मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ १० मंगलबार ०७:४६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनकपुरमा सधैँ बागी हावी

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ जेठ १० मंगलबार ०७:४६:००

०४९ मा कांग्रेसका बागी वृशेषचन्द्र, ०५४ मा बजरंग र ०७९ मा मनोजकुमार मेयरमा विजयी, ०७४ मा भने राजपाका लालकिशोर विजयी

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् । धनुषामै सबभन्दा ढिलो मतपरिणाम आएको जनकपुरधाम उपमहानगर प्रमुख साह झन्डै चार हजार मतान्तरले निर्वाचित भएका हुन् । 

साहले १३ हजार ४६५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले नौ हजार ५३२ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० र सत्तारूढ गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह पाँच हजार १९४ मतमै सीमित भए । उनी जनकपुरधामका निवर्तमान प्रमुख हुन् । स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायमा संलग्न बलराम महतोले चार हजार २९०, जानकीराम साहले दुई हजार ७२, जनमत पार्टीकी अनिता देवीले एक हजार ४३७ र तराई मधेस लोकतान्त्रिक पार्टीकी विभा ठाकुरले एक हजार १४१ मत ल्याइन् । 

उपप्रमुखमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् । निवर्तमान उपप्रमुख तथा लोसपाकी उम्मेदवार रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याइन् । कांग्रेसका बागी उम्मेदवार निर्मल चौधरीले तीन हजार ७७२ मत पाए ।

२५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरमा कांग्रेसले ११, एमालेले सात, लोसपाले दुई, जसपा, माओवादी केन्द्र र तमलोपाले एक–एक र स्वतन्त्रले दुईवटा वडा जितेका छन् । कांग्रेसले वडा १, २, ४, ६, ७, ९, ११, १३, १६, २१ र २५ वडामा जितेको छ । एमालेले वडा नम्बर ५, ८, १२, १९, २० र २४ मा जितेको छ । लोसपा वडा नम्बर १५ र २२, जसपा वडा नम्बर १४, माओवादी वडा नम्बर १७, तमलोपा वडा नम्बर ३ र स्वतन्त्र उम्मेदवार वडा नम्बर १० र २३ मा विजयी भएका छन् ।

सत्ताको विपक्षमा मतदान 

०४९ देखि ०७९ सम्म जनकपुरमा कांग्रेसका तीनजना बागी उम्मेदवार विजयी भएका छन् । ०४९ मा वृशेषचन्द्र लाललाई कांग्रेसले जनकपुरको मेयरमा टिकट नदिँदा उनले विद्रोह गरे । मेयरमा उम्मेदवारी दिएका उनले कांग्रेसकै उम्मेदवार दिगम्बर रायलाई पराजित गरे । ०५४ मा कांग्रेसका बजरंग साहलाई पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवारी दिए । उनले कांग्रेसकै उम्मेदवार दामोदरप्रसाद उपाध्यायलाई भारी मतान्तरले पराजित गरे । ०७९ को स्थानीय निर्वाचनमा पनि कांग्रेससहितका गठबन्धन दलका उम्मेदवार लालकिशोर साहलाई हराएर कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह मेयरमा निर्वाचित भएका छन् ।

तीनवटा स्थानीय निर्वाचनमा जनकपुरवासीले विद्रोही उम्मेदवारलाई रुचाउने गरेको देखिन्छ । कांग्रेस नेतृत्वले जनकपुरका विषयमा लिएको निर्णयविरुद्ध स्थानीय नेता कार्यकर्तामा असन्तुष्टि देखिँदै आएको छ । मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई जिताउन कांग्रेसजनको ठूलो भूमिका छ । 

कांग्रेसले गठबन्धन गरी जनकपुरधाम प्रमुखमा जसपालाई छाडेपछि साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजनीमा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । मेयरमा निर्वाचित साह कांग्रेस नेता विमलेन्द्र निधिनिकट हुन् । पछिल्लो समय कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र निधिबीच मतभिन्नता देखिएको छ । निधिले गठबन्धन दल कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दिएका किशोरी साहको प्रचार प्रसार गरे पनि जसपाबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहको प्रचारमा सहभागी भएनन् । जनकपुरधामको मेयरको टिकट जसपालाई दिने निर्णयपछि उनले देउवाको सार्वजनिक रूपमै आलोचना गरेका थिए । 

