मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ १० मंगलबार १३:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा– १८ मा कांग्रेसको विजय र्‍याली, पुनः मतगणना गर्न एमालेको निवेदन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार १३:५o:oo

पोखरा महानगरपालिकामा मतगणना स्थगित भएको छ । महानगरको वडा नम्बर १८ मा आफ्नो पार्टीबाट अध्यक्ष पदका उम्मेदवार तीन मतले पराजित भएपछि पुनः मतगणना गर्नुपर्ने भन्दै नेकपा एमालेले आफ्नो प्रतिनिधि बाहिर बोलाएपछि मतगणना स्थगित भएको हो । एमाले महानगर कमिटीले वडा नम्बर १८ मा पुनः मत गणनाको माग गरेको छ । एमाले पोखरा महानगरका अध्यक्ष दिलीप न्यौपानेले १८ नम्बर वडामा पुनः मतगणनाका लागि पार्टीको तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निवेदन दिइसकेको जानकारी दिए । उनले महानगरका मतगणना भइरहेका बाँकी तीनवटा वडामा पनि मतगणना स्थगित गर्न भन्दै प्रतिनिधि बाहिर बोलाएको बताए । 

एमाले महानगर कमिटी अध्यक्ष न्यौपानेले वडा नम्बर १८ मा सूर्य चिह्नमा मत हालिएका नाैवटा मतपत्र कर्मचारीको मिलेमतोमा गायब पारिएको आरोप लगाए । ‘वडा नम्बर १८ मा हाम्रोतर्फबाट अध्यक्षका उम्मेदवार पुस्कलबहादुर थापा तीन मतले पराजित हुनुभयो भनिएको छ । जब कि त्यहाँ नौ–नौवटा मत गायव छन् । ती सबै मत सूर्य चिह्नमा छाप हानिएका मत हुन् । कर्मचारीको मिलेमतोमा गायव पारियो भन्ने हाम्रो गम्भीर आशंका छ । त्यहाँ पुनः मतगणना नभई अन्यत्रको पनि गणना हुन सक्दैन भनेर हाम्रा प्रतिनिधि बाहिर बोलाएका छौँ,’ नयाँ पत्रिकासँग अध्यक्ष न्यौपानेले भने । 

वडा नम्बर १८ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार शिव तिमिल्सिनाले एक हजार ६ सय ४३ र नेकपा एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले एक हजार ६ सय ४० मत ल्याएका छन् । कांग्रेसले विजय र्‍याली निकालिसकेको छ भने एमालेका प्रतिनिधिले उक्त नतिजा आफूहरूका लागि स्वीकार्य नभएको भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । अहिले एमालेका प्रतिनिधि मतगणना छोडेर बाहिरिएका छन् । 

पोखरामा पछिल्लो मतपरिणामअनुसार एक लाख ३८ हजार दुई सय ११ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५६ हजार चार सय ७१ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ५१ हजार एक सय ५८ मत प्राप्त गरेका छन् ।उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५८ हजार पाँच सय ८२ मत ल्याएकी छिन् । गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार पाँच सय ४७ मत प्राप्त गरेकी छिन् । 

पोखरामा एक लाख ४३ हजार एक सय २६ मत खसेकोमा अब पाँच हजार दुई सय ६८ मतको परिणाम सार्वजनिक हुन बाँकी छ । मतगणना हुन बाँकी २२, ३२ र ३३ नम्बरको मतगणना रोकिएको हो ।