धनकुटाको साँगुरीगढी गाउँपालिका–६, कार्कीछापस्थित कोसी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको को ३४ प ११८५ नम्बरको मोटरसाइकलमा सवार तेह्रथुमस्थित छथर गाउँपालिका–५ की २२ वर्षीया कौशिला चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले बताए ।
कौशिलाका श्रीमान् ३४ वर्षीय रामकुमार लिम्बूले मोटरसाइकल चलाएका थिए । चौबिसे गाउँपालिका–७, मौनाबुधुकबाट ससुराली गएर घर फर्कर्दै गरेका लिम्बू दम्पत्ती कार्कीछापमा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा मोटरसाइकलचालक रामकुमारको हातमा सामान्य चोट लागेको छ । कौशिलाको टाउकोमा गम्भीर चोट लागेको थियो । कौशिलाको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले बताएको छ ।
मुसलधारे वर्षाका कारण ओरालोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।