१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १२ बिहीबार १४:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच महिनादेखि आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुखविहीन हुँदा सेवा प्रभावित, पुँजीगत खर्च शून्य

Read Time : > 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १४:२८:००

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र पछिल्लो पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा कामकाज प्रभावित भएको छ। ०७८ पुस ६ गते कार्यालय प्रमुख देवेन्द्र ठाकुर सरुवा भएपछि अहिलेसम्म अर्को कार्यालय प्रमुख आएका छैनन्। ठाकुरले जाजरकोटको रमाना लिएपछि अर्को प्रमुख नहुँदा कार्यालयको आर्थिकसहित सबै कार्य बन्द भएको छ।

कार्यालय प्रमुख नहुँदा खरिद भएका औषधि, प्रयोगशालाका सामग्री, फर्निचरको भुक्तानी हुन सकेको छैन। पहिले खरिद गरेका औषधि सकिइसकेको छ। स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखि कार्यालय प्रमुख नहुँदा करारका कर्मचारीले पाँच महिनादेखि तलबसमेत खान नसकेका बताए।

कार्यालय प्रमुख पठाइदिन भन्दै आफू अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत आए पनि कुनै सुनुवाइ नभएको उनले बताए। सामाजिक विकास मन्त्रालयसहित सरोकारवाला निकाय धाउँदै हैरान भए पनि प्रमुख नपठाउँदा कार्यसम्पादन प्रभावित भएका छन्। उपचार गर्न आएका सेवाग्राही औषधि तथा अन्य आवश्यक सामग्री नहुँदा खाली हात फर्किने गरेका छन्।

मन्त्रालयले चासो नदिँदा जुम्लामा रहेको एक मात्र आयुर्वेद अस्पतालको अस्तित्व धरापमा परेको छ। १० महिना कटिसक्दा मर्मत सम्भार, डिपिआर निर्माण, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनालगायत पुँजीगत खर्चका काम हुन सकेका छैनन्। आयुर्वेद स्वास्थ्य केन्द्रको डिपिआरका लागि पाँच लाख र कार्यालय मर्मतका लागि २० लाख रुपैयाँ आएको थियो।  तर, कार्यालय प्रमुख नहुँदा मुस्किलले आएको सो बजेटसमेत फ्रिज हुने भएको छ।

आयुर्वेदका वैद्य रावतका अनुसार तलब, भत्ता, पोसाक, घरभाडा, बिजुली महसुल शीर्षकमा खर्च गर्नका लागि आफूलाई मन्त्रालयबाट एउटा पत्र प्राप्त भएको थियो। तर, पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको उनले बताए। अन्य कामहरू पनि गर्न नसकिने अवस्था छ। अहिले यहाँ स्थायी दुईजना र करारका १३ जना कर्मचारी रहेका छन्।

औषधि नहुँदा खाली हात फर्किन्छन् सेवाग्राही 
आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक २५ देखि ३० सेवाग्राही आउँछन्। कार्यालय प्रमुख नहुँदा औषधि खरिद गर्न सकिएको छैन। खातामा पैसा भए पनि औषधि खरिद गर्ने काम अघि नबढ्दा सेवाग्राही खाली हात फर्कन बाध्य छन्। 

आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीय चिन्तित छन्। ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि स्तरवृद्धिमा ध्यान नदिएको स्थानीय अगुवा राजुशरण न्यौपानेको गुनासो छ।

सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीका अनुसार समस्या समाधानका लागि पहल भइरहेको छ। मन्त्रालयका सचिवसमक्ष यो विषय पुर्‍याइने र छिट्टै समस्या समाधान गरिने उनले बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले आयुर्वेद अस्पताल पहिलेदेखि नै अस्तव्यस्त भएको भन्दै प्रदेश सरकारमार्फत समस्या समाधानको पहल भइरहेको बताइन्।