मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ७ शनिबार ०७:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अश्वेत आरोहीको टोलीलाई पर्यटन बोर्डको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ७ शनिबार ०७:३५:००

अल्पसंख्यक अश्वेत आरोहीहरूको टोलीले सगरमाथाको शिखर चुमेर काठमाडौं फर्किएको छ । अल्पसंख्यक अश्वेत समुदायबाट आफैँ नेतृत्व गरेर सामूहिक रूपमा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान बनाएको ‘अल ब्ल्याक अमेरिकन’ टिमलाई पर्यटन बोर्डले शुक्रबार सम्मान गरेको छ ।

फुल सर्कल एभरेस्ट एक्पिडिसन नाम दिइएको टोलीबाट १० जना सगरमाथा आरोहणका लागि गए तापनि सातजना मात्र चुचुरोमा पुग्न सफल भएका थिए । यो टोलीले गत बिहीबार बिहान सगरमाथाको चुचुरो चुमेको थियो ।

अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डर्सनले नेतृत्व गरेको ‘अल ब्ल्याक अमेरिकन’ टोलीलाई सगरमाथा पु¥याउने जिम्मेवारी सांग्रिला नेपाल ट्रेकले लिएको थियो । आरोही टोलीमा एकजना केन्याका हुन् भने अरू सबै अमेरिकन रहेका छन् । विश्वभरि नै अफ्रिकी–अमरिकी अश्वेत समुदायका नागरिकले भोग्नुपरेको रंगभेदविरुद्ध जनजेतना जगाउन र रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित यो टोलीले सगरमाथा आरोहण गरेको हो । 

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले विभिन्न क्षेत्रबाट सगरमाथा आरोहण भइरहेको सन्दर्भमा फुल सर्कल एक्सपिडिसनका आरोहीले सगरमाथा आरोहण गरेर नयाँ सन्देश दिएको बताइन् । उनले भनिन्, ‘यो नेपालको पर्यटकीय पर्यटनका लागि सुखद पक्ष हो ।’ 

आरोहण टोलीका लिडर फिलिप हेन्डर्सनले आफ्नो टिमले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा गर्व महसुस भएको बताए । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण आफैँमा रोमाञ्चक र जोखिमपूर्ण यात्रा हो,’ उनले भने, ‘हाम्रो टिमले सफलतापूर्वक आरोहण गर्नु मेरा लागि र मेरो टिमका लागि नै खुसीको कुरा हो ।’ टिममा एकजना महिलासहित सातजना अश्वेत आरोही तथा १३ जना नेपाली आरोहीहरू सहभागी रहेको टिम लिडर हेन्डर्सनले बताए ।