१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मिसेल एल नोरिस
२o८१ जेठ ५ शनिबार o७:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

श्वेत सर्वोच्चतावादविरुद्ध कसले बोल्ने ?

Read Time : > 2 मिनेट
मिसेल एल नोरिस
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:३६:oo

श्वेत समुदायका मानिसलाई अश्वेत एवं गैरश्वेत समुदायका मानिसको ऐतिहासिक कालदेखि आप्रवासनले प्रतिस्थापन गरिरहेको छ भन्ने षड्यन्त्रको सिद्धान्त ‘महान् प्रतिस्थापन सिद्धान्त’को परिकल्पना (जिआरटी) ले शनिबारका दिन बफेलो सुपरमार्केटमा १८ वर्षीय संदिग्ध बन्दुकधारीलाई आतंककारी गतिविधि गर्न उत्तेजित गरेको थियो । उसो त यस्ता प्रकृतिका आतंककारी घटनालाई छिटपुट अपराध भनेर खारेज गरिन्छ । धेरै मानिसले जिआरटीको प्राथमिक विचारधारालाई आफ्नो राजनीति, जीवन र भविष्यको व्याख्या गर्ने सत्यका रूपमा स्वीकार गर्छन् । श्वेत समुदायकै मानिसले यदि प्रतिरोध गर्ने प्रयास गर्दैनन् भने जिआरटीको भाष्यमा परिवर्तन हुने सम्भावना छैन । श्वेत अमेरिकीले यो प्रयास गर्नैपर्छ किनभने अल्पसंख्यक आफैँले मात्रै आफ्नो अस्तित्वलाई नै प्रभाव पार्ने शोषणकारी भयलाई निमिट्यान्न गर्न सक्दैनन् ।

हालैको एक सर्वेक्षणअनुसार एकतिहाइ अमेरिकी युवा अमेरिकामा जन्मेका बासिन्दालाई राजनीतिक फाइदाका लागि आप्रवासीले प्रतिस्थापन गरिरहेका छन् भन्ने उद्देश्यपूर्ण अभियान चलिरहेको विश्वास गर्छन् । सोही सर्वेक्षणअनुसार आधाभन्दा बढी रिपब्लिकनले श्वेत समुदायको सांस्कृतिक र राजनीतिक शक्ति घटाउन आप्रवासी मतदाताको संख्या नियतवश बढाउने प्रयास भइरहेको छ भन्नेमा विश्वास गर्छन् ।

यी तथ्यांक अस्वाभाविक छैनन् । यदि तपाईंले यस मुलुकमा अल्पसंख्यकमाथि कसरी व्यवहार गरिन्छ भनेर विचार गर्नुभएको छ भने तपाईं अस्वाभाविक मान्नुहुन्न । तथ्यांकले देखाएको कठोर वास्तविकताले जिआरटीको औचित्य पुष्टि गर्दैन । जिआरटी नश्लभेदी र तर्कहीन विचारबाट निःसृत प्राकृतिक श्रेष्ठता र निर्विवाद श्वेत विशेषाधिकार हो । जिआरटीले विशाल समर्थन पाइरहेको छ किनभने नेता र दक्षिणपन्थी प्रचारकले अमेरिकामा श्वेत समुदायका मानिसले आफ्नो सहज बहुमतको स्थिति गुमाउँदै छन् भन्ने विचारलाई बढावा दिन रातविरात लागि परेका छन् ।

 जिआरटीको जरा श्वेत सर्वोच्चतावादी विचारधारामा गढेको छ । जिआरटी सबैलाई समान रूपमा व्यवहार गरियो भने आफ्नो खाइपिई आएका अधिकार र अवसर गुम्ने डरबाट उत्पन्न भएको हो । यसले मौलिक रूपमा अमेरिकी मानिने इतिहासदेखि सौन्दर्यसम्मका विषयको श्वेतपना अब गुम्यो भन्ने भाष्यलाई मलजल गर्छ । श्वेतपनालाई अमेरिकामा स्वाभाविक प्रमुख संस्कृति हो भन्ने गरी बनेको सामाजिक निर्माण विद्यमान छ र श्वेत समुदायको बहुमतको अवस्थाले यो सामाजिक निर्माण बलियो भएको छ । यो सामाजिक निर्माणको विनिर्माणका क्रममा कैयौँ मानिसमाझ अब के हुने हो भन्ने चिन्ता विद्यमान छ । अमेरिकाको जनसंख्या विविधीकरण हुँदै छ किनभने श्वेत समुदायको जनसंख्या वृद्धि हुँदै छ र यो समुदायमा जन्मदर घट्दो क्रममा छ । जनगणनाअनुसारका गैरहिस्प्यानिक श्वेत समुदायका १५ वर्षमुनिका सबै बालबालिकाको आँकडा कुल अमेरिकी बालबालिकाको जनसंख्याको आधाभन्दा कम छ । प्यू रिसर्च सेन्टरका अनुसार सन् २०१८ मा अमेरिकामा श्वेत समुदायका मानिसको औसत उमेर ५८ वर्षको छ र अल्पसंख्यकका लागि यही आँकडा २७ वर्षको छ ।

