मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा मंगलबार भेरी बगरमा निकालिएको प्रतिरोध मार्च ।
मनीष खड्का रुकुम पश्चिम
२०७९ जेठ ११ बुधबार ०७:१२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नवराज विकसहित ६ युवा हत्याको दुई वर्ष, भेरी बगरमा न्यायको खोजी

Read Time : > 3 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७९ जेठ ११ बुधबार ०७:१२:००

भेरी नदी सधैँझैँ मंगलबार पनि आफ्नै तालमा सुसाउँदै थियो । तर, बगरमा केही मान्छे न्यायको खोजीमा भौँतारिँदै थिए । उनीहरूले ‘जात–व्यवस्था अन्त्य गर’, ‘जात–व्यवस्था मुर्दावाद’,‘राज्य खोइ ?’जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए । केही कलाकार सत्यघटनामा आधारित नाटक देखाउँदै थिए, अरू नाटक हेर्दै भक्कानिएका थिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीस्थित भेरी बगरले जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँका नवराज विक र उनका पाँचजना साथीका परिवारलाई नमीठो सम्झना दिलाइरहेको छ । नवराज सोतीमा घर भएकी प्रेमिका लिन साथीहरूसहित जाँदा १० जेठ ०७७ मा ६ युवाकै ‘नरसंहार’ भएको थियो । तर, उनीहरूका परिवारले दुई वर्षसम्म न्याय पाएका छैनन् । बरु, घटनामा संलग्न भनिएकाहरूले उन्मुक्ति पाउँदै जाँदा पीडित परिवार मर्माहत भएका छन् । यही पीडा राज्यसम्म पुर्‍याउन मंगलबार उनीहरू भेरी बगरमा भेला भएका हुन् । उनीहरूलाई साथ दिन अभियानकर्मीहरू पनि आएका थिए ।

प्रतिरोध मार्च’ नाम दिइएको उक्त विरोध कार्यक्रममा सोती घटनामा मृत्यु भएका नवराज, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा (सञ्जु), गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीका परिवार, आफन्त तथा गाउँले सहभागी थिए । ढिलो पाइने न्याय पनि अन्याय नै हुने भन्दै पीडितहरूले दुई वर्ष बित्दासमेत मुद्दाको किनारा नलागेकोमा गुनासो गरे । 

छोराका हत्यारालाई कारबाहीको माग गर्न जाजरकोटबाट काठमाडौं पुगेकी नवराजकी आमा ४० वर्षीया उर्मिला विक मंगलबार माइतीघरमा छोरा सम्झिएर भक्कानिइन् । उस्तै अवस्थामा थिए, भेरी बगरमा बुबा मनलाल नेपाली । 

मलिन अनुहारमा केही कुरा राख्न माइक्रोफोन समातेका नेपाली राम्ररी बोल्न पनि सकेनन् । उनको गला अवरुद्ध भयो । ‘मलाई धेरै बोल्नु छैन, म धेरै बोल्न सक्ने अवस्थामा पनि छैन, हामीलाई न्याय चाहियो,’ उनले भने ।

नेपालीले छोराको अन्तिम संस्कार गरेको ठाउँ देखाउँदै थुप्रै प्रश्न गरे । ‘प्रेम गर्दैमा मारिनुपर्ने हो ? अन्तरजातीय प्रेम गर्न नपाइने वा गरेमा मार्ने कानुनमा लेखेको छ ? हामी यो देशका नागरिक होइनौँ र ?’ उनको प्रश्नको जवाफ दिने कोही थिएनन् । उनले प्रश्न गरिरहेको सुसाइरहेको भेरीले सुनिरह्यो । 

सञ्जुकी श्रीमती भन्छिन्– न्यायको आस मर्दै गएको छ
घटना भएको दुई वर्षसम्म पनि फैसला नभएपछि पीडितहरूले न्यायको महसुस गर्न पाएका छैनन् । ६ जना मृतकका परिवार न्यायको प्रतीक्षामा छन् । घटनामा ज्यान गुमाएका सञ्जु विककी श्रीमती सविना विक न्यायको आस मर्दै गएको बताउँछिन् । अब कतै न्याय नपाइने त होइन भन्ने चिन्ताले सताइरहेको उनले बताइन् । सानो छोराले बुबा खोइ भनेर सोध्दा आफूसँग कुनै जवाफ नभएको उनले बताइन् ।

राज्यका ‘ठालु’ नै न्यायका विरुद्ध छन् : संग्रौला 
भेरी नदी किनारमा जात–व्यवस्था अन्त्य हुनुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै कविता र नाटक प्रस्तुत गरिएको थियो । कविता सुन्दा र नाटक हेर्दा मृतक परिवारका सदस्य भक्कानो छाडेर रोएका थिए । पीडितले तत्काल न्याय पाऊन् भनेर घटना भएको दुई वर्ष पुगेको दिन दबाबमूलक कार्यक्रम गरिएको प्रतिरोध मार्चका केन्द्रीय प्रतिनिधि प्रमोद धितालले जानकारी दिए । ढिलो न्याय पाउनु नपाउनुजस्तै हुने र यो मुद्दामा पीडितले न्याय पाउने सन्दर्भमा विभिन्न संशय पैदा भएकाले दबाब दिन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । प्रतिरोध, कर्णाली थिएटर मुगु र बृहत् नागरिक आन्दोलनले संयुक्त रूपमा भेरी प्रतिरोध मार्चको आयोजना गरेका हुन् । 

