
निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटबाट बाहिरिएकोे छ । शनिबार उज्वेकिस्तानमा निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । समूह ‘एफ’मा समान तीन खेलबाट समान सात अंक भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसपछि भएको पेनाल्टीमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर चुकेका थिए ।
सावित्राको प्रहार बारमा लागेर फर्किएको थियो । अञ्जनाको प्रहार उज्वेकिस्तानकी गोलकिपर माफ्नुताले रोकिन् । नेपालका लागि गीता राना र सविता रानामगरले मात्रै गोल गर्न सके । उज्वेकिस्तानका चारै पेनाल्टी सफल भएको थियो । पहिलोपटक नेपाली राष्ट्रिय टिम हेरेका प्रशिक्षक प्याट्रिक डी वाइल्ड आफ्नो टोलीलाई एसिया कपमा छनोट गराउन असफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियम प्रशिक्षक प्याट्रिकलाई यही प्रतियोगितालाई आधार बनाएर नियुक्त गरेको थियो ।
यो जितपछि उज्वेकिस्तानले सन् २०२६ को एसियन कपमा स्थान बनाएको छ । यस्तै, सन् २०२७ ब्राजिलमा हुने फिफा विश्वकपको सम्भावना कायमै राखेको छ । उज्वेकिस्तानको महिला फुटबलका लागि यो ठुलो उपलब्धिसमेत हो । टोली पहिलोपटक एसियन कपमा छनोट भएको छ । उज्वेकिस्तानको जितमा डियोराखोन खाबिबुलाएभ, ल्युडमिला कराचिक र माफतुना सोयिमोभाले गोल गरेका थिए । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरेकी थिइन् ।
दोस्रो मिनेटमै उज्वेकिस्तानको अग्रता
उज्वेकिस्तानले दोस्रो मिनेटमै अग्रता बनाएपछि नेपाल दबाबमा परेको थियो । बक्सभित्र अनमार्क रहेकी खाबिबुलाएभले सानदार गोल गरिन् । फेरुजा टुर्डिबोएभाको प्रहारलाई डिफेन्डर गीता रानाले हेडरमार्फत ब्लक गरेकी थिइन् । तर, प्राप्त बललाई खाबिबुलाएभले भली गोल गरेकी हुन् । उनको प्रहार गोलकपिर अञ्जना रानामगरले पत्तै पाइनन् । सम्हालिन नपाउँदै नेपालले १२औँ मिनेटमा दोस्रो गोल व्यहोरेको हो । उज्वेकिस्तानकी कप्तान कराचिकले गोल गरिन् । उनले चलाखीपूर्ण ढंगले बढाउँदै आएको बललाई बक्सभित्रबाट गोल गरेकी हुन् । कराचिकको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोल भएको थियो ।
दबाबमा रहेको नेपाललाई कप्तान सावित्राले एक गोल फर्काइन् । २४औँ मिनेटमा रश्मिकुमारी घिसिङले मिलाएको हेडरलाई नियन्त्रणमा लिँदै सावित्राले गोल गरेकी हुन् । सावित्राले करिब २५ यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार उज्वेकिस्तानकी गोलकिपर माफुतुना जोनिमकुलोभालाई लाग्दै गोल भएको थियो ।
खेलको ३७औँ मिनेटमा मातफुनाले तेस्रो गोल गरिन् । नेपालकी सरस्वती हमालले बक्सभित्र बललाई हातले छोएपछि उज्वेकिस्तानले पेनाल्टी अवसर पाएको थियो । जहाँ मातफुनाले घरेलु टोलीलाई ३–१ को अग्रता दिलाएकी हुन् ।
दुई मिनेटमा दुई गोल गरेपछि नेपाल खेलमा दबाब बनाउन सफल भएको थियो । खेलको ७१औँ मिनेटमा नेपालले अग्रता ३–२ मा झार्यो । खेलको ७३औँ मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै खेल ३–३ को अवस्थामा पुर्याएकी थिइन् ।
रातो कार्ड
पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा सीमित भयो । सावित्रालाई लगातार फाउल गरेपछि उज्वेकिस्तानकी मिडफिल्डर नोजिमाखोन इर्गासेबाले दोस्रो पहेँलो कार्ड देखाइएको थियो । रातो कार्डपछि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी गरेका थिए । सावित्राले दुई मिनेटको अन्तरमा दुई गोल गरेकी थिइन् ।
बंगलादेशसँगै भारत पनि छनोट
दक्षिण एसियाली मुलुकबाट बंगलादेशपछि भारत एएफसी एसिया कपमा छनोट भएको छ । घरेलु टोली थाइल्यान्डविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै भारत अस्ट्रेलियाको टिकट काट्न सफल भयो । जितसँगै चार खेलमा १२ अंक जोेडेको भारत समूह ‘बी’को शीर्ष स्थानमा रह्यो । भारत छनोट हुँदा बलियो थाइल्यान्ड भने बाहिरिएको छ । भारतले पछिल्लोपटक सन् २००३ को एसियन कप खेलेको थियो । टोलीले हालसम्म नौपटक एसियन कप खेलिसकेको छ । यसअघि भारतले मंगोलियालाई १३–०, टिमोर लिस्टेलाई ४–० र इराकलाई ५–० ले पराजित गरेको थियो ।
समूह चरणको अन्तिम खेलमा भारतलाई जित दिलाउन दुवै गोल संगीता बाँसफोरेले गरिन् । थाइल्यान्डका लागि चटचावान रोडथोङले गोल फर्काइन् । खेलको २९औँ मिनेटमा संगीताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ४७औँ मिनेटमा चटचावानले थाइल्यान्डलाई बराबरीमा ल्याइन् । संगीलाले ७४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाइन् ।