मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
हिमाल पौडेल काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार ०६:२५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७५० पालिकाको नतिजा सार्वजनिक

Read Time : > 2 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०६:२५:००

स्थानीय तह निर्वाचनको बिहीबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । पुनः मतदानको मिति तोक्न भने बाँकी छ । 

परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ ।

जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् । 

महानगरमा एमाले निल 
६ महानगरमध्ये एमालेले कुनै पनि महानगरको नेतृत्वमा जित हासिल गर्न सकेन । विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला, वीरगन्जमा जसपाका राजेशमान सिंह, भरतपुरमा माओवादीकी रेनु दाहाल, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, काठमाडौंमा स्वतन्त्र उम्मेदवार साह र पोखरामा समाजवादीका धनराज आचार्य विजयी भएका छन् । तर, विराटनगर, ललितपुर, काठमाडौं र पोखरा गरी चार महानगरका उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । यसबाहेक भरतपुर र वीरगन्जको उपमेयर कांग्रेसले जितेको छ । 

उपमहानगरका सात उपप्रमुखमा एमाले
११ उपमहानगरपालिकामध्ये चारमा कांग्रेस र तीनमा एमालेले जित निकालेका छन् । इटहरी, बुटवल र नेपालगन्जमा कांग्रेस विजयी भएको छ । कलैया, घोराही र तुलसीपुरमा एमाले, जितपुर–सिमरामा माओवादी र हेटौँडामा एकीकृत समाजवादी विजयी भएका छन् । धरान, जनकपुरधाम र धनगढीमा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । 

उपमहानगरको उपप्रमुखतर्फ इटहरी, जितपुर–सिमरा, कलैया, बुटवल, घोराही, तुलसीपुर र धनगढीमा एमाले, जनकपुरधाम र हेटौँडामा कांग्रेस, धरानमा माओवादी तथा नेपालगन्जमा जसपा विजयी भएका छन् । 

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका, जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट)को प्रमुखमा विजयी भएका छन् । स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी)को अध्यक्षमा निर्वाचित भएका छन् ।

बाजुराको बुढीगंगामा पुनः मतदान हुने
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । बिहीबार बसेको निर्वाचन आयोगका पदाधिकारीको बैठकले बुढीगंगामा निर्वाचनको स्वच्छता कायम नभएको भन्दै ३० वैशाखको मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । तर, आयोगले मतदानको अर्को मिति भने तोकेको छैन । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चतुर्भुज ओझा र सशस्त्र प्रहरीका डिएसपी दीपक विष्टले सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आयोगको ठहर छ । ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरूलाई तीन दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई निर्वाचन प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

प्रमुख जिल्ला अधिकारी पौड्याल र डिएसपीद्वय ओझा र विष्टलाई निर्वाचन कसुरमा कारबाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । नगरपालिका निर्वाचनमा धाँधली भएको भन्नेबारे सत्य–तथ्यको अनुसन्धान गर्न आयोगले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा स्थलगत अध्ययनका लागि बुढीगंगामा टोली पठाएको थियो ।