काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसैन तलातको अलराउन्ड प्रदर्शनप्रेरित कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा सुखद् अन्त्य गरेको छ। आफ्नो अन्तिम खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हरायो।
तलातले अन्तिम खेलमा ३ विकेट लिनुका साथै अविजित ५१ रन बनाएका थिए। उनले प्रतियोगिताभर १० विकेट लिँदा ११९ रन बनाएका छन्।
आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा चितवनले १९.१ ओभरमा १२९ रन बनाउँदा अल आउट भयो।
चितवनले एक खेलअघि नै प्लेअफमा स्थान बनाइसकेको छ। पछिल्लो खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको थियो। टोलीले ७ खेलमा ३ जितसहित ७ अंक जोडेर चौथो स्थानमा यथावत रह्यो। टोलीले तेस्रो स्थानमा उक्लने अवसर गुमायो।
यता, कर्णाली भने लगातार चार खेलमा पराजित हुँदा प्लेअफबाट बाहिर भएको थियो। पहिलो दुई खेलमा सानदार जित निकाले पनि कर्णालीले लयलाई निरन्तरता दिन सकेन। ७ खेलमा ६ अंक जोडेर टोली पाँचौं स्थानमा उक्लिएको छ। यसअघि कर्णाली लगातार तेस्रो खेलमा पराजित भएपछि नियमित कप्तान सोमपाल कामीको जिम्मेवारी दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलरलाई दिइएको थियो।
प्रतियोगितामा आइतबारका खेलसँगै समूह चरणका खेल सम्पन्न हुँदैछन्। शीर्ष स्थानको लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन प्लेअफलाई छनोट भएका छन्। कर्णालीसँगै जनकपुर, विराटनगर र पोखरा बाहिरिएका छन्।
लक्ष्य पछ्याएको चितवनको लागि पाकिस्तानी ३० वर्षीय अलराउन्डर उसामा मिरले २३ बलमा २८ रन बनाए। ओपनर कामिल मिसराले १७ बलमा सर्वाधिक २५ रन बनाए। श्रीलंकन २५ वर्षीय ओपनरले समान २ चौका र छक्का हिर्काएका थिए। उनलाई पवन सरार्फले विकेटकिपर दिपक डुम्रेबाट क्याच गराए।
पूर्व कप्तान कुशल मल्लले मार्क वाटबाट एलबिडब्लु धरापमा पर्नुअघि १५ बलमा १८ रन हिर्काएका थिए। अर्का ओपनर देव खनालले १४ रनको योगदान गरे। अशोक धामी ११ रन बनाउँदा रनआउट भए। कप्तान सिकन्दर राजा ६, विवेक यादव ६, डन मोउस्ली ८ र सलाहुद्दिन खानले ७ रन जोडेका थिए।
कर्णालीका बलर तलातले सर्वाधिक तीन तथा मार्क वाट र पवन सराफले समान दुई विकेट लिए। सोमपाल कामीको नाममा एक विकेट रह्यो। विपिन शर्मा र नन्दन यादव भने विकेटविहीन भए।
यसअघि पहिलो इनिङ्समा कर्णालीका लागि पाकिस्तानका अलराउन्डर हुसैन तलातले ३३ बलमा सर्वाधिक ५१ रन बनाए। एनपिएलमा पहिलो अर्धसतक बनाएका तलातले २ चौका र ३ छक्का हान्दै अविजित रहे। कर्णाली याक्सले तलातलाई खेलाउन पाकिस्तानी क्रिकेट बोर्डलाई अतिरिक्त ३५ लाख तिरेको थियो।
बंगलादेशका ओपनर अरिफुल इस्लामले ३५ रन बनाए। १५ बलमा ४ चौका र २ छक्का हिर्काएका उनलाई सलाहुद्दिन खानले बोल्ड गरेका थिए। नवौं नम्बर क्रिजमा आएका अलराउण्डर गुल्शन झाले ६ बलमा आक्रामक ब्याटिङ गर्दै १८ रन जोडे। १ चौका र २ छक्का हिर्काएका उनलाई रिजन ढकालले कुशल मल्लबाट क्याच गराएका थिए। पवन सरार्फहले २१ बलमा १५ रनको योगदान गरे ।
यसअघि कर्णालीबाट डेब्यु गरेको ओपनर सचिन शर्मा डक आउट भए। ३ बलको सामना गरेका उनलाई कमल सिंह ऐरीले एलबिडब्लु धरापमा पारेका हुन्। तेस्रो क्रमका दीपक डुम्रेले पनि ७ रन मात्र बनाए। कप्तान डेविड मिलरले ८ बलमा मात्र ५ रन बनाए। उनलाई उसमा मिरले कुशल मल्लबाट क्याच गराएका थिए। निवर्तमान कप्तान सोमपाल कामीले ४ तथा स्कटल्यान्डका मार्क वाटले ६ रनमात्रै जोडे ।
चितवनको लागि उसमान मिर, सलाहुद्दिन खान र कमलसिंह ऐरीले समान २ विकेट लिएका थिए। कप्तान सिकन्दर राजा र रिजन ढकालले समान एक विकेट हात पारे।
आज नै हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच लिग चरणको अन्तिम खेल हुनेछ।