मार्चमा सहभागी लेखक खगेन्द्र संग्रौलाले हिजोका दिनमा दलित, अल्पसंख्यक, उत्पीडित समुदायका लागि झन्डा उठाएका र आन्दोलन छेडेकाहरू नै अहिले न्यायका विरुद्धमा उभिएको गुनासो गरे । राज्यका ठालुहरू सोती घटनाका पीडितविरुद्ध लागेको उनले आरोप लगाए । ‘समाजमा जात–व्यवस्था गाँजिएर रहेको छ, अहिले हामीले यसो हुनुहुँदैन त भनिरहेका छौँ, यो मुद्दाको पनि फैसला होला, पीडितले न्याय पाउलान्, दोषीले सजाय भोग्लान्,’ उनले भने, ‘तर, हिन्दूवादी चिन्तनको अन्त्य नहुँदासम्म यस्ता घटना भइरहनेछन् ।’ दुई वर्षसम्म पनि पीडितले न्याय नपाउनु लज्जास्पद भएको उनले बताए । सिंगो राज्य नै यो घटनाको विपक्षमा उभिएकाले पीडितले न्याय पाउनेमा शंका रहेकोसमेत व्यक्त गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश सदस्य पार्वती विकले नवराजहरूले छेडेको आन्दोलनको मोर्चा आफूहरूले सम्हालिरहेको बताइन् । ‘नवराजहरूले जात–व्यवस्थाविरुद्ध गम्भीर आन्दोलन छेडेका छन्, नवराजहरूको ज्यान लिए पनि हामी नवराजहरूको पथलाई छाड्ने छैनौं । हाम्रो लडाइँ अन्तिमसम्म हुनेछ,’ उनले भनिन् । 

यस्तो थियो सोती घटना
१० जेठ ०७७ मा आफ्नी प्रेमिकालाई लिन भन्दै जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विक आफ्ना साथीहरूसँग रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ को सोती पुगे । नवराजसँगै २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही मारिए । गाउँलेको कुटपिट र लखेटाइबाट भेरी नदीमा पसेका ६ जनाको ज्यान गयो । १२ जना घाइते भए । घटनामा ३४ जनाविरुद्ध अभियोजन दर्ता भएको थियो । जिल्ला अदालत रुकुम पश्चिममा ३२ जेठ ०७७ मा अभियोग दर्ता भएको थियो । फरक–फरक समयमा गरेर ३४ जना प्रक्राउ परे । तीनपटकमा गरेर थुनछेक आदेश भयो । 

१० असार ०७७ मा भएको छुनथेक आदेशले एक नाबालिका र एक नाबालकलाई सुधारगृहमा पठायो । बालिकाकी आमा एक लाख धरौटीमा रिहा भइन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाडियो । २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो । बाँकी आरोपी दुईपटकमा अदालतमा हाजिर भएपछि थप दुईपटक थुनछेक आदेश भएको थियो । २८ असार ०७७ मा भएको थुनछेक आदेशबाट एकजना र ३१ असारको आदेशबाट थप चारजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो । थुनछेक आदेशप्रति अभियुक्तहरू पुनरावलोकनका लागि उच्च अदालत गएका थिए । उच्च अदालत सुर्खेतमा राय बाझियो । पछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले ६ वैशाख ०७८ मा सौरभ घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती र भीमबहादुर बुढासहित पाँचजनालाई साधारण तारेखमा रिहा गरिदियो । अहिले सोती घटनामा संलग्न भएको आरोपमा २३ जना पुर्पक्षका लागि कारागारमा छन् । 

मुद्दा अब उत्तराद्र्धतिर रहेको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले बताए । दुईजना घाइतेबाहेक यस मुद्दाका वादी–प्रतिवादीको बकपत्र लिने काम सकिएको उनले बताए । उनका अनुसार १८ जेठमा मुद्दाको पेसी तोकिएको छ । 

हत्या गरिएका युवाका आमा काठमाडौंमा- ‘पीडाले कलेजो निमोठिएको छ, न्याय चाहियो’

छोराका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा आइपुगेका पीडित । तस्बिर : संजित परियार/नयाँ पत्रिका

गाउँको सिंहदरबारले न्याय नदिएपछि नवराज विककी आमा काठमाडौं आइपुगेकी छिन् । भेरी नदीमा मारिएका नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीका आमाहरू काठमाडौं आइपुगेका हुन् । नवराजकी आमा उर्मिला विकको नेतृत्वमा काठमाडौंमा आएका उनीहरूले मंगलबार महिला अधिकारकर्मीसँगै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । मृतक छोराहरूका तस्बिर हातमा लिएका आमाहरूका आँखामा आँसु देखिन्थे ।

मण्डला परिसरमा ब्यानरसहित उपस्थित भएका उनीहरूको सामूहिक आवाज छ, ‘घटना भएको दुई वर्ष बित्यो । गाउँको सिंहदरबारले न्याय दिएन । कसुरदार खुलेआम हिँडिरहेका छन् । पीडाले कलेजो निमोठेको छ । पीडा सुनाउन मुलुकको सिंहदबार आइपुगेका छौँ । वश हामीलाई न्याय चाहियो ।’ मण्डलामा दुई वर्षअघिको जातीय नरसंहारविरुद्ध नाटकसमेत मञ्चन गरिएको थियो ।