१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ११ बुधबार १९:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखराका मेयरको दाबी–भनसुन गर्नुपर्ने दिन सकिएछ भन्ने महसुस नगरबासीलाई गराउँछौँ

Read Time : > 1 मिनेट
२०७९ जेठ ११ बुधबार १९:४३:००

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले तोकिएकै समयमा काम सम्पन्न गरेर एक महिनाभित्र महानगरको सेवा प्रवाहमा नगरवासीले महसुस गर्ने गरी सुधार ल्याउने दाबी गरेका छन् । बुधबार पोखरामा पाँचदलीय निर्वाचन परिचालन कमिटी कास्कीको तर्फबाट आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा मेयर आचार्यले अबिरजात्रमा समय खेर फाल्ने पक्षमा आफूहरू नरहेको बताए ।

उनले १० दिनसम्ममा सबै वडामा पुग्ने र धन्यवादसहितको भेटघाट कार्यक्रम गर्ने बताए । ‘हामी अबिरजात्रामा समय खेर फाल्ने पक्षमा छैनौँ । मात्र १० दिन सिम्बोलिक रूपमा ३३ वटै वडाका निश्चित ठाउँमा जान्छौँ र त्यसपछि योजनाका साथ अगाडि बढ्छौँ,’ उनले भने । 

मेयर आचार्यले यसै महिनाको अन्त्यमा विज्ञ र पूर्वमेयरहरूका अनुभव सुन्न र कार्यशैली परिवर्तनका लागि ‘क्लोज क्याम्प’ गर्ने जानकारी दिए । क्लोज क्याम्प तीन दिन दुई रातको हुने उनले जानकारी दिए । ३३ वटै वडाका वडाध्यक्षसहित आफू र उपमेयर सहभागी हुने क्लोज क्याम्पमा मोबाइलसमेत निषेध गरिने उनले बताए । त्यसपछि एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष र सदस्य सबैले काम गर्ने उनको भनाइ छ । ‘त्यो तीन दिन मोबाइल बज्नेछैन । हामी सिंगो पोखराभित्र कस्तो सिस्टम राख्ने भन्ने विधि बनाउँछौँ । भनसुन गर्नुपर्ने दिन पोखरामा सकिएछन् भन्ने महसुस हामी नगरवासीलाई गराउँछौँ,’ उनले भने ।

उनले कम महत्वका कार्यक्रममा समय नबिताउने प्रतिबद्धता पनि जनाएका छन् । शपथ लिँदा नै अनुशासनसहित उपस्थित हुन र कोडको पालना गर्न उनले वडाध्यक्ष र सदस्यहरूलाई आग्रह गरेका छन् । 

पुष्पलालको सालिकमा माल्यार्पण र फूल रोपेपछि पदभार ग्रहण 
पोखरा महानगरमा निर्वाचित जनप्रतिनिधिले बिहीबार पोखरा सभागृहमा शपथ लिँदै छन् । शपथका लागि बिहान साढे नौ बजेका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले समय निर्धारण गरेको छ । 

मेयर आचार्यले शपथग्रहणपछि पोखराको जिरो किलोमिटरदेखि हल्लनचोकसम्मको सडक डिभाइडरमा फूल रोपेर पदभार ग्रहण गर्ने योजना रहेको जानकारी दिए । आचार्यका अनुसार उनले फूल रोप्नुअगाडि पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि सबै निर्वाचित जनप्रतिनिधिले डिभाइडरमा फूल रोप्नेछन् र दिउँसो पदभार ग्रहण गर्नेछन् ।