Skip This
प्रदेश १ का स्थानीय तहमा महिला : प्रमुखमा संख्या बढ्यो, उपप्रमुखमा घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार o८:२५:oo
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

प्रदेश १ का स्थानीय तहमा महिला : प्रमुखमा संख्या बढ्यो, उपप्रमुखमा घट्यो

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार o८:२५:oo

प्रदेशका १३७ स्थानीय तहमध्ये ६ मा महिला प्रमुख, सयमा उपप्रमुख, एउटा पालिकाको नतिजा आउन बाँकी

प्रदेश १ मा प्रमुख पदमा महिलाको संख्या बढे पनि समग्रमा नेतृत्वमा महिलाको संख्या घटेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विगतको तुलनामा यसपटक महिला नेतृत्व घटेको हो । प्रमुखमा विगतको तुलनामा राम्रो उपलब्धि भए पनि उपप्रमुखमा भने महिलाको नेतृत्व घटेको छ । प्रदेश १ मा एक सय ३७ वटा स्थानीय तह छन् । यसपटक यी स्थानीय तहमा ६ जना महिलाले नेतृत्व गर्ने अवसर पाए । जबकि, ०७४ को स्थानीय निर्वाचनमा झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले प्रदेश १ मै एक मात्र नेतृत्वकर्ता थिइन् । 

०७४ को निर्वाचनमा प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३२ स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष थिए । तर, यसपटक यो संख्या घटेर एक सयमा झरेको छ । प्रदेश १ मा अब उदयपुरको त्रियुगा नगरपालिकाको नतिजा आउन बाँकी छ । यहाँ उपप्रमुखमा महिलाकै अग्रता छ । 

यसपटक प्रदेशमा ६ जना महिला प्रमुख/अध्यक्षमा निर्वाचित भएका छन् । झापाबाट दुई, खोटाङबाट दुई, मोरङ र सोलुखुम्बुमा एक–एक गरी ६ जना महिला प्रमुख/अध्यक्ष निर्वाचित भएका छन् । झापाको बिर्तामोड नगर प्रमुखमा एमालेकी पवित्रादेवी महतरा, गौरीगन्जको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसकी विमला राई, जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रकी अरुणदेवी राई, मोरङको कानेपोखरी गाउँपालिकामा एमालेकी राजमती इङ्नाम र सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेसकी मीनादेवी कार्की अध्यक्षमा निर्वाचित भएका छन् । 

स्थानीय तह निर्वाचन ऐनले अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुखमध्ये महिला अनिवार्य गरेको छ । तर, यो एउटै दलमा मात्र लागू हुन्छ । ०७४ को निर्वाचनमा दलहरूबीच अहिलेको जस्तो गठबन्धन भएको थिएन । तसर्थ, उपप्रमुख र उपाध्यक्षमा धेरै महिलाको प्रतिनिधित्व थियो । स्थानीय तह निर्वाचन ऐनको दफा १७ (४) मा ‘मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने’ उल्लेख छ । यद्यपि, यही उपदफाले दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुनेछैन भनेर उल्लेख गरेको छ । 

यसपटक पाँचदलीय गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घटेको छ । कांग्रेस, माओवादी केन्द्रलगायत दलले दुवै पदमा जितेको अधिकांश स्थानीय तहमा दुवै पदमा पुरुष छन् । एक्लै निर्वाचनमा होमिएको एमालेले भने कानुनी प्रावधानअनुसार नै उम्मेदवार उठाएको छ । 

गठबन्धनका कारण महिला सहभागिता घट्यो
गठबन्धनका कारण यसपटक महिलाको सहभागिता घटेको स्वीकार गर्छन्, कांग्रेस प्रदेश सभापति उद्धव थापा । गठबन्धन जोगाउन उम्मेदवार छनोटमा ध्यान दिनुपर्दा उपप्रमुखमा महिलाको संख्या घटेको उनले बताए । ‘गठबन्धनकै कारण महिलाको प्रतिनिधित्व घट्यो । गठबन्धन जोगाउनुपर्ने बाध्यता भएकाले यस्तो अवस्था आयो,’ थापाले भने । 

उपेक्षामा दलित
प्रदेश १ मा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमा दलितको प्रतिनिधित्व एकदमै न्यून छ । दलितहरू फेरि एकपटक दलको उपेक्षामा परेका छन् । ०७४ को निर्वाचनमा भन्दा यसपटक दलितको प्रतिनिधित्व घटेको हो । ०७४ मा प्रदेश १ मा दुईजना दलित उपाध्यक्ष थिए । मोरङको कटहरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जिता सरदार र धनकुटाको चौबिसे गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचाल थिइन् । यसपटक एकजना मात्र अध्यक्षमा छन् । उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीबाट ढुंगराज विश्वकर्मा निर्वाचित भएका छन् । ‘दलहरूमा दलितलाई टिकट दियो भने मतदाताले अस्वीकार गरेर चुनाव हारिन्छ भन्ने मनोविज्ञानले अझै काम गरिरहेको छ,’ दलित अधिकारकर्मी उमेश विश्वकर्मा भने । 

रसुवामा महिला प्रमुख शून्य
रसुवा/
रसुवाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । ०७४ को निर्वाचनमा कालिका गाउँपालिका प्रमुखमा एकजना मात्र महिला प्रमुख बनेकी थिइन् । हालै सम्पन्न निर्वाचनमा दुई पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । नौकुण्ड गाउँपालिकाबाट एमालेले पालिका प्रमुखमा सिर्जना लामा र उत्तरगया गाउँपालिकामा एकीकृत समाजवादीले अर्चना लामालाई उम्मेदवार बनाएका थिए । तर, निर्वाचनको नतिजाअनुसार दुवैजना पराजित भएसँगै जिल्लाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य भएको हो । 

पाँचवटै पालिकाको प्रमुखमा पुरुष नेतृत्व निर्वाचित भएका छन् । उपप्रमुखमा चारवटा गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन् । आमाछोदिङ्मो गाउँपालिका उपप्रमुखमा चण्डिका तामाङ, गोसाइँकुण्ड गाउँपालिकामा प्रतिमा तामाङ, कालिका गाउँपालिकामा मीरा लामा र उत्तरगया गाउँपालिकामा चमेली गुरुङले नेतृत्व पाएका छन् । गुरुङले ०७४ को निर्वाचनमा पनि उत्तरगया गाउँपालिकाको उपप्रमुखको नेतृत्व पाएकी थिइन् ।