मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७९ जेठ १४ शनिबार ०८:४६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा धेरैपटक ६ सय रन बनाउने खेलाडी

Read Time : > 2 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७९ जेठ १४ शनिबार ०८:४६:००

१५औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल आइतबार हुँदै छ । यस सिजनको नवप्रवेशी टोली लखनउ सुपर जायन्ट्स फाइनल पुगेन । तर, फाइनलको प्ले अफ अघिसम्म लखनउले उत्कृष्ट प्रदर्शन गर्‍यो । दोस्रो प्ले अफमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट १४ रनले पराजित भएपछि लखनउको पहिलो सहभागितामै फाइनल पुग्ने सपना अधुरो भयो । अन्तिम दुईमा पुग्न नसके पनि लखनउका लोकेश राहुलले प्रभावशाली प्रदर्शन गरेका छन् । 

आइपिएलको चार सिजनमा ६ सय रनभन्दा बढी बनाउने राहुल एक मात्र खेलाडी बनेका छन् । रोयल्सविरुद्ध ५८ बलमा ७९ रन जोडेपछि राहुल १५औँ आइपिएलकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । आइपिएलको इतिहासमा राहुलपछि वेस्ट इन्डिजका क्रिस गेल तथा अस्ट्रेलियाका डेभिड वार्नर धेरैपटक ६ सय रन बनाउने खेलाडी हुन् । गेल र वार्नरले आइपिएलमा समान तीनपटक ६ सय रन कटाएका छन् । 

लोकेश राहुल

यस सिजन राहुलले १२ खेलमा दुई शतकका साथ ६ सय १६ रन बनाएका छन् । राहुलको स्ट्राइक रेट १३५.३८ रहेको छ । राहुलले सन् २०२१ को सिजनमा ६२.५० को औसतमा ६ सय २६ रन जोडेका थिए । गत वर्ष उनले आफ्नो इनिङ्समा ६ अर्धशतकीय इनिङ्स खेले । यसैगरी, २०२० मा उनले १४ खेलमा ६ सय ७० रन बनाए । राहुलले सन् २०२० को सिजनमा आइपिएलको करिअरमा सबैभन्दा धेरै रन जोडेका थिए । त्यसवेला उनले १२९.३४ को स्ट्राइकमा ब्याटिङ गरे । उनले एक शतक पनि जोडे । 

सन् २०१८ को सिजनमा उनले १४ खेलबाट ६ सय ५९ रन बनाए । यसवेला उनले १५८.४१ स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । सन् २०१९ को सिजनमा उनी सात रनले मात्र ६ सय रन बनाउन चुके । १४ खेलमा राहुलले पाँच सय ९३ रन जोडे । आइपिएलको इतिहासमा लगातार पाँच सिजन पाँच सय ९० रनभन्दा बढी जोड्ने उनी एक मात्र खेलाडी हुन् । उनले सन् २०१८ देखि २०२१ सम्म किंग्स पन्जाबबाट प्रतिस्पर्धा गरेका थिए । आइपिएलमा किंग्स पन्जाब एकपटक पनि फाइनल पुगेन । 

क्रिस गेल

टी–२० खेलका अहिलेसम्मकै आक्रामक ब्याट्सम्यान गेल हुन् । उनले आइपिएलमा लगातार तीन सिजन ६ सय रनभन्दा बढी जोडे । सन् २०११, २०१२ तथा २०१३ को सिजनमा उनले यो उपलब्धि हात पारे । सन् २०१३ को सिजनमा गेलले १६ खेलमा सात सय आठ रन बनाए । यसमा उनले एक शतक तथा चार अर्धशतक लगाए । यसवेला उनको स्ट्राइक रेट १५६.२९ थियो । सन् २०१२ मा गेलले १५ खेलबाट सात सय ३३ रन जोडे ।

यसै सिजनमा गेलले एकै सिजनमा सर्वाधिक रन पनि बनाउने रेकर्ड राखे । यो सिजनमा उनले एक शतक तथा सात अर्धशतक लगाए । २०१२ को सिजनमा गेलले १६०.७४ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । सन् २०११ को सिजनमा गेलले १२ खेलबाट ६ सय आठ रन जोडे । उनले यो रन बनाउन दुई शतक तथा तीन अर्धशतक प्रहार गरे । गेलले १८३.१३ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । 

डेभिड वार्नर 

अस्ट्रेलियन बायाँहाते ब्याट्सम्यान वार्नरले सन् २०१७ देखि २०१९ सम्म ६ सय रन कटाए । सन् २०१९ को सिजनमा उनले १२ खेबलाट ६ सय ९२ रन जोड्दा १४३.८६ को स्ट्राइक राखे । यस क्रममा उनले एक शतक तथा आठ अर्धशतक लगाए । सन् २०१७ को सिजनमा उनले १४ खेलबाट ६ सय ४१ रन बनाए । उनले एक शतक तथा चार अर्धशतक बनाए । सन् २०१६ को सिजनमा वार्नरले १७ खेलबाट आठ सय ४८ रन जोडे । उनले त्यो सिजनमा नौ अर्धशतक लगाएका थिए । 

फाइनलको टिकट महँगो
नरेन्द्र मोदी रंगशालामा १५औँ आइपिएलको फाइनल हुँदै छ । अहमदाबादमा रहेको मोदी रंगशालाको क्षमता एक लाख ३२ हजार दर्शक अट्ने रहेको छ । फाइनलमा गुजरात टाइटन्स पुगिसकेको छ । गुजरातले राजस्थान र बेंग्लोरबीचको विजेताविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भारतीय मिडियाहरूले फाइनलअघि नै टिकट ब्ल्याकमा बिक्री भएको जनाएका छन् ।

फाइनल खेल हेर्न साबिक दरभन्दा नौ गुणा चर्को भाउमा टिकट किन्नुपर्नेछ । सबैभन्दा सस्तो टिकट भनेको नै आठ सय भारु हो । ब्ल्याक मार्केटमा यसको मूल्य आठ हजार भारु राखिएको छ । यसैगरी, १५ सय जाने टिकटको मूल्य १५ हजार भारु तोकिएको छ । रंगशालाको महँगो टिकट ६२ हजार भारुको हो । 

यो टिकट किन्नेले दुवै क्लालिफायर तथा फाइनलसम्म हेर्न पाउनेछन् । यस टिकटमा क्याबिन, खानपिन, टिभी तथा आरामदायी सोफा उपलब्ध हुनेछ । मिडियाका अनुसार ६५ हजार जाने टिकट सबै बिक्री भइसक्यो । यसैगरी, सात हजार जाने डिलक्स टिकट १५ हजार भारुमा बिक्री भइरहेको छ ।