०४९ मा कांग्रेसबाटै विद्रोह गरेर जनकपुरधामको मेयरमा निर्वाचित भएका बजरंग साह भन्छन्, ‘पार्टीले टिकट वितरण सही ढंगले गर्न नसक्दा बागी उम्मेदवारले जित्ने गरेका छन् । विद्रोही उम्मेदवारलाई रुचाउनुभन्दा पनि सही, योग्य र सक्षम व्यक्तिलाई नगरवासीले चुन्ने गरेका छन् ।’ 

जनकपुरको जनभावना नबुझेर यहाँको टिकटको निर्णय पार्टीको केन्द्रीय कार्यालयबाट लिने गरेको उनको भनाइ छ । ‘जनकपुरधामका लागि कुन उम्मेदवार फिट हुन्छ, कसलाई दिँदा चुनावमा सफलता मिल्छ, यो यहाँका व्यक्तिलाई मात्र थाहा हुन्छ । तर, पार्टीले त्यो विषयमा ध्यान नदिँदा पटक–पटक आफ्नै दलका उम्मेदवारविरुद्ध चुनावी मैदानमा खडा हुनु बाध्यात्मक अवस्था आइरहेको छ,’ साहले भने ।

जनकपुरका पूर्वउपमेयर तथा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता असगर अली जनकपुरवासीले सधैँ सत्ताको विरोधमा मतदान गर्दै आएको बताउँछन् । जनकपुरमा पहिलो मेयर श्यामसुन्दर शर्मादेखि वर्तमानसम्म जनकपुरवासीले सत्ताको विरुद्ध नै मतदान गर्ने गरेको इतिहास छ । अहिलेसम्म जनकपुरमा कांग्रेस, एमाले वा कुनै राष्ट्रिय पार्टीका उम्मेदवारले चुनाव जितेका छैनन् । ‘कांग्रेसबाट विद्रोह गरेर चुनाव जितेका छन् । तर, कांग्रेस र एमालेका कुनै उम्मेदवारले आजसम्म चुनाव जितेका छैनन् । अहिले मनोजले कांग्रेसबाट उम्मेदवारी दिएका होइनन्, उनी स्वतन्त्र भएर उम्मेदवारी दिएकाले जनताले उनलाई चुनेका हुन् । उनले कांग्रेसबाटै उम्मेदवारी दिएको भए अवस्था फरक हुन सक्थ्यो,’ अली भन्छन् । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी सत्ताको विरुद्धमा हँुदा लालकिशोर साहले चुनाव जितेका थिए । तर, अहिले उनको पार्टी जसपा सत्तामा रहेकाले विपक्षमा मत आएको अलीको भनाइ छ । 

सत्ताको विपरीत जनकपुरको जनभावना रहनुको मुख्य कारण राज्यको जनकपुरप्रतिको विभेद रहेको उनको आरोप छ । ‘राणा शासन, पञ्चायतकाल, बहुदल तथा गणतन्त्र किन नहोस्, सबै शासन व्यवस्थामा जनकपुरसँग राज्यले विभेद गर्दै आएको छ,’ उनले भने, ‘जनकपुरधामभन्दा पछि निर्माण गरिएका सहरको विकास र जनकपुरको विकास निकै फरक छ । त्यसकारण यहाँका जनता राज्यले आफूलाई विभेद गरेकाले विद्रोही उम्मेदवारलाई रुचाउने गर्छन् ।’

राजनीतिक विश्लेषक रोशन जनकपुरी दलहरूको वितृष्णाका कारण जनकपुरधाममा मात्र नभई अन्य ठाउँमा पनि स्वतन्त्र उम्मेदवार पर्नेक्रम बढेको बताउँछन् । तर, अन्य ठाउँभन्दा जनकपुरधामको अवस्था अलि फरक भएको उनको भनाइ छ । ‘जनकपुरधाममा कांग्रेसविरुद्ध कांग्रेसले नै विद्रोह गरेर बाजी मार्नुले टिकट वितरणमा गडबडी हुनु, निवर्तमान मेयरप्रति वितृष्णा हुनु र विगतमा पराजित भएकाले मनोजले जनताको सहानुभूति पाएका हुन्,’ उनले भने । इतिहास हेर्दा जनकपुरवासीले विद्रोही उम्मेदवारलाई रुचाएको देखिने गरेको उनले बताए । ‘तर, विद्रोही पनि फेरि पुरानै घरमा फर्किने गरेकाले त्यो टिकाउ भने देखिँदैन,’ जनकपुरीले भने ।