कतिपय अमेरिकी नियमित आधारमा यी विषयमा क्रोधित र कट्टरपन्थी भइरहेका देख्न सकिन्छ । यसको क्रूर उदाहरण गत शनिबार बफेलोमा भएको घटनाले देखाएको छ, जहाँ एक बन्दुकधारीले ग्रोसरी स्टोरमा निहत्था अश्वेत उपभोक्तालाई आक्रमण गर्न तीन घण्टा लामो यात्रा गरेका थिए । यो प्रवृत्ति चार्लोट्सभिलेमा पनि देखिएको थियो, जहाँ श्वेत राष्ट्रवादीले नश्ल आधारित अल्पसंख्यक र यहुदीविरुद्ध ‘तिमीहरूले हामीलाई विस्थापन गर्नेछैनौ’ भन्दै घृणास्पद नारा लगाएका थिए । 

‘महान् प्रतिस्थापन सिद्धान्त’ सबैलाई समान व्यवहार गरियो भने आफ्नो खाइपिई आएका अधिकार र अवसर गुम्ने डरबाट उत्पन्न भएको हो 

जब अमेरिकामा नश्ल आधारित जनसांख्यकीय परिवर्तन हुन्छ, तब जिआरटीले मलको काम गर्छ, जसले श्वेत आतंकलाई पोस्ने काम गर्छ । यी प्रवृत्ति जारी रहनेछन् र यसलाई कसरी व्याख्या गरिन्छ वा दुरुपयोग गरिन्छ, त्यसले सबै अमेरिकीको सुरक्षामा प्रभाव पार्नेछ । र, श्वेतपन अब अमेरिकाको स्वाभाविक संस्कृति हुनेछैन भन्ने असुरक्षाका मामिलामा अश्वेत र गैरश्वेत मानिसले केही गर्न सक्दैनन् । श्वेत समुदायका मानिसले आफ्नो असुरक्षाको समाधान आफैँ गर्नुपर्छ ।

 लोकतन्त्रबारे चासो राख्ने, निष्पक्षता र समानतामा विश्वास गर्ने र ‘उनीहरू’ भन्दा ‘हामी’ शब्दलाई ग्राह्यता दिने श्वेत समुदायका मानिस सत्यतथ्यसाथ अगाडि आउनुपर्छ । श्वेत समुदायका नेता, व्यापारिक एवं धार्मिक अगुवा, शिक्षकलगायतले जिआरटीमा निहित श्वेत सर्वोच्चतावादी एजेन्डालाई अस्वीकार गर्नुपर्छ ।
जिआरटी एजेन्डाका कारण श्वेत अमेरिकीमाझ अश्वेत र गैरश्वेत मानिसप्रतिको तथाकथित डरले बन्दुकको बिक्री र लोकरिझ्याइँ जन्माइरहेको छ कि भनेर छलफल गर्न आवश्यक छ । केही मानिस ‘श्वेत सर्वोच्चता’ शब्दावली सुन्दा असहज मान्छन्, चिढिन्छन् वा रक्षात्मक महसुस गर्छन् । आखिरमा तपाईंले नामै दिन नचाहेको समस्याको समाधान गर्न सक्नुहुन्न । 

हाम्रो विविधता हाम्रो सबैभन्दा ठूलो सम्पत्तिमध्ये एक हो भन्ने तथ्यलाई जोड दिनुपर्छ र यसमा श्वेत समुदायकै मानिसले पहलकदमी लिनुपर्छ । धेरै परिवार पहिलेदेखि नै विविध छन् भन्ने तथ्यलाई पनि फैलाउन उत्तिकै आवश्यक छ । खेलकुद, चर्च, शिक्षा र कार्यस्थलका अगुवाले पहलकदमी लिनुपर्छ र सबै अमेरिकी सँगै रहन सक्छन् र साझा उद्देश्यका लागि काम गर्न सक्छन् भन्ने देखाउनुपर्छ । जिआरटीसँग आकर्षित भएका सबैले झुटो आशावाद र यसले प्रदान गर्ने सान्त्वनालाई त्याग्न सक्नेछैनन् । जिआरटीको भाष्यलाई सत्यमा आधारित रहेर प्रतिवाद नगर्ने हो भने भाष्य बढिरहनेछ । अब मौन बस्नुको विकल्प छैन र आफूले ननिम्त्याएको समस्या अश्वेत एवं गैरश्वेतले समाधान गर्लान् भन्ने अपेक्षा गर्नु हुँदैन ।
(अमेरिकी पत्रकार नोरिस वासिंगटन पोस्टकी स्तम्भकार हुन्)  द वासिंगटन पोस्टबाट

ad
ad