मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ६ शुक्रबार १३:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको गृहनगर दमकमा भत्कियो एमालेको किल्ला, तेस्रो प्रयासमा थापा बने मेयर

Read Time : > 2 मिनेट
२०७९ जेठ ६ शुक्रबार १३:०८:००

प्रधानपञ्च, जिविस उपसभापति, सांसद हुँदै पटकपटक मेयरमा हारेका थापाको मेयर बन्ने सपना पूरा

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमाले पराजित भएको छ। प्रजातन्त्र पुनर्स्थापनापछिको एमालेको ‘लाल किल्ला’ कांग्रेस–माओवादी–राप्रपाको गठबन्धनले तोडेकाे हाे।

निकै चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा अन्ततः निकै कडा प्रतिस्पर्धापछि गठबन्धनले जित निकालेको हो। गठबन्धनका तर्फबाट राप्रपाका राम थापा मेयरमा विजयी भएका छन्। उनले १७ हजार पाँच सय २७ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता अधिकारीले १६ हजार नाै सय ६६ मत पाइन्। उनी यसअघि दमक नगरपालिकाकी उपप्रमुख थिइन्।

उपप्रमुखमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतका साथ विजयी भएकी छिन्। उनले एमालेका अम्बिका खनाललाई पराजित गरेकी हुन्। खनालले १६ हजार ६ सय ७४ मत पाएका छन्।

फजुल खर्च हटाउनु पहिलो प्राथमिकता : निर्वाचित थापा

निर्वाचित थापा चुनावबारे सोध्दा भन्थे, ‘जीवनभर हारेको व्यक्ति हुँ, के सोध्नुहुन्छ !’ तर, हारले कहिल्यै थाकेनन् थापा। प्रधानपञ्च, जिल्ला विकास समिति उपसभापति, सांसददेखि नगरप्रमुखसम्म पटकपटक हारेका थापाले यसपटक भने जीवनमै नयाँ इतिहास बनाएका छन्। उनी दमक नगरपालिकाको मेयरमा दुईपटक हारे। तत्कालीन जिल्ला विकास समितिको उपसभापतिमा पराजित भए। पञ्चायतकालमा समेत दमकको प्रधानपञ्चमा हारेका थापा तेस्रो प्रयासमा दमक नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

प्रजातन्त्र पुनर्स्थापनापछि भएका निर्वाचनमा एमालेले जित निकाल्दै आएको थियो। तर, एमालेको लामो विरासतको किल्ला भत्काउँदै थापा मेयर भए। दमक नगरपालिकाकोमेयर बन्ने सपना २५ वर्षपछि थापाले पूरा गरेका छन्।

थापा ०४३ मा दमकको प्रधानपञ्चमा तीन सय ३७ मतले पराजित भएका थिए। ०५४ मा निवर्तमान नगरप्रमुख एमालेका रोमनाथ आलीसँग ६ सय ३७ मतले पराजित भएका उनी ०५६ जिविस उपसभापतिमा एक मतको अन्तरले पराजित भए। ०७० को संविधानसभा निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यमा केपी शर्मा ओलीसँग निर्वाचन लडेका उनी पुनः पराजित भए।  ०७४ मा भएको स्थानीय सरकारको पहिलो निर्वाचनमा उनी एमालेका रोमनाथ ओलीसँग तीन हजार एक सय ५१ मतले पराजित भएका थिए।

पटक–पटक हार व्यहोरेर पनि नथाकेका थापा यसपटक भने मेयरमा विजयी भए। कांग्रेस, माओवादी र राप्रपाको गठबन्धनका उम्मेदवार थापा यसपटक आफ्नो र गठबन्धनको बलले जित निस्केको बताउँछन्। एमाले अध्यक्ष ओलीको गृहनगरमा एमालेविरुद्ध शक्तिशाली उम्मेदवार थापासहितको गठबन्धन हुँदै गर्दा सूर्य चिह्नबाट चुनाव लड्न पनि प्रस्ताव आएको उनी बताउँछन्। उनलाई सांसद, मन्त्रीको पनि ‘अफर’ आएको थियो रे । तर, सांसद र मन्त्री भएर गर्ने सेवा र मेयर भएर गर्ने सेवा फरक भएकाले मेयरमै बल गरेको उनी बताउँछन्। 

