मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ७ शनिबार १४:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा माओवादीको सानदार जित, कांग्रेस दोस्रो हुँदा एमाले तेस्रो

Read Time : > 1 मिनेट
२०७९ जेठ ७ शनिबार १४:४६:००

गोरखामा नेकपा (माओवादी केन्द्र)ले सानदार जित निकालेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जिल्लामा आफ्नो प्रभाव विस्तार गरेको हो। शुक्रबार चुमनुब्री गाउँपालिका केन्द्रको मत परिणाम सार्वजनिक भएसँगै माओवादी केन्द्रले विजयी भएको पालिकाको संख्या बढाएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गोरखामा नेपाली कांग्रेस नौ पालिकामा विजयी हुँदा माओवादी केन्द्र दुई वटा पालिकामा सीमित भएको थियो। तर, पाँच वर्षपछि माओवादीले सो नतिजालाई उल्ट्याइदिएको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नौ पालिका जित्दा कांग्रेस दुई पालिकामा सीमित हुन पुग्यो।

देशभरका स्थानीय तहमा अग्रता कायम गरिरहँदा गोरखामा भने काँग्रेस पछि परेको छ। काँग्रेसका केन्द्रिय स्तरका नेताहरु दुई हप्तासम्म आफ्नो पालिका र वडामा चुनावी प्रचारप्रसारमा धाउँदा पनि पार्टीको प्रभाव कायम राख्न सकेनन्। जिल्लाको सिरानचोक र आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद काँग्रेसले जितेको छ। सिरानचोक गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रिता देवकोटा विजयी हुँदा आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी भए।

गोरखा नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि टिकट वितरणमा भएको किचलो, पार्टीभित्रको आन्तरिक कलह र बढी आत्मविश्वासका कारण कांग्रेसले हार बेहोर्नु परेको पार्टीका कार्यकर्ता एवं जिल्ला स्तरका नेताहरुको निष्कर्ष छ। केही पालिकामा गठबन्धनको प्रभावका कारण पार्टी पराजित भएको उनीहरुको भनाइ छ।

कांग्रेसको तुलनामा माओवादीले विगतमा भन्दा धेरै सुधार गर्दै सानदार जित निकालेको छ। गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, अजिरकोट, धार्चे, भीमसेन, बारपाक सुलिकोट, शहीदलखन र गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ। गोरखाको मेयरमा माओवादीका कृष्णबहादुर राना, उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी भए। पालुङटारको मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे विजयी बने। उनीहरु दुवै माओवादी केन्द्रबाट विजयी भएका हुन्। चुमनुब्रीमा माओवादी केन्द्रबाट अध्यक्षमा निमा लामा, उपाध्यक्षमा लक्ष्मी गुरुङ तथा अजिरकोटको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी बने।

गण्डकी र भीमसेन गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजय बने। गण्डकीको अध्यक्षमा माओवादीका दिपक तिमिल्सिना, उपाध्यक्षमा काँग्रेसकी ललिता अधिकारी तथा भीमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बन्जारा र उपाध्यक्षमा काँग्रेसकी अमृता वस्ती निर्वाचित भइन्।

माओवादी केन्द्रकै तर्पmबाट धार्चे गाउँपालिका अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिता गुरुङ निर्वाचित भइन्। बारपाक सुलिकोट र शहीदलखन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भए। बारपाक सुलिकोटको अध्यक्षमा विष्णु भट्ट, उपाध्यक्षमा सनमाया गुरुङ तथा शहीदलखनको अध्यक्षमा रमेशबाबु थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी बने। दुवै पालिकाका अध्यक्ष र उपाध्यक्ष दोस्रो  कार्यकालका लागि निर्वाचित भएका हुन्।

राष्ट्रिय राजनीतिमा दोस्रो शक्तिका रुपमा स्थापित नेकपा (एमाले) गोरखामा भने कमजोर देखिएको छ। ९४ वटा वडा रहेको गोरखामा १० वडा मात्र एमालेले जितेको छ। पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले सबैतिर पराजित भएको छ। योसँगै एमाले गोरखामा तेस्रो शक्ति बनेको छ भने जसपा चाथौ शक्ति बनेको छ।