशका नागरिक गरी १९ यात्रु र तीन चालक दलका सादस्यसहित २२ जना यात्रु थिए।