मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंकीपक्सको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन मन्त्रालयको आग्रह (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार १६:३५:००

मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आमनागरिकलाई आग्रह गरेको छ। अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहेर सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वारेन्टिनमा बस्ने कुरालाई विशेष ध्यान दिनुपर्ने बताए। उनले विदेशबाट आउने व्यक्तिले कम्तीमा दुई हप्ता अनिवार्य क्वारेन्टिनमा बस्ने, सकेसम्म कुनै पनि बाहिरी सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए।

के हो मंकीपक्स ?
मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घनाजंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसमा हुन सक्ने भाइरस हो। प्रायः मुसा प्रजातिका जनावरमा यसको भाइरस रहन्छ। ती जनावरको शरीरबाट निस्किएका थुकका छिटाहरू, र्‍याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउनेजस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरको मासु प्रयोग गर्ने मानिसमा यो संक्रमण हुन सक्छ।

यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको हालसम्मको अध्ययनले देखाएको छ। यो समाचार तयार पार्दासम्म विश्वका सात देशमा ३० जनाभन्दा धेरै मानिसमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भई सरेको हुन सक्ने अनुमान छ। यसका अधिकांश लक्षण स्मलपक्स भाइरससँग मिलेको विज्ञहरूको अध्ययनले देखाएको छ।

व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह
सहप्रवक्ता अधिकारीका अनुसार मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखापर्छ। यो संक्रमण अधिकांश बालबालिकामा देखापर्ने भएकाले बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्न उनले आग्रह गरेका छन्।

मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले बताए। मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जान सक्ने भएकाले डराउन आवश्यक नरहेको, तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने उनले बताए। मंकीपक्स भएको तीनदेखि चार हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना रहन्छ। मंकीपक्सको भ्याक्सिन उत्पादन भएर प्रयोगमा समेत आइसकेको छ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले सीमानाकाहरूमा निगरानी बढाएको जानकारी दिए। विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए।

सहप्रवक्ता अधिकारीले भने, ‘विदेशबाट आउनेले कम्तीमा दुई हप्ता क्वारेन्टिनमा बसिदिनुहोला। व्यक्तिगत सरसफाइको कुराहरू बढी महत्वपूर्ण छ। कुनै पनि चिजहरू सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ। यस्तो गर्दा हामीमा यदि भाइरस आएको छ भने पनि निष्क्रिय भएर जान्छ।’