मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १३ शुक्रबार ०९:२३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तुइन तानेर महाकाली तर्ने व्याँसवासीलाई झोलुंगे पुलले दियो राहत

Read Time : > 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०९:२३:००

व्याँस गाउँपालिका–६ का कलावती भट्ट बिहीबार निकै खुसी देखिइन् । उनको खुसीको कारण थियो, महाकाली नदीमा सुचारु भएको झोलुंगे पुल । वर्षौंदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएकी भट्टले बिहीबार सन्तोषको सास फेरिन् ।

‘तुइनबाट महाकाली नदीमा झरेर कैयौँले ज्यान गुमाए । कम्तीमा अब त्यसरी ज्यान गुमाउनु त पर्दैन होला,’ स्थानीयले भोग्दै आएको पीडा उनले एकै स्वरमा व्यक्त गरिन् । मालिकार्जुन गाउँपालिका–६ बाकुका रामीराम लोहारको अनुहारमा पनि बिहीबार खुसी झल्कियो । नेपाल–भारत जोड्ने झोलुंगे पुल सुचारु भएपछि उनी दंग परे । उनले भने, ‘अब छिटै यो क्षेत्रमा झोलुंगे पुल बन्छ भनेको सुनेको दश वर्ष भएछ । यतिका वर्षपछि भए पनि पुल बन्यो, हामी धेरै खुसी छौँ ।’

व्याँस गाउँपालिका–६ बडुगाउँ क्षेत्रका स्थानीय तुइनबाट जोखिम मोलेरै नेपाल–भारत आउजाउ गर्थे । नेपालतिरको बाटो हुँदै सदरमुकाम खलंगा पुग्न ६ घन्टा र भारतको तिगरम भएर जाँदा अढाई घन्टा बढी समय लाग्थ्यो । बडुगाउँमा झोलुंगे पुल बनेपछि अब आधा घन्टामै खलंगा आउजाउ गर्न सकिन्छ । बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुंगे पुल सुचारु भएपछि आवतजावतमा समय मात्र जोगिएको छैन, असुरक्षित यात्राको पनि अन्त्य भएको छ ।

बिहीबार महाकाली नदीमा ट्युब तथा तुइन विस्थापनअन्तर्गत दुईवटा पुल एकैपटक उद्घाटन भएको हो । मालिकार्जुन–६ बाकुको पुल दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले रिबन काटेर उद्घाटन गरे । व्याँस गाउँपालिका–६ बडुगाउँस्थित झोलुंगे पुलको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले उद्घाटन गरे । झोलुंगे पुल उद्घाटन गर्न गएका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

मालिकार्जुन–६ का लक्ष्मणसिंह ठगुन्नाका अनुसार झोलुंगे पुल नहुँदा नागरिक ट्युबमार्फत पनि महाकाली नदी वारपार गर्न बाध्य थिए । ‘बिहेबारीदेखि दैनिक उपभोग्य सामान त्यही ट्युबका माध्यमबाट वारपार गरिन्थ्यो । झोलुंगे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको छ,’ उनले भने । नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका–६ का परमानन्द बडुले बताए । उनले भने, ‘अब हामीलाई सदरमुकाम खलंगासम्मको आवतजावत सहज भएको छ ।’ उनले झोलुंगे पुल बनेसँगै भन्सार व्यवस्थापन र नागरिकलाई सहज आवतजावतको अवस्था बनाइनुपर्ने बताए । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले दार्चुलाको महाकाली नदीमाथि चारवटा झोलुंगे पुल निर्माण गरिरहेको छ । 

पुलमा सहज आवागमनको व्यवस्था गरिनेछ : उपाध्याय

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए । पुल उद्घाटन गर्दै उनले भने, ‘अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्नेछैन ।’ भारत पिथौरागढका डिएम चौहानले नेपाल भारत रोटीबेटीको सम्बन्ध रहेको भन्दै अबदेखि पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताए । उनले भने, ‘नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो । सहज रूपमा आवतजावतको प्रबन्ध हुनेछ ।’

तुइन विस्थापनअन्तर्गत जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुंगे पुल निर्माण भइरहेको छ । यसअघि व्याँस गाउँपालिका–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल बनिसकेका छन् ।