‘सांसद हुँला, मन्त्री हुँला, तर तल्लो वर्गका मान्छेको काम गर्न सकिँदैन। मलाई अघिल्लोपटक पनि आएको मत आधी पार्टीको हो भने आधि मेरो सहानुभूतिको मत हो। मान्छेले पार्टी, जाति हेरेनन्। खाली खुट्टा हिँडेर सहयोग गरेका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘म यहाँ बसेँ भने त केही भएन भने पनि बिहान, बेलुका सुख, दुःखमा उपस्थित हुन सक्छु। साह्रो, गाह्रोमा उपस्थित भएर सकेको सहयोग गर्न सक्छु। केही साना योजना माग्यो भने एक हप्तामा दिन सक्छु। माथि त मन्त्री होइएला, नहोइएला अनि सामान्य सांसद भएर भत्ता खाएर र सामान्य उद्घाटनमा गएर केही गर्न सकिँदैन।’

नगरपालिका प्रवेशपछि उनले केही योजना बनाएका छन्। उनको पहिलो योजना फजुल खर्च हटाउनु हो। ‘नगरमा अत्यधिक फजुल खर्च छ। हेर्दा नदेखिने अनावश्यक खर्चले समस्या सिर्जना गरेको छ,’ थापा भन्छन्, ‘चिया, खाजा, पेट्रोल, डिजेलमा हुने अनावश्यक खर्च घटाउनेछु।’ नगरपालिकाको नेतृत्वमा पुगेका थापा स्थानीय तहको जिम्मेवारीमा रहेको शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्ने बताउँछन्।

यस्तै, नगरभित्र भएका भ्रष्टाचारको अन्त्य गर्ने थापा बताउँछन्। ‘नगरपालिकाभित्र कर्मचारी नै ठेकेदार छन्। कुन कर्मचारी के काम गर्छ कसैलाई थाहा छैन। इमानदारपूर्वक भन्ने हो भने योचाहिँ करिबकरिब एमालेको अखडाजस्तो भएको छ,’ थापा भन्छन्, ‘यहाँ आवश्यकताभन्दा बढी कर्मचारी छन्। कसको काम के हो थाहा छैन। एकले अर्कालाई चिन्दैनन्। पार्टी चलाउने हिसाबले चलेको छ। त्यो म हुन दिन्नँ।’

गठबन्धनको तर्फबाट नगरपालिकाको उपमेयरमा विजयी भएकी रेगिना भट्टराईले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छिन्। उनी दोस्रो प्रयासमा नगरपालिकाको सत्तामा पुगेकी हुन्। ०७४ मा  उनी एमालेकी गीता अधिकारीसँग उनी पराजित भएकी थिइन्।

वडामा एमालेको वर्चश्व
प्रमुख र उपप्रमुखमा हार व्यहोरेको एमालेले वडामा भने वर्चश्व कायम राखेको छ। दमकमा रहेका १० वटा वडामध्ये सातवटा वडा एमालेले जितेको छ। वडा नम्बर १, २, ३, ५, ६, ८, र ९ मा एमालेले जित निकालेको छ। वडा नम्बर ४ र १० मा कांग्रेस र ७ मा राप्रपाले जित हासिल गरेको छ।

माओवादीलाई ‘धोका’
दमकमा कांग्रेस, माओवादी र राप्रपाले गठबन्धन गरेका थिए। राप्रपाले नगरप्रमुखसहित दुईवटा वडा लिएको थियो। कांग्रेसको भागमा उपप्रमुखसहित चारवटा वडा परेको थियो भने माओवादीको भागमा चारवटा वडा परेको थियो।

राप्रपाले प्रमुख र एउटा वडा जित्दा कांग्रेसले उपप्रमुख र दुईवटा वडा जित्यो भने माओवादी शून्य भयो। उसले गठबन्धनमा धोका भएको जनाएको छ। यसबारे गम्भीर समीक्षा गर्नुपर्ने माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतम बताउँछन्। ‘परिणामको हिसाबले झापामा गठबन्धन निरर्थक रह्यो। गठबन्धनका दलभित्रै भीषण घेराबन्दीमा पर्‍याे माओवादी,’ उनले भने, ‘माओवादी मात्र हार्ने, आगामी दिनमा गम्भीर समीक्षाको विषय अवश्य हुनेछ।’