१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोरेका भाइ पनि विमानस्थलबाट सुन तस्करीमा सक्रिय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:४५:oo

संगठित अपराधमा अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन 

सुन तस्करी मुद्दामा जेलमा रहेका गोरे भनिने चूडामणि उप्रेतीकै समूह अहिले पनि तस्करीमा सक्रिय रहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुरानै समूहले संगठित रूपमा सुन तस्करी गर्दै आएको निष्कर्ष विमानस्थल भन्सार कार्यालयले निकालेको छ ।

गत १५ वैशाखमा दुई किलो तीन सय ३२ ग्राम सुनसहित पक्राउ परेकामाथि अनुसन्धान गर्दा गोरेकै समूहको सक्रियता देखिएको हो । गोरेका भाइ रमेश उप्रेती हाल गिरोहका नाइके रहेको भन्सार कार्यालयले जनाएको छ । उनी पनि ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याका प्रतिवादी हुन् । 

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि उनलाई दुबईबाट नेपाल प्रहरीले पक्राउ गरी ल्याएको थियो । पछिल्लो समय पनि उनले विमानस्थलका कर्मचारीलाई नै प्रयोग गरी तस्करीको कामलाई निरन्तरता दिएको भन्सारको दाबी छ । 

सो घटनामा पक्राउ परेका पाँचजनाविरुद्ध भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । एक करोड ९७ लाख बिगो कायम गरी भन्सार चोरी पैठारी मुद्दा दायर गरेको हो । फरार रहेका गिरोहका नाइकेविरुद्ध भने संगठित अपराध ऐनअनुसार थप अनुसन्धान गर्न प्रहरीमा पठाइने विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

भन्सारले फरार रहेका उप्रेतीसहित सातजनालाई पनि मुद्दा दायर गर्न रायसहितको प्रतिवेदन दिएकोमा सरकारी वकिल कार्यालयले उनीहरूको हकमा संगठित अपराध ऐनअनुसार थप अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको हो । ‘सो समूहले विगतमा नौ केजी सुन तस्करी गरेको देखियो,’ जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले भने, ‘घटनाको प्रकृति हेर्दा संगठित अपराध आकर्षित हुने भएकाले त्यहीअनुसार छुट्टै अनुसन्धान गर्न निर्देशन दिएका छौँ ।’ 

कुनै पनि अपराध तीन वा तीनभन्दा धेरै मिलेर योजनाबद्ध रूपमा गरेको अवस्थामा संगठित अपराध ऐनसमेत आकर्षित हुन्छ । यस्तो मुद्दामा थप ५० प्रतिशत सजाय हुन्छ भने अनुसन्धान गर्ने निकायले ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछन् । 

पक्राउ परेका अभियुक्तले विगतमा पनि विमानस्थलका कर्मचारीलाई प्रयोग गरी नौ केजी सुन तस्करी गरेको बयानमा बताएका छन् । त्यसकारण बरामद भएको र विगतमा तस्करी गरेको घटनालाई छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा दायर गर्न लागिएको हो । 

दुबईबाट आएको हिमालय एयरको शौचालयमा रहेको डस्टबिनमा लुकाई सो समूहले सफाइ कर्मचारीमार्फत सुन विमानस्थलबाट तस्करी गराउँदै आएको थियो । विमानमा सफाइको जिम्मा पाएको सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिका कर्मचारी प्रयोग गरी यस्तो तस्करी भएको थियो । विमान सफा गरेर निस्कँदै गर्दा चेकजाँच गर्ने क्रममा प्रहरीले सुरुमा भीमकुमार माबो र सुमन तामाङलाई पक्राउ गर्दा पर्समा सुन भेटिएको थियो । उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा पक्राउ गरी मुद्दा दायर गरिएको छ ।

तस्करी सुन लिन विमानस्थल गएका राजेश राई तथा ट्याक्सीचालक हेमबहादुर थापालाई भन्सार कार्यालयले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ परेका राईले नै आफूले रमेश उप्रेतीकै निर्देशनमा सो काम गरेको बताएका छन् ।

गिरोहका केही व्यक्तिको पहिचान प्राविधिक अनुसन्धानबाट गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए । फरार रहेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्रहरीमा पठाइने उनको भनाइ छ । फरार रहेका कतिपय व्यक्ति दुबईमा रहेको खुलेको छ । जसमध्ये कतिपय विगतमा पनि सुन तस्करीमा जोडिएका व्यक्ति हुन् । 

चार वर्षअघि गठन भएको एक समितिले विमानस्थलबाट करिब ३८ सय केजी सुन गोरे समूहले तस्करी गरेको निष्कर्ष निकाली मुद्दा दायर गरेको थियो । तर, तस्करीको सुन बरामद नभएको भन्दै त्यसमा जिल्ला अदालत मोरङले सनम शाक्य हत्यामा संलग्नलाई दोषी ठहर गरी अन्यलाई सफाइ दिएको थियो । गोरे भने हाल पनि कारागारमै छन् ।